‘निर्माण क्षेत्रको भुक्तानी रोकिँदा सबैतिर असर’

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर परेको बताउनुभएको छ । निर्माण उद्योगलाई प्राथमिकतामा राखेर तत्काल भुक्तानी उपलब्ध गराउन आफूले सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराइसकेको पनि उहाँले बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले निर्माण व्यवसायीलाई भुक्तानी दिँदा तत्काल सरकारी कोष नै बलियो हुने भन्दै महासंघले उपलब्ध गराएको निर्माण उद्योगसँग सम्बन्धित बैंंकिङ क्षेत्रको समस्याबारेमा राष्ट्र बैंकले अध्ययन गरेर जायज माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महासंघ अध्यक्ष सिंहले व्यवसायीको ठूलो रकम राज्यले निकासा नगर्दा ‘सप्लाई चेन’ मै गम्भीर समस्या आएको, निर्माण व्यवसायीका समस्या समाधानका लागि बैंकहरू लचिलो नभए समस्या अझ विकराल हुन सक्ने बताउनुभयो । क्रेडिट रेटिङ, ब्याजदर समायोजन, ठेक्का कर्जा, चालु पुँजी कर्जासम्बन्धी मार्गनिर्देशन, चेक बाउन्स, कालोसूची, पुनर्कर्जालगायतका विषयमा गभर्नर अधिकारीको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिंहले समस्या समाधानका लागि सम्बन्धित निकायहरूमा आवश्यक निर्देशन गरिदिनसमेत आग्रह गर्नुभयो ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी), उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, नीतिगत उपमहासचिव शिवहरि घिमिरे र महासंघका कानुनी सल्लाहकार टंकबहादुर दुलाललगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?