दाङ । दाङको घोराहीदेखि करिब २७ किलोमिटर पूर्व-दक्षिणमा रहेको हाँसीपुर बंगलाचुली गाउँपालिकाको वडा नं. ८ मा पर्ने विकट र पहाडी बस्ती हो । भौगोलिक विकटताका केही वर्ष अघिसम्म सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी लगायतका विकासका पूर्वाधारबाट टाढा रहेको हाँसीपुरलाई पछिल्लो समय विकासका आधारभूत आवश्यकता सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतले जोडे पनि नियमित सेवा नहुँदा हाँसीपुरवासी अहिले पनि उस्तै दुःखमा छन् ।
हाँसीपुरलाई सडक सञ्जालले जोडेपछि केही सहजता भए पनि नियमित सेवा नहुँदा समस्या भएको स्थानीय कमल विश्वकर्मा बताउनुहुन्छ । बिपी लोकमार्गअन्तर्गत घोराही-रामपुर-सुर्केडाँगी-बुका-सिमतारा-गहतेरा-मुलावारी-हाँसीपुर हुँदै जबरकोट-बिर्खे-चैतेबाट दाङ-प्युठानको सीमा क्षेत्र गनाहाखोला जोड्ने सडकको ट्र्याक खोल्ने काम पूरा भएपछि केही वर्षअघि मात्रै हाँसीपुर सडक सञ्जालमा जोडिएको थियो ।
जसअन्तर्गत घोराहीको चौघेरादेखि सीमलताराम्मको करिब १० किलोमिटर कालोपत्रे भइरहेको छ भने मुलाबारीसम्मको सडक नालासहित ग्राभेलको लागि काम भइरहेको छ । ‘भौगोलिक विकटताका कारण बाटो सहज छैन, एक झरी पानी पर्नेबित्तिकै बाटो बिग्रिने हुँदा गाडी चल्दैनन्’, उहाँले भन्नुभयो ।
गाउँमा हाँसीपुर स्वास्थ चौकी भए पनि जनशक्ति र औषधिको अभावमा अधिकांश मानिसहरू घोराही नै पुग्ने गरेको अर्का स्थानीय गोपाल गाहामगर बताउनुहुन्छ । ‘सामान्य बिरामी हुँदा जाँचसँगै औषधिका लागि स्वास्थ्य चौकी जाने हो, तर कहिले औषधि त कहिले कर्मचारी हुँदैन’, उहाँले भन्नुभयो, ‘जसले गर्दा चोटपटकसँगै केही समस्या भयो उपचारका लागि घोराही जानुपर्ने बाध्यता छ ।’ उहाँका अनुसार गाउँका अहिले पनि खानेपानी, नमस्ते फोनले काम नगर्ने, कृषिका लागि सिँचाइ सुविधा छैन ।
‘खानेपानीको धारा बनेको छ, अब गर्मी मौसम सुरु भएसँगै धारामा पानी आउँदैन । जसले गर्दा खोलामा पानी ल्याउन जानुपर्छ । विद्यार्थीलाई दशभन्दामाथि पढ्ने विद्यालय छैन’, गाहामगरले भन्नुभयो,‘स्थानीय समस्याहरू वडा कार्यालयमा भन्दा ठूला समस्या छन्, वडाबाट हुँदैन नेतालाई भन्नुपर्छ भन्नुहुन्छ । तर, प्रदेश र प्रतिनिधिसभाका नेताहरू चुनाव जितेपछि भेट्नै गाह्रो हुन्छ ।’
पानीकै कारण दुई ठाउँमा बसोवास
हाँसीपुर पहाडी क्षेत्र हो । यहाँ पानीको मुख्य समस्या छ । जसले गर्दा पशुपालन तथा अन्नपात उत्पादन हुँदैन । त्यसैले खानेपानी, अन्नपात उत्पादनसँगै पशुपालनका लागि अधिकांश स्थानीयहरू पहिलेदेखि नै दुई ठाँउमा बस्ने गर्दै आएका छन् । अहिलेपनि अधिकांश घरको दुई पायक रहेको स्थानीय सर्मीला गाहामगर बताउनुहुन्छ । उहाँका अनुसार हाँसीपुरलाई बस्नलाई मुल थलो बनाए पनि पशुपालन, खेती र घाँस दाउराका लागि सोही वडाका सालबास, गुराँसे र भुल्के भन्ने ठाँउहरूमा बस्ने गर्नुहुन्छ । सालबास, गुराँसे र भुल्के भन्ने ठाउँमा बसेर सिजनअनुसार खोलाका किनारामा खेतीपातीसँगै गाई, भैँसी, बाख्रा लगायतका पशुपालन गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार हाँसीपुरमा रहेका करिब ७० घरहरूमध्ये ८५ प्रतिशत मगर समुदाय रहेका छन् भने बाँकी क्षेत्री र दलित समुदाय बसोवास गर्दछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच