एउटै समुदायले देश चलाउन खोजे देश दुर्घटनातिर जान्छः अमरेशकुमार सिंह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले एउटा मात्रै समुदायले देश चलाउन खोजेको भन्दै देश दुर्घटनातर्फ जाने खतरा रहेको बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिंहले देश एउटै समुदायले चलाउन खोजे देश दुर्घटनामा जाने बताउनुभएको हो । उहाँले देश दुर्घटनामा जानुमा चार/पाँच जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री जिम्मेवार हुने बताउनु भयो ।

उहाँले देशलाई भागबन्डाका कारण विगत ३० वर्षमा अगाडी बढाउनुको सट्टा पछाडी धकेलिएको बताउनु भयो । उहाँले हालसम्मका सत्ताले जानि जानि नागरिकता विधेयक पारित नगरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सदनमा सभामुखमार्फत रुलिङ होस् । नागरिकता विधेयक पास हुनुपर्छ । म राज्य व्यवस्था समितिको सदस्य थिएँ पछिल्लो कार्यकालमा । त्यहाँ जानि जानि तत्कालिन सत्ताले नागरिकता विधेयक पास गर्न दिएन । आफ्नो सांसदहरुलाई अल्मल्याइ राख । त्यसमा कोही कसैसँग कम छैन । किनकी नागरिकता समस्या गरिवको छोराछोरीको छ । नागरिकता समस्या उसको छ जो सत्तामा छैन । त्यसकारणले एउटै समुदायले देश चलाउन खोज्नुहुन्छ देश दुर्घटनातिर जाँदैछ । म बारम्बार भन्छु । मेरो भनाई गलत होस् । तर देशको दुर्घटना बचाउनुहुन्छ ? त्यसको जिम्मेवार चार/पाँच जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री हुनेछन् । यति म सदनमा मात्र होइन, संसारको अगाडी उभिएर भन्छु । किनकी ३० वर्षमा नेपाललाई अगाडी बढाउनुको सट्टामा पछाडी धकेलियो भागबन्डाका कारण । गरिवको छोराछोरी नागरिकता पाउनु हुँदैन ।’

उहाँले नागरिकताको सवाल कुनै पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीको छोराछोरीको भएको भए अहिलेसम्म नागरिकता विधेयक पास भइसक्ने टिप्पणी गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?