बदलियो ब्यवस्था, बदलिएन खलियाको अवस्था

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 7 mins

बाजुरा । कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ग्रामीण क्षेत्रमा अहिले पनि खलो प्रथा कायमै छ । दिनभरी काम गरेर पनि सन्तोषजनक परिश्रमको फल नपाइने भनेकै खलो प्रथा हो । यसले गर्दा आम नागरिकमा पेशाप्रति कम विश्वास हुन्छ । विशेषगरी दलित समुदाय र दमाईं परिवारमा यसको प्रभाव पर्ने गरेको छ । बाजुराको स्वामिकात्र्तिक खापर गाउँपालिका-४ की राधिका दमाईंले परम्परागत खलो व्यवसायमा सिलाइ गर्दै आउनुभएको छ । राधिकासँगैका साथीहरूले केही संस्थाहरूबाट सिलाइ कटाइसम्बन्धी तालिम लिएर कहिले व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । तर, राधिकाले भने अहिले पनि दिनभरि स्थानीय भाषामा (रिथी) भनिने साहुका कपडा सिलाएबापत खलोमा नै चित्त बुझाउँदै आउनुभएको छ ।

न त उहाँले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिनुभएको छ, न त उहाँलाई घरपरिवार नै चलाउन सजिलो भएको छ । अझै भन्ने हो भने उहाँको आफ्नो जग्गा पनि छैन । अहिले ‘रिथी’को काम गर्दा दिएको ‘बर्सिगो’ पाएको जग्गामा घर बनाएर बस्ने गरे पनि दैनिक छाक टार्न र सामान्य बिमारी हुँदासमेत उपचार गर्न निकै समस्या हुने गरेको उहाँको गुनासो छ ।

देशमा पटक-पटक व्यवस्था परिवर्तन भयो । तर, खलियाको अवस्था र जीवन भने कहिल्यै परिवर्तन हुन सकेन । साहुको दैनिक ज्याला मजदुरी गर्नुपर्ने समस्याबाट खलिया समुदायले कहिल्यै मुक्ति पाउन सकेनन् । राधिका त एक प्रतिनिधि पात्र मात्रै हुन् । राधिका जस्तै थुप्रै खलियाको यस्तै अवस्था र समस्या छ ।

बाजुराकै स्वामीकात्र्तिक गाउँपालिका-४ की दर्शना नेपालीका बुबाले ३० वर्षसम्म खलो व्यवसायमा काम गर्दै जीवन बिताउनुभयो । उहाँले साहुको घरमा काम गरेर नै छोराछोरीलाई पढाइलेखाइ गराउनुभयो । दर्शनाले उच्च माध्यमिक विद्यालयसम्मको शिक्षा पास गर्नुभएको छ । तर, पनि काम नपाउदा उही पुर्खाको काम र पेसालाई निरन्तरता दिनुपर्ने उहाँको बाध्यता छ ।

बुढीनन्दा नगरपालिका-६ का सौरे दमाईं भन्नुहुन्छ, ‘अहिले पछिल्लो अवस्थामा अन्य समुदायका मानिसहरूले पनि सिलाइकटाइ गर्न थालेपछि आफ्नो पुख्र्यौली पेसा र पुरानो तरिकाको सिलाइले ठाउँ पाएन । आधुनिक सिलाइकटाइ सिक्ने अवसर मिलेको भए परिवारको दैनिकी चलाउन सहज हुने थियोे ।’

यता, बाजुरामा पनि करिब सात सयभन्दा बढी हलिया परिवार रहेको अनुमान गरिएको छ । तर, पनि यस्ता हलियाप्रति राज्यको ध्यान छ । न त स्थानीय सरकारको ध्यान पुग्न सकेको छ । यो पेशा संकटमा परेपछि धेरै नागरिक बेरोजगारी र भोकमरीमा बस्नुपर्ने बाध्यता छ ।
परम्परागत चलेको खलो प्रथालाई आत्मसाथ गर्दा न त यसले मानिसको जीवनस्तर उकास्न सफल भएको छ, नत मान सम्मान नै पाएको छ । प्रत्येक स्थानीय तहको सरकारले खलो प्रथासँग सम्बन्धित सबैलाई सीपको व्यवस्था गरेर उनीहरूलाई व्यवसायतर्फ उकास्न सके देशमा भएको बेरोजगारीलाई कम गर्न सकिन्थ्यो कि भन्ने आशामा छन् खलियाका समुदायका बासिन्दा । बाजुरा जस्तो अति विकटको बिम्ब मानिने जिल्लामा सबैले विशेष प्रकारको सीपको व्यवस्था गरेमा यहाँबाट विदेशिने युवाको संख्यामा समेत कम हुने देखिन्छ ।
अझै पनि गाउँघरमा खलियो प्रथामा आबद्ध भएका पेसा भनेर चिनिने सिलाइकटाइ र आरन व्यवसायलाई सरकारले विशेष जोड दिएर काम गर्दा केही युवाहरूले देशमा नै रोजगारी पाउने र दैनिक रूपमा विदेशिने युवाको संख्या पनि घट्ने देखिन्छ ।

आगामी दिनमा बाजुराका प्रत्येक स्थानीय सरकारले खलिया व्यवसाय गर्दै आएका समुदाय र मानिसहरूलाई यो पेसाबाट हटाउनका लागि विशेष कार्ययोजना बनाउँदा यो पेसालाई मर्यादित बनाउन सकिने देखिन्छ ? खलो व्यवसायबाट कसैको पनि जीवनस्तर माथि उठाउन भने सम्भव देखिँदैन अझ अझै भन्ने हो भने त बालबालिकालाई शिक्षा दिन पनि मुस्किल परेको छ ।

सरकारले खलो प्रथालाई अन्त्य गरी यसलाई व्यवसायमा परिवर्तन गर्नु जरुरी छ । जसले गर्दा सिलाइकटाइ पेसाप्रति सबै वर्ग र समुदायका मानिसलाई आकर्षित गरेर रोजगारी प्रदान गर्न सकिन्छ ।

यसरी पुर्खाले अपनाउँदै आएको खलिया पेसा अपनाउनु रहर नभएर यहाँका खलियाहरूको बाध्यता हो । एकातिर पुर्खाले गरेको पेसालाई निरन्तरता दिनु गर्व ठान्छन् भने अर्कातिर अन्य पेसा व्यवसाय अपनाउन उनीहरू आँट गर्न सक्दैनन् । बढ्दो आधुनिकीकरणसँग प्रतिस्पर्धा गर्न नसक्नु उनीहरूको अर्को कमजोरी हो भने पेसाको आधुनिकीकरण हुन नसक्नु दलित आवाज लिएर अगाडि बढ्ने दलित संस्थाको कमजोरी पनि हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?