बैंकहरूको वित्तीय जोेखिममा राष्ट्रको साथ

Read Time = 6 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी नियमावली जारी गरेको छ । बैंकहरूलाई वित्तीय जोखिमबाट जोगाउन केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो । बचतकर्ताको निक्षेपको दायित्व तिर्न नसक्ने, कर्जा दिन नसक्नेलगायत विभिन्न नौवटा अवस्थामा राष्ट्र बैंकले बैंकलाई आवश्यक ऋण सुविधा प्रदान गर्नेछ । राष्ट्र बैंकले अन्तरबैंकिङ बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र तत्कालको दायित्व पूरा गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै यस्तो नियमावली जारी गरेको हो । अन्तिम ऋणदाता सुविधाका रूपमा प्रदान गरिने ऋणको ब्याजदर प्रचलित बैंक दरमा दुर्ई प्रतिशतले पेनालदर थप हुने गरी प्रदान गरिने उल्लेख छ । अन्तिम ऋणदाता सुविधा उपयोग गर्ने इजाजत पत्रप्राप्त संस्थालाई तोकिएका शर्त पालना भए/नभएका सम्बन्धमा नियमित अनुगमन गरिनेछ भने अन्तिम ऋणदाता सुविधाअन्तर्गत लिएको रकम छ महिनाभित्र भुक्तानी गर्नुपर्नेछ ।

नियमावलीअनुसार इजाजत पत्रप्राप्त संस्थाले अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था भएमा इजाजत पत्रप्राप्त संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पूरा गर्न नसक्ने अवस्था भएमा उक्त ऋण सुविधा पाउनेछन् ।

त्यस्तै, ठूलो परिमाणको निक्षेप भुक्तान भई वा भुक्तान गर्नुपर्ने अवस्था आई इजाजत पत्रप्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व पूरा गर्न सक्षम नभएमा, इजाजत पत्रप्राप्त संस्थाले प्रतिबद्धता जनाइसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थ व्यवस्थामा पर्ने भएमा, कुनै एक इजाजत पत्रप्राप्त संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्था धरासायी हुने गरी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आएमा ऋण सुविधा पाउनेछन् ।

त्यसैगरी इजाजत पत्रप्राप्त संस्था आफ्नो वित्तीय दायित्व पूरा गर्न असमर्थ भएको कारण बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने भएमा, प्राकृतिक प्रकोपको कारण इजाजत पत्रप्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व भुक्तान गर्न नसक्ने नभएमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण सिर्जित असहज अवस्थाबाट इजाजत पत्रप्राप्त संस्था आफ्नो तत्कालको दायित्व पूरा गर्न असमर्थ भएमा, इजाजत पत्रप्राप्त संस्थाले आफ्नो दायित्व पूरा गर्न समर्थ नभएमा र त्यस्तो संस्था खारेजीमा लैजाँदा अर्थव्यवस्था तथा वित्तीय प्रणालीमा चुनौती सिर्जना हुन सक्ने भएमा पनि उक्त ऋण सुविधा पाउनेछन् ।

ग्लोबल मनि विक मनाइने
लर्न, सेव, अर्न भन्ने नाराका साथ विगत वर्ष जस्तै यस वर्ष पनि ग्लोबल मनि विक (जिएमडब्लु २०२३) विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । जिएमडब्लु युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले वाषिकरूपमा विश्वभर मनाइने साप्ताहिक अभियान हो । नेपाल राष्ट्र बैंकका अनुसार हरेक वर्षको मार्च महिनामा मनाइने जिएमडब्लु सन् २०२२ मा १०औँ शृंखलाका रूपमा विश्वव्यापी मनाइएको थियो ।

राष्ट्र बैंक, राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त बंैक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेसनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको सहभागितमा विभिन्न कार्यक्रम आयोजना गरी जिएमडब्लु २०२३ मनाइने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोख्रेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । ग्लोबल मनि विक चैत ६ देखि १२ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?