देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको छ : नेता खनाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको बताउनुभएको छ ।

आईतवार नेकपा(एकीकृत समाजवादी)ले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धी, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै सम्मानित नेता खनालले देशको संस्कृति माथि अन्तर्राष्ट्रिय क्षेत्रबाट अतिक्रमण भइरहेको बताउनुभएको हो ।

उहाँले देशमा सांस्कृतिक संकट गहिरिदै गएको बताउनु भयो । उहाँले पछिल्लो समय कुनै निश्चित धर्मको नाममा ठूला–ठूला भवनहरु बनेको भन्दै आश्चर्य प्रकट गर्नुभयो । त्यसैगरी देशको राष्ट्रियता पनि संकटमा परिरहेको उहाँले बताउनु भयो । सम्मानित नेता खनालले विदेशी सैनिकहरु नेपाल आएर नेपाली सैनिकलाई प्रशिक्षण दिइरहेका भन्दै त्यसको आवश्यकतामाथि प्रश्न उठाउनु भयो । उहाँले विदेशी सेनालाई नेपालमा ल्याउन कसले प्रोत्साहन गरिरहेको छ भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘देशमा आर्थिक संकट छ । सांस्कृतिक संकट झन् गहिरिँदै छ । हाम्रा राष्ट्रिय संस्कृति जो भन्छौँ नि यो राष्ट्रिय संस्कृतिका बिरुद्ध अन्तर्राष्ट्रिय क्षेत्रबाट सांस्कृतिक अतिक्रमण भयावह ढंगले अहिले प्रवेश गरिरहेको छ । म भयावह किन भन्छु भने पछिल्लो पाँच वर्षमा भयानक परिवर्तन भइरहेको छ । यति ठूल्ठूला भवनहरु बनेका छन् एउटा निश्चित धर्मको नाममा । अचम्म छ यो तीन, चार वर्षभित्रमा कत्रो लगानी भएछ देशभरी विचित्रको कुरा छ । सांस्कृतिक संकट पनि बढ्दो छ । राष्ट्रियतामाथि व्यापक अतिक्रमण भइरहेको छ । विदेशीहरुका सैनिक टुकडीहरु यहाँ महिना महिनामा आएर नेपाली सेनालाई प्रशिक्षण दिन्छन् । कति जरुरतको कुरा हो त्यो ? कति छलफल गरेर हामी यो काम गराइरहेका छौँ ? हाम्रो नेतृत्वले कति गम्भिरतापूर्वक यि कुरालाई लिइरहेको छ ? मेरा प्रश्नहरु छन् । यो जरुरत हो कि होइन ? आजसम्म पनि नेपाली सेना त छ त । नेपाली सेनाले देश त बचाएरै राखेको छ । अनेकन महाशक्तिहरुका टुकडी यहाँ ल्याउनुपर्ने आवश्यकता किन परिरहेको छ ? के ले यिनीहरुलाई यस्तो प्रोत्साहन गरिरहेको छ ? राष्ट्रियतामाथिको संकट यसरी खतरामा छ ।’

उहाँले देशको समस्याहरु समाधान गर्नका लागि विचार मिल्ने वामपन्थी शक्तिहरु एकतावद्ध हुनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?