ठेकेदारले काम नगरेपछि सांसद नै उत्रिए सडकमा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । ठेकेदारले अति गरेपछि खोटाङ प्रदेश ‘क’बाट निर्वाचित कोशी प्रदेश सासंद पाँचकर्ण राई ( पिके)को नेतृत्वमा राष्ट्रिय राजमार्ग नै बन्द गरेर चक्काजाम गरिएको छ । सगरमाथा राजमार्गको गाईघाट-दिक्तेल सकडखण्डअन्तर्गत खोटाङतर्फको ४८ किलोमिटर सडक चार वर्षमा कालोपत्रे गर्ने ठेक्का लिएको ठेकेदारले सात वर्ष बित्दा पनि कालोपत्रे नगरेपछि आइतबार मध्यपहाडी लोकमार्गअन्तर्गत महुरेमा डेढ घण्टा चक्काजाम गरिएको हो । महुरेदेखि राजापानीको सिमपानीसम्म २२ किलोमिटर भारत कन्ट्रक्सन-सिद्धीशाही जेभी र राजापानीको सिमपानीदेखि फोक्सिङटारसम्म २६ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का देवनारायण पवन मैनाचुली खम्पाचे जेभीले लिएको थियो । तर, दुवै प्याकेजमा कालोपत्रे गर्नुको सट्टा सडक अलपत्र बनाएर ठेकेदारहरू सम्पर्कविहीन भएपछि सडक प्रयोग गर्दै आएका स्थानीय नागरिकसहितको उपस्थितिमा चक्काजाम गर्नुपरेको सांसद राईले बताउनुभयो ।

अब जेठको पहिलो साताबाट कालोपत्रेको काम सुरु नभए गाउँगाउँबाट मान्छे उतारेर राष्ट्रिय राजमार्ग नै अनिश्चितकालीन बन्द गरिने सांसद राईले चेतावानी दिनुभएको छ । ठूलाठूला नेताको आडमा लागेर ठेकेदारले सडक कालोपत्रे नगर्दा बर्खामा हिलाम्मे हुने र हिउँदमा धुलाम्मे हुँदा स्थानीयलाई यात्रा गर्नै सकस भएको र सडककै कारण कतिपयको जीउज्यान नै अंगभंग भएको राजापानीका वडाध्यक्ष अनिस कार्कीले बताउनुभयो ।

सडकको ठेक्का लागेपछि सातजना सिडिओ र १७ जना ठेकेदार फेरिँदा पनि सडक कालोपत्रे नहुुनु दुःखद पक्ष रहेको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । बर्खाको समयमा त पैदल हिँड्नै गाह्रो हुने वडाध्यक्ष राईको भनाइ छ । चक्काजाममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई पनि सहभागी हुनुहुन्थ्यो ।

चार वर्षमा कालोपत्रे हुनुपर्ने सडक सात वर्षमा पनि बनेन
सिद्धीशाहीले चार वर्षभित्र कालोपत्रे गर्ने भनी सडक विभागसँग २०७३ असार ३० गते सम्झौता गरेको थियो । ४१ करोड ५० लाख बजेटमा सम्झौता गरेको सिद्धीशाहीले २०७७ असार २९ गते कालोपत्रेको काम सक्नुपर्ने थियो । यस्तै, मैनाचुलीले पनि चार वर्षमा कालोपत्रे गर्ने भनी सडक विभागसँग २०७३ साउन ११ गते सम्झौता गरेको थियो । ५५ करोड ८७ लाखमा सम्झौता गरेको मैनाचुलीले २०७७ साउन १० गते कालोपत्रेको काम सक्नुपर्ने थियो ।

तर, हालसम्म कालोपत्रेको प्रगति शून्य रहेको दिक्तेल-गाईघाट सडक विभागका योजना प्रमुख गोपाल खकुरेलले बताउनुभयो । खकुरेलका अनुसार सिद्धीशाहीको आगामी असारसम्म म्याद छ । मैनाचुली भने प्रक्रियामा नआएपछि म्याद गुज्रिएको छ ।

ठेकेदारले काम नगरेपछि सिद्धीशाहीबाट ६ करोड र मैनाचुलीबाट चार करोड मोविलाइजेसन पेस्की तथा एक करोड ब्याज तानिएको छ । मैनाचुलीको ठेक्का तोडिए पनि अदालतले अन्तरिम आदेश दिएको थियो । सिद्धीशाहीले साउनसम्म काम नगरे उसको पनि ठेक्का तोडिने खकुरेलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?