३८ वर्षपछि पूरा हुँदै छ, चिहान माथिको चिलगाडि चढ्ने सपना

नियमित जहाज उड्नेमा स्थानीय भने छैनन् ढुक्क

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 12 mins

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा रहेको सुनथराली विमानस्थलमा वैशाखको पहिलो साताबाट परीक्षण उडान हुने भएको छ । विक्रम संम्वत् २०४२ सालदेखि निर्माणधिन अवस्थामा रहेको विमानस्थल निर्माण कार्य पूरा भएपछि वैैशाखको पहिलो साताबाट परीक्षण उडान हुने भएको हो । विमानस्थलको निर्माणको काम पूरा भएको र वैैशाखको पहिलो हप्तामा नै परीक्षण उडान हुने सुनथराली विमानस्थल आयोजनाका सुपरभाइजर गणेशकुमार विष्टले बताउनुभयो । ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारीअनुसार चैत २६ गतेदेखि वैैशाखको पहिलो सातासम्म परीक्षण उडान गर्ने जानकारी आएको छ ।’ उहाँले भन्नुभयो, ‘हामीले त्यहीअनुसार यहाँको तयारी गरेका छौँ ।’ परीक्षण उडान हुने भएकाले विमानस्थलको पूर्व अधेँरी खोला, पश्चिममा नुवादेव देवताको मन्दिर, उत्तरमा भैरी सामुदायिक वन र दक्षिणमा लामीडाँडा लामपाटा क्षेत्रको भू-भागमा पशुचौपाया छाडा नछाड्न र मानिसको आवतजावत बन्द गरिएको सुपरभाइजर विष्टले बताउनुभयो ।

विमानस्थल नियमित सञ्चालनका लागि भन्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले विमानस्थलमै नियमित साधारणसभा आयोजना गरेर दबाब दिएको थियो । नियमित उडानको माग गर्दै आएको महासंघले यही २१ र २२ गते साधारणसभा गरेको थियो । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्रप्रसाद भट्टराईले महासंघले गरेको दबाबको प्रभावका रुपमा परीक्षण उडान हुने खबरले आफूहरू उत्साहित भएको बताउनुभयो । हाल यो विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर, घेरबार र भवनसमेत तयार भइसकेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।

विमानस्थलमा नियमित उडान भएमा पर्यटकीय स्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालीकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाँउपालिका अध्यक्ष नगेन्द्र बिष्टले बताउनुभएको छ । ‘विमानस्थल नियमित उडान गर्नका लागि र छिटो निर्माण कार्य सम्पन्न गर्नका लागि गाउँपालिकाको तर्फबाट दबाब दिँदै आएका छौँ । तर, विमानस्थल समयमा बनेन ।’ उहाँले भन्नुभयो, ‘परीक्षण उडान हुने भएपछि त्यसपछि नियमित उडान गर्ने जानकारी पनि पाएको अध्यक्ष विष्टले जानकारी दिनुभयो ।
सशस्त्र द्वन्द्वको बेला विमानस्थल खन्न गएका ३६ जना कामदार मारिएको कोटवाडामा महासंघको साधारणसभा आयोजना गरिएको थियो । सभाले योगी नरहरिनाथको व्यक्तित्व, कृतित्व र योगदानको खोजी गर्दै अन्वेषण केन्द्र स्थापना गर्न पनि माग गरेको छ । योगी नरहरिनाथको जन्मस्थल कालीकोट हो । सभाले कोटवाडा विमानस्थल सञ्चालनको लागि मान्म कोटवाडा केबलकार र पक्की सडकमा पनि जोड दिएको छ । त्यस्तै, कालीकोटमा ब्याप्त छाउपडी, बालविवाह, जातीय विभेदको अन्त्यका लागि पनि सभाले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । ‘आर्थिक समृद्धि र सुशासन कर्णाली प्रदेशमा कमजोर छ,’ महासंघका अध्यक्ष देवीराम देवकोटाले भन्नुभयो , ‘व्यवस्था बदलिए पनि जनताको अवस्था उस्तै भएकाले सरकारको ध्यानाकर्षण गर्न कालीकोटमा प्रदेश साधारणसभा गरिएको हो ।’

साधारणसभा मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो अधिकार भन्ने नाराका साथ भएको भएको थियो ।
विमानस्थल र कर्णाली राजमार्ग कालिकोटबासीका वर्षौंदेखिका पुराना सपना हुन् । ढिलै भए पनि डेढ दशकअघि कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक निर्माणसँगै कालीकोटबासीको सडक सपना पूरा भएको छ । तर वर्षौं पुरानो हवाई सपना अझै पूरा भएको छैन् । निर्माण सुरु भएको तीन दशकपछि ०७३ माघ २९ गते पहिलो पटक तारा एयरको जहाज परीक्षण उडान गरिएको थियो । जहाज परीक्षण गरिएको करीब आठ वर्ष बित्न लाग्दा बल्लतल्ल विमानस्थल निर्माणको काम सम्पन्न भएको छ । करीब आठ वर्षअघि पहिलोपटक जहाज परीक्षण हुँदा खुसी भएका स्थानीय फेरि वैैशाख पहिलो साताबाट जहाज परीक्षण हुने खबरले उत्साहित बनेका छन् । त्यतिबेला तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अबतरण भएको थियो । परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । परीक्षण उडानले हर्षित स्थानीयले त्यसपछि भने आँगनमा जहाज देख्न पाएका थिएनन् । नियमित उडानका लागि दबाब दिनकै लागि गाउँपालिकाले पनि गत माघ ७ गते विमानस्थलको धावनमार्गमा गाउँसभा आयोजना गरेको थियो ।

३६ जना मजदुरले गुमाएका थिए, विमानस्थल निर्माणको क्रममा ज्यान
सुनथराली विमानस्थल निमार्णका क्रममा ३६ जना मजदुरले ज्यान गुमाएका थिए । ३६ जना मजदुरलाई नेपाली सेनाले एकैपटक एकै चिहान बनाएको थियो । नेपालमा चलेको १० वर्षे सशस्त्र युद्धका बेला अछाम आक्रमणपछि आएको सेनाको टोलीले विमानस्थलमा काम गरिरहेका ३६ जना मजदुरको हत्या गरेको थियो । विमानस्थल निर्माणका क्रममा धादिङ जोगिमारा स्थायी घर भई विमानस्थल निर्माणको सिलसिलामा कोटवाडा आएका ३० जना कामदार र ६ जना स्थानीय कामदारहरूलाई २०५८ सालमा तत्कालीन राज्यपक्षको शाही सेनाद्वारा विमानस्थलमै गोली हानी हत्या गरिएको थियो । विमानस्थल निर्माण क्रममा मारिएका ३६ जनाले जनही १० लाख राहतबाहेक अहिलेसम्म अन्य कुनै पनि सेवा सुविधा पाएका छैनन् ।

नेताको भोट बैंकका रूपमा प्रयोग भएको थियो विमानस्थल
हरेक पटकको निर्वाचनको बेलामा खुब चर्चा पाउने विमानस्थलले निर्वाचनपछि भने कहिल्यै चर्चा पाएन । निर्वाचनमा भोट माग्ने बेलामा मात्र सुनथराली विमानस्थल बन्छ भन्ने यहाँका नेताहरू निर्वाचन सकिएपछि जनतालाई दिएका आश्वासन पूरा गर्न त के फर्किएर पनि हेरेनन् । सुनथराली विमानस्थल नेताहरूका लागि एउटा भोट माग्ने माध्यम मात्रै बन्यो तर त्यही माध्यम मात्रै बनेको विमानस्थलले भने जहाज कहिल्यै पाएन । स्थानीय भन्छन्, राजनीतिक दल र नेताको पहुँच नपुग्नुले विमानस्थल निर्माण कार्य अलपत्र परेको हो ।’ ‘यहाँ विमानस्थल बनाउने कुरा चुनावको बेला मात्र चर्चा हुन्छ, चुनाव सकिएलगत्तै चर्चा पनि सकिन्छ ।’ निर्वाचनका बेला प्रमुख राजनीतिक दलका मुख्य एजेण्डा नै विमानस्थल बनाउनेसम्म बने तर ती एजेण्डाविहीन भए ।
कालीकोटबाट निर्वाचित भएर जनप्रतिनिधि बनिसकेपछि आफूले चुनावका बेलामा गरेका प्रतिबद्धता विर्सने प्रवृत्तिले सुनथराली विमानस्थल अहिलेसम्म बन्न नसकेको स्थानीयले बताएका छन् । ०६४ सालभन्दा अगाडि भएका निर्वाचन र त्यसभन्दा पछि भएका निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले आफ्नो भोट बैंक विमानस्थललाई बनाउने गरेको स्थानीय अबिलाल विष्टले बताउनुभयो ।

कर्णालीका पाँचवटै जिल्लामा शिलान्यास भएका थिए विमानस्थल
साबिकको कर्णाली अञ्चलका पाँचवटा जिल्लामा एक/एकवटा विमानस्थल निर्माण गर्ने गरी एकैपटक शिलान्यास गरिएको विमानस्थलमा सुनथराली विमानस्थल पनि पर्दछ । तर अन्य चारवटै जिल्लामा पहिले नै विमानस्थल निर्माण भई नियमित सञ्चालन हुँदा पनि कालीकोटको कोडबाडामा रहेको यो विमानस्थल अझै सञ्चालनमा आउन सकिरहेको छैन । मुगु, डोल्पा, जुम्ला र हुम्लामा विमानस्थल समयमै सञ्चालन भइसकेका छन् । सदरमुकामभन्दा टाढा हुनाले राज्यको प्राथमिकतामा नपरेको यहाँका स्थानीयको भनाइ छ । पञ्चायतकालमा निर्माण थालिएको यो विमानस्थललाई बहुदलीय व्यवस्था हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पनि राजनीतिक दलहरूले यसलाई केवल चुनावी एजेण्डा मात्र बनाउँदै आएको स्थानीयवासीको आरोप छ ।

यता, स्थानीयबासिन्दा भने विमानस्थल नियमित सञ्चालन हुनेमा ढुक्क देखिएका छैनन् । वर्षौंदेखि विमान उड्छ भन्ने सुन्दै आएको बताउने उनीहरू फेरि पनि परीक्षण उडानमै सीमित हुने हो कि भन्ने त्रासमा छन् । नरहरिनाथ गाउँपालिका-२ का ७९ वर्षीय काले दमाईंले तीस वर्षअघि गाउँमा जहाज आउने सपना बोकेर घरमा भएको कुटो कोदालो बोकी दिनहुँ सुनथरालीमा विमानस्थल निर्माण गर्न पसिना बगाएको स्मरण गर्दै सधैँ आश्वासन मात्र पाएको बताउनुभयो । सडक यातायात नहुँदा समयमै उपचारको अभावमा यहाँ बर्सेनि सयौँले अकालमै ज्यान गुमाइरहेका छन् । हालसम्म झण्डै आधा अर्बबढी बजेट यस विमानस्थलमा खर्च भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?