मौलाकाली केबलकार सञ्चालनमा

Read Time = 4 mins

काठमाडौं । मौलाकाली केबलकार सोमबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गैंडाकोट–१ स्थित मौलाकाली केबलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण गरेर केबलकार उद्घाटन गर्दै शिथिल अर्थतन्त्र उकास्न मौलाकालीजस्ता पर्यटकीय पूर्वाधारको महत्व हुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको भन्दै तनहुँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएकाले सो क्षेत्रलाई आर्थिक समृद्धिको क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो ।
मौलाकाली केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको शिथिल अर्थतन्त्र उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिन र विकासका काम समयमै पूरा हुने वातावरण बनाउन आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहनुभएका ढकालले निजी क्षेत्र तोकिएको समय, तोकिएकै बजेट र तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छ भन्ने उदाहरण मौलाकाली केबलकारसमेतले प्रस्तुत गरेको बताउनुभयो ।

मुलुकका सबै प्रदेशमा कम्तीमा एउटा यस्तै पर्यटकीय पूर्वाधार निर्माणको काम तीव्र पारेको भन्दै उहाँले बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार पनि केही हप्ताभित्रै सञ्चालनमा आउने जानकारी गराउनुभयो ।

अध्यक्ष ढकालका अनुसार मौलाकालिका मन्दिरको साढे चार सय वर्ष पुरानो इतिहास छ । उक्त मन्दिरबाट दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो । नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमिसहितका सम्पदाको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपालीसमक्ष पु¥याउन केबलकारसहितका नयाँ पर्यटकीय संरचनाले सघाउ पुग्ने विश्वास लिएको छ ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘हामीलाई प्रकृतिले अपार सम्पदा बरदान दिएको छ । पर्यटन, प्रकृति र पर्यावरणमा हामीले गर्न सक्ने सम्भावना असंख्य छन् । त्यसमा हामीले हाम्रो भिजन र इच्छाशक्ति मिसायौँ र प्रविधि र पुँजी जोड्न सक्यौँ भने साँच्चिकै मिराकल हुन्छ भन्ने मेरो आत्मविश्वास छ । मलाई लाग्छ, यो मुलुकको निजी क्षेत्र निश्चय पनि विकास र परिवर्तनमा यस्तै मिराकल ल्याउन सक्षम छ ।’

करिब १२ सय मिटर लम्बाइको केबलकारमा १४ गोण्डोला रहेका छन् भने फेदीबाट चढेपछि पाँच मिनेटमा मन्दिरनजिकै रहेको टप स्टेसनसम्म पुग्न सकिन्छ । माथिल्लो स्टेसनसँगै बनिरहेको होटलमा ६० कोठा, ब्यांकेट हल, स्विमिङ पुल र रेष्टुरेन्ट रहेका छन् । परियोजनाको लागत करिब दुर्ई अर्ब रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?