रूपेश र सुजनालाई मासिक भत्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले बुद्धिचालमा च्याम्पियनद्वय रूपेश जैसवाल र सुजना लोहनीलाई मासिक १० हजार रुपैयाँ तलब भत्ता उपलब्ध गराउने भएको छ । दुवै फिडेमास्टर रूपेश र सुजनालाई महासंघले पहिलो पटक मासिक भत्ता उपलब्ध गराउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो ।

महासंघले एक वर्षसम्म मासिक १० हजारका दरले भत्ता उपलब्ध गराउने जनाएको छ । चेस इतिहासमा पहिलो पटक खेलाडीले मासिक भत्ता पाउन लागेका हुन् । रूपेश र सुजनाले हालै नेसनल चेस च्याम्पियनसिपको उपाधि जित्नुभएको थियो । महासंघले राष्ट्रिय च्याम्पियनलाई मासिक भत्ता उपलब्ध गराउनका लागि मंगलबार नै दाना उत्पादक कम्पनी सागर फिड्ससँग सम्झौता गरेको छ ।

सम्झौतासँगै सागर फिड्सले महासंघलाई वार्षिक दुई लाख ४० हजार उपलब्ध गराउनुपर्नेछ । जसबाट महासंघले राष्ट्रिय च्याम्पियनलाई भत्ता उपलब्ध गराउनेछ ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गौतमले खेलाडीलाई प्रोत्साहन स्वरूप यस कार्यको सुरुवात गरेको र यसलाई साकार पार्न सहयोग गरेकोमा सागर फिड्सलाई धन्यवाद दिनुभयो । सागर फिड्सका पराजुलीले खेलाडीलाई प्रोत्साहन गर्न र खेलाडीलाई व्यावसायिक बनाउन सहयोग गरेको बताउनुभयो । यस्तै, पुरुषतर्फ नेपाल च्याम्पियन रूपेशले महासंघको यो कार्य एकदमै राम्रो रहेको बताउनुभयो । सुजनाले यस कार्यले खेलाडीलाई व्यावसायिक बनाउन मद्दत गरेको र खेलाडीलाई प्रोत्साहन मिलेको धारणा राख्नुभयो । सम्झौतापत्रमा महासंघका अध्यक्ष विदुरप्रसाद गौतम र सागर फिड्सका प्रबन्ध निर्देशक ज्ञानेन्द्र पराजुलीले हस्ताक्षर गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?