टीकाराम र सोनुलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले १३औँ राष्ट्रपति रनिङ शिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा स्वर्णपदक जित्नुभएको छ ।

छात्रमा टीकारामले चार मिनेट ३१.५ सेकेण्डमा दौड पूरा गर्नुभयो । ललितपुरका प्रवीण लिम्बू दोस्रो तथा नुवाकोटाका दिनेश राई तेस्रो हुनुभयो । छात्रामा सोनुले निर्धारित दूरी पाँच मिनेट ३६.३ सेकेण्डमा तय गर्नुभयो । दोलखाकी खिरकुमारी खड्का दोस्रो तथा काठमाडौंकी आयुष्मा आचार्य तेस्रो हुनुभयो ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको छात्र हाइजम्पमा सिन्धुपाल्चोकका नवीन खड्गी पहिलो हुनुभयो । नवीनले १.७३ मिटर उचाइ नाघ्नुभयो । चितवनका समिर चौधरी दोस्रो तथा धादिङका रोजन श्रेष्ठ तेस्रो बन्नुभयो । छात्रामा १.३३ मिटर उचाइ नाघ्नुभएकी काठमाडौंकी अनु भुसाल शीर्ष स्थानमा रहनुभयो । धादिङकै सशिता तामाङ दोस्रो तथा काठमाडौंकी अस्विना कार्की तेस्रो बन्नुभयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको छात्र चार सय मिटर दौडमा मकवानपुरका आयुश नेगीले स्वर्ण जित्नुभयो । आयुशले निर्धारित दूरी ५४.६२ सेकेण्डमा पूरा गर्नुभयो । काभ्रेका प्रदीप माझीले रजत तथा काठमाडौंका सन्तबहादुर दराईले कांस्य जित्नुभयो । सो स्पर्धाको छात्रामा नुवाकोटकी आस्था राईले निर्धारित दूरी एक मिनेट १०.८१ सेकेण्डमा पूरा गर्दै पहिलो बन्नुभयो । रामेछापकी भगवती खड्का दोस्रो तथा भक्तपुरकी ऊर्जा मधिकर्मी तेस्रो हुनुभयो ।

छात्र सटपुटमा रसुवाका विश्वास घले प्रथम हुनुभयो । उहाँले १२.५२ मिटर टाढा फाल्नुभयो । दोलखाका जगनबहादुर श्रेष्ठ द्वितीय तथा काभ्रेका समिर शाह तृतीय हुनुभयो । उक्त स्पर्धाको छात्रामा चितवनकी अप्सरा श्रेष्ठले पहिलो स्थान हात पार्नुभयो । अप्सराले ८.१० मिटर टाढा फाल्नुभयो । रामेछापकी सजिना तामाङ दोस्रो तथा सिन्धुपाल्चोककी विस्म तामाङ तेस्रो हुनुभयो ।

छात्र चार गुणा एक सय मिटर रिलेमा मकवानपुर पहिलो, चितवन दोस्रो तथा सिन्धुली तेस्रो भयो । सो स्पर्धाको छात्रामा चितवन, धादिङ र भक्तपुर क्रमशः शीर्ष तीन स्थानमा रहे ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् । विभिन्न १३ जिल्लाका एक हजार २७० खेलाडीले ५० स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?