अवसर गाउँमा युवाहरु भने शहरमा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । धेरै समय पछि, बीहिबार बिहान म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट गाउँमा एकजना गन्धर्व दाइ भेटिए । सारङ्गीको र्‍याइँर्‍याइँसँगै मीठो स्वरमा विदेशीएका युवाहरुलाई स्वदेश फर्कन र गाउँमा रहेका युवाहरुलाई विदेश नजान आग्रह सहित गाउँमा रहेका अवसरहरुको बेलीविस्तार लगाउँदै गीत गाउँदा छोरा,छोरी र बुहारी विदेशिएका घरका बुबाआमाको आँखा रसाए ।

“घरको संघार नाघेर जान्छौ, गाउँको सह संगसंगै लैजान्छौ” यसरी गीत शुरु गर्नुभएका गुल्मी रुरुका मानबहादुर गन्धर्वले “नजाउ युवा विदेश र सहर,गर्नसके गाउँमै छ अवसर” गाउँदै गीत टुङ्ग्याउनु भयो।

गीतमा सुनिएका मानबहादुर गन्धर्वका शब्दहरुमा नेपाली ग्रामिण परिवेशको यथार्थ बयान भेटिन्छन् । फाँटै भरी लहलहै झुलेका गहुँ । गोठैभरी गाईवस्तु । खोरमा बाख्रा र कुखुरा ।करेसाबारीमा तरकारी । चारैतिर हरियाली । वरिपरी साह्रो गाह्रो पर्दा सघाउने आफन्त र इष्टमित्र । यो गाउँको चित्र हो ।

एक/डेढ दशक अघिसम्म ‘गाउँमा अभाव छ,अवसरै छैन’ भन्ने मानसिकता व्यापक थियो । तर,अहिले समय फेरियो । देशमा संघीय व्यवस्था लागु भएपछि दुर्गम गाउँको मुहार पनि उजेल्लिएको छ ।

गाउँ–गाउँ, बस्ती–बस्तीमा सिहंदरबार पुगेको अनुभुति गरिएको छ । गाउँका वस्ती वस्तीमा मोटरबाटो पुगेको छ । बजारको सामान गाडी चढाएर घरको आँगनमै झार्न सकिन्छ । खरबारीको घाँस ट्याक्टर वा मोटरसाइकलमा गोठमै पुग्छ । गाउँमा उत्पादन गरिएको वस्तु मान्छेले नबोकिकनै बजारका पसल पसलमा पु-याउन सकिन्छ ।

अहिले गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । छैनन् त केवल प्रकृति,विकास र अवसरलाई सदुपयोग गर्ने युवा । “युवा नहुँदा गाउँ, गाउँघर जस्तो लाग्दैन । गाउँले, गाउँले जस्ता देखिदैनन्” आफ्ना २६ वर्षिय छोरालाई विदेश जानबाट रोकेर गाउँमै कृषिकर्ममा लगाउनुभएका बगरफाँटका दुर्गावहादुर थापाले भन्नुभयो “मुलुकमा आएको ठुलो परिर्वतनसँगै गाउँलेका रहर र सपनामा पनि परिवर्तन आएको छ । केटाकेटी १० पास गरेपछि शहर पस्छन् । १२ पास गरे परदेशी बन्छन् । विदेश जान गाउँमा होड चल्छ । गाउँमा रहेका अवसरहरु प्रति त कसैको आँखै लाग्दैन ।”

म्याग्दीमा केही समययता विदेशबाट फर्केर गाउँमै उद्यम गर्ने युवाहरुको संख्या बढ्दै गएपनि विदेश नै नगई गाउँमा नै अवसरहरुको खोजी गर्ने युवाहरु भने नगण्य मात्रामा रहेका छन् ।

“स्कुले बालबालिकाहरुदेखि लिएर ४५ वर्षिय वयस्क व्यक्तिले समेत विदेशकै चाहना राखेको हुन्छ” बुद्ध एकेडेमीका शिक्षक प्रेम शाहीले भन्नुभयो “कक्षामा बालबालिकालाई भविष्यमा तिमी के बन्ने चाहना राखेका छौ ? भनेर सोध्ने हो भने धेरैको मुखबाट ‘लाहुरे’ शब्द फुत्त निस्कन्छ ।”
“युवाहरु आफ्नो रहरले भन्दा पनि घरका अभिभावकको कहरले गर्दा विदेशिन वाध्य भएका हुन्” बेनीका दण्डपाणी शर्मा भन्नुहुन्छ “फलानोको छोरो विदेश गएर यो ग-यो,त्यो ग-यो,तँ गाउँमै हल्लिएको छस्,खाएको छस्,बूढा बाबु वल्लो घर छोरालाई गाली गर्दै कराएको पल्लो घर सुनिन्छ,वातावरण नै यस्तो भैदिए पछि एक्लै युवाले मात्रै के के पो गरोस् ।”

युवाहरुमा सकेसम्म युरोप, अमेरिकामा ‘सेटल’ हुन,े नसके खाडी मुलुकमै गएर भए पनि केही कमाएर फर्कने भन्ने मानसिकताले गर्दा गाउँमा रहेका रोजगार र आयआर्जनका अवसर र सम्भावनाहरु ओझेलमा परेका यहाँका जानकारहरुको भनाइरहेको छ ।
रोजगारीका लागि विदेश पसेका युवाहरुबाट म्याग्दीमा वार्षिक तीन अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको बैक तथा वित्तिय संस्थाहरुको तथ्यांकमा उल्लेख छ ।

रेमिट्यान्सले पैसा त आयो तर पैसासँगै गाउँमा खुशी भने आउन सकेको छैन । छोरा छोरीले विदेशमा कमाएको पैसाबाट किनिएका शहरका घर र घडेरीमा गाउँका वृद्धवृद्धाहरु बसाइ सर्न मानेका छैनन् । गाउँको चिसो पानी, उर्बर माटो र त्यही माटोमा लडिबुडी खेलेर हुर्केको जवानी त्यती सजिलै विर्सन उनीहरु तयार छैनन् । उनीहरुमा गाउँप्रतिको अगाध प्रेम अझै छ ।

वैदेशिक रोजगारीबाट युवाहरू घर फर्केपछि रेमिटान्सका भरमा शहरमा बसेका परिवार गाउँ पसेका छन् । गाउँ विस्तारै रमाइलो बन्दै जान थालेको छ
म्याग्दीमा ग्रामीण र कृषि पर्यटनको सम्भावना पनि उत्तिकै बढेको छ । विदेशमा काम गरेर फर्केका कामदारमा कुनै न कुनै सिप हुन्छ । सोही सिप प्रयोग गरेर गाउँमै आयआर्जनसंग युवाहरु जोडिन थालेका रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी बताउनुहुन्छ । अहिलेको अवस्थालाई अभाव होइन अवसरको रुपमा लिई युवाहरुकोे सपनालाई साकार पार्न स्थानीय सरकार लागिपरेको पूर्व अध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँमा पैदलमार्ग, परम्परागत एवंम ऐतिहासिक स्थल, ताल, खोला, झरना आदिलाई पर्यटन केन्द्र बनाउन सकिने उहाँको भनाइरहेको छ । स्थानीय परिकार र संस्कृतिको स्वादमा होम स्टेहरू सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको उहाँ सुनाउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?