नेपालले जोगायो ओडिआई मान्यता

हिमालय टाइम्स
Read Time = 5 mins

यज्ञराज जोशी/हिटा
काठमाडौं । नेपालले आइसिसीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राखेको छ । आइसिसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजअन्तर्गत आइतबार युएईलाई पराजित गर्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियलाई कायम राखेको हो । सिरिजमा आइतबार युनाइटेड अरब इमिरेट्स (युएई) माथि १७७ रनको कीर्तिमानी जित हात पार्दै नेपालले आगामी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ ।

यो जितसँगै नेपालले लिग २ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो । आइतबार त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भयो ।

ओडिआईमा रनको हिसाबमा नेपालले जितेको यो सर्वाधिक ठूलो जित हो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक रनको जित २०२१ मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा १५१ रनको जित हात पारेको थियो । २१ ओभरको समाप्तिमा चार विकेट गुमाएर ७६ रन बनाएको स्थितिबाट नेपाललाई उठाउनुभएका कप्तान रोहित पौडेल र बलिङमा ललित राजवंशीले पाँच विकेट लिएपछि नेपालको फराकिलो जित सम्भव भएको हो ।

युएईका आयन खानले ३३ बलमा दुई चौका र दुई छक्कासहित २९ रन बनाउनुभयो । यस्तै, आश्वनाथ भोलथापाले १४, कीर्तिक मयप्पनले ११ तथा रोहन मुस्तफा र आसिफ खानले समान ६-६ रन मात्रै जोड्न सक्नुभयो । नेपालका ललित राजवंशीले ७.५ ओभरमा दुई ओभर मेडन राख्दै २० रन मात्रै खर्चेर पाँच विकेट लिनुभयो । यस्तै सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान एक-एक विकेट हात पार्नुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको थियो । नेपालले २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको अवस्थामा कप्तान रोहितकुमार पौडेलले पारी सम्हाल्नुभएको थियो । उहाँले ११२ बल खेल्ने क्रममा नौ चौकासहित ७७ रन बनाउनुभयो । यस्तै, आरिफ शेखले ५२ बल खेल्दै ४३, गुल्सन झाले ३१ बलमा ३७, दीपेन्द्रसिंह ऐरीले १९ बलमा ३४ रन र भीम सार्कीले ३७ बल खैल्दै २९ रन बनाउनुभयो । बलिङतर्फ युएईका लागि आयान अफजल खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई–दुई तथा आर्यन लाक्रा र जुनैद सिद्धिकीले एक-एक विकेट लिनुभयो ।

जितसँगै नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा पाँचमा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ ।
नेपालले सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । नेपालले उक्त खेल जिते विश्वकप छनोटमा समेत स्थान बनाउने छ । हारसँगै युएईले भने सोझै ओडिआई मान्यता प्राप्त गर्ने अवसर गुमाएको छ । युएई अब प्लेअफमा शीर्ष चारमा पर्न सके मात्रै आगमी चार वर्षको लागि ओडिआई मान्यता प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?