सभामुखले बोलाएको शीर्ष बैठकमा टिआरसीमाथि जुटेन सहमति

फास्ट ट्र्याकबाट पारित गर्ने प्रचण्ड-देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । संसद्मा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) लगायतका विधेयकबारे प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संवाद भएको छ । सभामुख देवराज घिमिरेले शनिबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाउनुभएको थियो । ‘नेताहरूको बीचमा आपसमा बसेर सामूहिक विषयमा कुराकानी नभइरहेको परिस्थिति थियो, उहाँहरूको बीचमा कुराकानी गराउन पहल गरेको हुँ’, सभामुख घिमिरेले भन्नुभएको छ ।

छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभाको बैठकलाई कसरी प्रभावकारी र गतिशील ढंगले चलाउने भन्ने विषयमा छलफल भएको बताउनुभयो । अहिले प्रारम्भिक रूपमा छलफल भएको र केही दिनमै पुनः बैठक बस्ने पनि उहाँको भनाइ छ । ‘सदनका काम कारबाहीका सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले अगाडि बढाउने र अहिले आइराखेका समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भयो । प्रारम्भिक छलफल भयो । छलफल सकारात्मक छ,’ भन्नुभयो । बेपत्ता पारिएका व्यक्ति छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक (टिआरसी)लाई समितिमा पठाउनेबारे पनि छलफल भएको उहाँले बताउनुभयो ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले टिआरसी विधेयकलाई फास्ट ट्र्याकमा लैजान चाहेको बताउनुभयो । तर, प्रतिपक्षी दल एमालेले भने समितिमा लैजानुपर्ने अडान लिएको र बीचको बाटो खोज्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सदन भित्रको टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउन छलफल भयो, सैद्धान्तिक रुपमा हामी सहमत नै छौँ । प्राविधिक पाटो भएकाले विज्ञहरू पनि बसेर २८ गतेको बैठकले टुंग्याउने कुरा भएको छ । हामी सरकारमा बसेकाहरूले फास्ट ट्र्याकबाट टुंग्याउने भनेका छौँ । प्रतिपक्षले समितिमा लैजाने कुरा छ, बीचको बाटो खोज्ने भन्ने पनि छ ।’

यो विधेयकसँगै संवैधानिक परिषद्सम्बन्धी विधेयक र सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित विधेयकलाई पनि छिटो टुंग्याउने विषयमा छलफल भएको उहाँले बताउनुभयो । ‘संवाद गरेर सदनभित्र खासगरी टिआरसीसम्बन्धी विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयक, सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित विधेयकलाई छिटो टुंग्याउन जरुरी छ । यो राष्ट्रको निम्ति भन्ने कुरामा गम्भीर छलफल भयो,’ उहाँले भन्नुभयो । यस विषयमा छलफल गर्न विज्ञहरूको पनि सहयोग लिने र फेरि चैत २८ गते बिहान साढे ९ बजे बस्ने गरी स्थगित भएको उहाँले बताउनुभयो ।

सभामुख देवराज घिमिरेले शीर्ष दलका नेताहरूबीच कुराकानी नभइरहेको अवस्थालाई मध्यनजर गरेर बैठक बोलाइएको बताउनुभएको छ । शनिबार सिंहदरबारस्थित कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठक पछिल्लो समय तीन राजनीतिक दलका नेताहरूबीचमा सामूहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई मध्यनजर गरी बोलाइएको उहाँले बताउनुभएको हो । उहाँले नेताहरूको बीचमा पछिल्लो समय कुनै सामूहिक विषयमा कुरकानी हुन नसकेको र शनिबार सामान्य कुराकानी गराउने प्रयास भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सहमति र विमति भन्दा पनि नेताहरूको बीचमा आपसमा बसेर सामूहिक विषयमा कुराकानी भएको थिएन, सामान्य कुराकानी गराउन पहल भएको छ, सामान्य कुराकानी भएको छ ।’ सभामुख घिमिरेले नेताहरूबीच सामूहिक विषयमा छलफल भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?