पिएनजीविरुद्ध नेपालको सहज जित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा सहज जित निकालेको छ । नेपालले पपुवा न्युगिनीविरुद्धको खेल नौ विकेटले जितेको हो । पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य सात दशमलब चार ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले विस्फोटक ब्याटिङ गर्नुभयो । दुवैजनाबीच ५१ रनको साझेदारी रहृयो । शेखले २१ बल खेल्दै तीन छक्का र आठ चौकाको मद्दतमा अविजित ५३ रन बनाउनुभयो ।

आसिफले चाद सोपरलाई आठौँ ओभरमा पहिलो र दोस्रो बलमा चौका तथा तेस्रो र चौथो बलमा छक्का हान्दै २१ बलमा अर्धशतक पूरा गर्नुभएको थियो । जुन नेपालबाट ओडिआईमा एक ब्याटरले बनाएको सर्वाधिक छिटो अर्धशतक बनेको हो । यसअघि नेपालबाट सोमपाल कामीले २०१८ मा नेदरल्याण्ड्सविरुद्ध दोस्रो ओडिआई खेलमा ३८ बलमा अर्धशतक पूरा गर्नुभएको थियो । उक्त कीर्तिमान आसिफले तोड्नुभएको हो । आसिफको यो ओडिआई करिअरको आठौँ अर्धशतक हो ।

यस्तै, भुर्तेलले १४ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरी ३३ रन बनाउनुभयो । कुशल मल्लले अविजित रहँदै १२ रनको योगदान दिनुभयो । उहाँले १३ बल खेल्ने क्रममा एक छक्का र एक चौका प्रहार गर्नुभयो । बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले एक विकेट लिनुभयो ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो । पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए ।

पपुवा न्युगिनीले सुरुवातमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो । हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र चाल्र्स अमिनीले केही हदसम्म पारी सम्हाल्ने प्रयास गर्नुभए पनि इनिङ्स अघि बढाउन सक्नुभएन । भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाउनुबाहेक अन्यको सम्झन लायक प्रदर्शन रहेन ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिनुभयो । उहाँ खेलको प्लेयर अफ द म्याच घोषित हुनुभयो । लामिछानेले १० ओभर बलिङ गर्ने क्रममा एक मेडन राख्दै २५ रनमात्र खर्चनुभयो । सन्दीपले ओडिआईमा सर्वाधिक छिटो एक सयौं विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउँदै हुनुहुन्छ । सन्दीपले ४० ओडिआई खेलमा ९८ विकेट लिइसक्नुभएको छ । सन्दीपलाई एक सय विकेट पूरा गर्न अब दुई विकेट बाँकी छ । ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ ।

अफगानिस्तानका राशिद खानले २०१८ मा ४४ खेलमा ओडिआईमा एक सय विकेट पूरा गर्नुभएको थियो । सन्दीपले अब तीन खेलमा दुई विकेट लिएमा उक्त कीर्तिमान तोड्नुहुनेछ । राशिद खानपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा ओडिआईमा एक सय विकेट पूरा गर्नुभएको थियो ।

यस्तै, नेपालका लागि ललितनारायण राजवंशी र कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिनुभयो । नेपालले अब बिहीबार युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले आगामी जुन-जुलाईमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउँछ । पराजित भएमा नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले पुनः विश्वकप छनोट खेल्न पाउनेछन् । नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको हो । नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । पपुवा न्युगिनी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?