१६ मिटर लामो कार्पेट बेलायतमा प्रदर्शन गरिने

Read Time = 4 mins

काठमाडौं । नेपाली महिलाले सामूहिकरूपमा तयार गरेको ‘नेचुरल टेक्सटाइल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने भएको छ । २४ जना महिलाले झण्डै छ महिना लगाएर तयार पारेको कार्पेटको लम्बाई १६ मिटर लामो रहेको छ । ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार सुती धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित कार्पेट नेपाली उत्पादन विश्व बजारमा चिनाउन तयार पारिएको हो । कार्पेटको बीच भागमा विभिन्न चित्र, नक्सा अंकित गरिएको छ । मोबाइल एपमार्फत् कार्पेट बनाउँदा प्रयोग भएका कच्चा पदार्थका साथै तयार पार्ने महिलाको कथा हेर्न सकिनेछ । कार्पेटसँगै डेढ मिटरका अन्य २४ साना नेचुरल कार्पेट पनि तयार गरिएको छ । ब्रिटिस काउन्सिलले गरिबी निवारणका लागि एकल, द्वन्द्वपीडित, हिंसापीडित, अपांगता भएका र पछाडि पारिएका महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनका लागि ल्याएको कार्यक्रममा संस्थाको सहकार्य रहेको खड्काको भनाइ छ ।

कार्पेट प्रदर्शनीका लागि मात्रै भएकाले मूल्य तोकिएको छैन । बेलायतकै विश्वविद्यालयमा राखिने प्रदर्शनपछि माग आएमा नयाँ कार्पेट तयार गरी मूल्य निर्धारण गरिने खड्काले बताउनुभयो । पोखरा महानगरको सहयोगमा मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा संस्थाबाट उत्पादिन सामग्री प्रदर्शनीसँगै उक्त कार्पेटलाई पनि प्रदर्शन गरिएको थियो । २०३२ मा स्थापना भएको महिला सीप विकास संस्थाले विशेष गरी आर्थिकरूपमा विपन्न, अपागंता भएका, एकल र द्वन्द्वपीडित महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनका लागि पहल गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले बताउनुभयो । स्वदेशी हस्तकला सामान प्रयोग गरौँ, स्वरोजगार सिर्जना गरौँ, वातावरण जोगाऔँ भन्ने नाराका साथ ४७ वर्षदेखि हस्तकलाका सामग्री उत्पादन तथा निर्यातमा सक्रिय संस्थाले झण्डै एक हजारभन्दा बढी सामग्री उत्पादन गर्दै आएको छ ।

अध्यक्ष गुरुङका अनुसार हालसम्म करिब २१ हजार महिलालाई संस्थाले तालिम प्रदान गरिसकेको छ भने तीन सय ५० महिला उद्यमी संस्थामा आबद्ध छन् । संस्थाले झोला, पर्स, गुडिया र सजावटका सामान उत्पादन गर्छ । स्थानीय कच्चा पदार्थ, अल्लो, मकैको खोस्टाबाट फूल, गुडियालगायतका अनेकौँ सामान उत्पादन गर्छ भने उत्पादनको ८० प्रतिशत विदेशी बजार र बाँकी आन्तरिक खपत हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?