राष्ट्रपतिद्वारा बजेट अधिवेशन आहृवान

मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न अध्यादेश जारी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आहृवान गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९१ को उपधारा (१) बमोजिम वैशाख २४ गते आइतबार दिउँसो ४ बजे संसद् अधिवेशन आहृवान गर्नुभएको हो । यसअघि सरकारले राष्ट्रपतिसमक्ष बुधबार वैशाख २४ गतेदेखि संसद्को बजेट अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।
राष्ट्रपतिले अधिवेशन आहृवान गरेको पत्र संसद् सचिवालयमा पुगिसकेको संसद् सचिवालय स्रोतले जनाएको छ । पुस २५ गते सुरु भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन बैशाख १५ गते शुक्रबार समापन भएको थियो । जेठ १५ गते आर्थिक वर्षको नयाँ बजेट ल्याउनुपूर्व संसद्मा नीति तथा कार्यक्रम पेस गरेर पारित गर्नुपर्ने व्यवस्था छ ।

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गर्नुभएको हो । राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेको जानकारी बुधबार शीतल निवासले दिएको छ । उक्त अध्यादेश जारी भएसँगै सरकारले अध्यादेशमार्फत मिटरब्याजीलाई कारबाही गर्ने बाटो खुलेको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरिएको भनिएको छ ।

सो अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने प्रावधान गरेको छ । सरकारले यसअघि चैत १९ मा आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरूसँगको सम्झौताका क्रममा फाष्ट ट्र्याकबाट कानुन ल्याएर मिटरब्याजीलाई कारबाहीको प्रक्रिया अघि बढाउने भनेको थियो । मिटरब्याज पीडितका मागबारे उजुरी लिन र अनुसन्धान गर्न सरकारले तीन सदस्यीय आयोग गठन गरी कामसमेत थालिसकेको छ । यो अध्यादेशअनुसार मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न थप मद्दत पुग्ने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?