पुलिसको पहिलो जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको खेलमा पुलिसले फ्रेण्ड्सलाई तीन-एक गोलअन्तरले पराजित गरेको हो । पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल तथा विदेशी खेलाडी मोजेस टुमले एक गोल गर्नुभयो । फ्रेण्ड्सका तोरीच जेब्रिनले एक गोल फर्काउनुभयो ।

पहिलो हाफमा कुनै गोल नभएको खेलको दोस्रो हाफमा चारवटै गोल भएका थिए । ५१औँ मिनेटमा विदेशी खेलाडी मोजेसले पुलिसलाई अग्रता दिलाउनुभयो । यस सिजनमा पुलिसले यसै खेलमार्फत् विदेशी खेलाडी मैदानमा उतारेको हो । यस्तै, बुद्ध बल तामाङले ५८औँ मिनेटमा पुलिसको अग्रता दोब्बर पार्नुभयो ।

खेलको ८७औँ मिनेटमा तोरीचले फ्रेण्ड्सका तर्फबाट पेनाल्टी क्षेत्रभित्रबाट एक गोल फर्काउनुभयो । तर, इन्जुरी समयमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको पहिलो जित पक्का गर्नुभयो ।

छैटौँ चरणसम्म जितविहीन हुँदै जम्मा एक अंक जोडेको पुलिसले सातौँ चरणमा बल्ल जित हात पारेको हो । जितसँगै पुलिसले सात खेलबाट चार अंक जोडेको छ । फ्रेण्ड्सको पनि सात खेलबाट चार अंक नै छ । पुलिस र फ्रेण्ड्सले समान एक खेल जित्दा एक खेल बराबरी खेलेका छन् भने पाँच खेलमा हार बेहोरेका छन् ।

यस्तै, दशरथ रंगशालामा भएको अर्को खेलमा चर्च ब्वाइज र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा चर्च ब्वाइजका जोस्पे बेम्पाले दोस्रो हाफमा गरेको प्रहार गोलमा परिणत भए पनि असिस्टेन्ट रेफ्रीले अफसाइड भन्दै गोलको मान्यता दिएनन् ।

जारी लिगमा मनाङ मस्र्याङ्दी क्लबसँगै अपराजित रहेको चर्च ब्वाइजले सात खेलबाट १३ अंक जोडेको छ । उसले तीन खेल जित्दा चार खेलमा बराबरी खेलेको छ । ‘बी’ डिभिजनको च्याम्पियन बन्दै पहिलोपटक ‘ए’ डिभिजन लिग खेलिरहेको चर्च ब्वाइजले सुरुवाती तीन खेल जित्दै सानदार सुरुवात गरेको थियो । तर, त्यसयता लगातार चार खेल बराबरी खेलेको छ । एपिएफको यो दोस्रो बराबरी हो । सात खेलबाट ११ अंक जोडेको एपिएफ पाँचौँ स्थानमै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?