राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ७२८ जनालाई मानपदवी प्रदान

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका ७२८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एकजनालाई नेपाल रत्न, तीनजनालाई राष्ट्र गौरव, एकजनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, १६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, ३१६ जनालाई प्रवल जनसेवाश्री, एकजनालाई राष्ट्रदीप र २०५ जनालाई जनसेवाश्री प्रदान गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले नेपाल रत्न पूर्वप्रधानमन्त्री स्व.कोइरालालाई प्रदान गर्नुभयो । राष्ट्र गौरव राजनीतिज्ञ स्व.जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्व. सत्यमोहन जोशीलाई प्रदान गर्नुभयो । सुप्रसिद्ध प्रबल जनसेवाश्री डा.जगमान गुरुङलाई प्रदान गरियो । समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जंगी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको छ ।
मन्त्रिपषिद्को सिफारिशमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गर्नुभएको थियो । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।

४५ जना कलाकारलाई विभूषण
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गर्नुभएको हो । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो ।

विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

राष्ट्रपति पौडेलले नीर शाह, राजेश हमाल, दीपकराज गिरी, विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय (धर्मराज उपाध्याय) सहित ४५ जना कलाकारलाई पदक प्रदान गर्नुभएको थियो । शाहसहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल र नन्दकृष्ण जोशीले सुकीर्तिमय राष्ट्रदीप विभूषण ग्रहण गर्नुभएको छ । दीपकराज गिरी, शम्भु राई (कुथुमी), प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, आलोकश्री (सूर्यकुमार खाती), दीपक जंगम, आनन्द कार्की, अर्जुन श्रेष्ठ, ज्ञानु राणा, निरुता सिंह, चेतन सापकोटा, विराज भट्ट (भोजराज भट्ट), दयाहाङ राई र सत्यकला राईले सुप्रबल जनसेवाश्री प्राप्त गर्नुभयो ।

यस्तै, मिलन मोक्तान, सीताराम पोखरेल, जीतबहादुर देउजा र निर्मल शर्माले प्रबल जनसेवाश्री पदक ग्रहण गर्नुभयो । सुनिता दुलाल, प्रदीप खड्का, कमल सुनार, सन्तोष श्रेष्ठ, दीपक शर्मा, माधवराज खरेल, शिवराम विक, रमेश कोइराला, सनम कठायत, कुमार बस्नेत विक्रान्त, कुलमान नेपाली, मनोहर सुनाम परियार, डिल्लीनारायण पाण्डे, सुरेशकुमार नेपाल परियार (यशकुमार), सानुकान्छा शाहीले जनसेवाश्री प्राप्त गर्नुभयो । त्यस्तै, प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर विक, नवीन पौडेल र किरण गजमेरले नेपाल सेवा प्रवीण प्राप्त गर्नुभयो ।

पत्रकार एवं मानवअधिकारकर्मी कुईंकेल विभूषित
राष्ट्रपति रामचन्द्र पौडेलबाट पत्रकार एवं मानवअधिकारकर्मी राजनप्रसाद कुइँकेल विभूषित हुनुभएको छ । विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई शुक्रबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति पौडेलले पत्रकार कुइँकेललाई जनसेवाश्री पदकबाट सुशोभित गर्नुभएको हो ।

पत्रकार कुइँकेललाई पत्रकारिताको माध्यमबाट मुलुक र जनताको मानवअधिकार रक्षाका लागि महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपति पौडेलले जनसेवाश्री पञ्चम श्रेणी पदकबाट विभूषित गर्नुभएको हो ।

विभूषित कुइँकेल बिगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले नेपालका प्रतिष्ठित सञ्चार संस्था इमेज च्यानल टेलिभिजन, एभेन्यूज टेलिभिजन, माउन्टेन टेलिभिजन, इमेज एफएम ९७.९, ईमेज न्यूज एफएम १०३.६ जस्ता प्रशारण संस्थाहरूको समाचार तथा समसामयिक सम्बन्ध प्रमुख भएर कार्य गरिसक्नुभएको छ । यसैगरी राष्ट्रिय स्तरका विभिन्न अनलाइन समाचार पोर्टल र राष्ट्रिय स्तरका साप्ताहिक पत्रिकाहरूको पनि नेतृत्व गरिसक्नु भएको छ । उहाँ नेपालको मानवअधिकार क्षेत्रमा पनि बीस वर्षभन्दा समयदेखि अभियानरत हुनुहुन्छ । कुइँकेल प्रतिष्ठित मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपाल शाखाको अध्यक्षसमेत रहिसक्नुभएको छ । नेपाल पत्रकार महासंघ, प्रजातान्त्रिक विचार समाजलगायत संस्थाको विभिन्न हैसियतमा रहेर कार्य गर्नुभएका कुइँकेलले संसारका विभिन्न मुलुकको भ्रमणमा क्रममा नेपालको मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज पनि उठाउँदै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?