दलीय खिचातानीले जनतामा वितृष्णा : पूर्वराजा ज्ञानेन्द्र

‘लोभ र लालच देखाएर सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छ’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकभित्र देखिएको दलीय खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गर्नुभएको छ । सोमबार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन ग्रहणपश्चात् सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताउनुभयो । सम्बोधनका क्रममा शाहले परिवर्तन देखाउनका लागि भएको अहिलेको टालटुले प्रणालीले कुनै खँदिलो परिणाम नदिने बताउनुभयो । नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम नदिने धारणा राख्नुभयो । उहाँले भन्नुभयोे, ‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन ।’

उहाँले अहिलेको अवस्थामा राष्ट्रियताको रक्षा गर्दै राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनुपर्ने बताउनुभयो । शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुपर्ने पूर्वराजा शाहको भनाइ थियो । ‘निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, निश्चय पनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चय पनि हामीले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नु छ ।’

शाहले आफूलाई अभिनन्दन गरिएको प्रति आभार प्रकट गर्नुभएको थियो । यसबाट देशको माया, चिन्ता र चासो प्रस्तुत भएको उहाँले बताउनुभयो । ‘सदासर्वदा स्वाधीन रहेको र आफ्नै मौलिक मान्यताभित्र स्वाभिमानपूर्वक आधुनिकतातर्फ लागेको हाम्रो नेपाल हामीलाई सधैँ राम्रो लाग्छ, हामीलाई सधैँ प्यारो लाग्छ । राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही अघात प्रेम फेरि एकपटक यहाँ प्रकट भएको छ । तपाईंहरूले दर्शाउनुभएको यस्तो देशभक्ति हामीले हृदयदेखि सम्मान गर्दछौँ । आफ्नोे देशलाई माया गरेर आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरूबाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ, त्यसमा मेरो गहिरो ध्यान पुगेको छ ।’

उहाँले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर नभई हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्ने बताउनुभयो । ‘राष्ट्र नै हाम्रो आफ्नो ब्रह्म हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन्, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहम् धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्दछ । तपाईंहरू जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जागृत हुँदै जाओस् ।’

नागरिक अभिनन्दन कार्यक्रममा कोशी र मधेशबाट सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा राजतन्त्रको पक्षमा नारा लागेको थियो । कार्यक्रममा सहभागीहरूले गणतन्त्रको विरोधमा समेत नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?