सिटी होटलको आइपीओ बाँडफाँट

Read Time = 3 mins

काठमाडौं । सिटी होटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आइपीओ मंगलबार बाँडफाँट भएको छ । सिटी होटलले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।

यसमा १६ हजार ७४० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताले सेयर हात पारेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यस आइपीओका लागि कुल १९ हजार ७४८ जना आवेदकले आवेदन दिएकामा ९ जनाको आवेदन रद्द भएको हो ।

वैदेशिक रोजगारीमा रहेका आवेदकहरुले बिक्री प्रबन्धकको वेबसाइट र सिटी होटलको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

यता, यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि भने वैशाख २५ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको छ । होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । पहिलो चरणमा सर्वसाधारणलाई छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिएको हो ।

यस्तै, ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?