देशको अनुहारमा कालो पोत्नेहरू

हिमालय टाइम्स
Read Time = 10 mins

अहिले नेपाल प्रहरीको अनुसन्धानबाट तथाकथित प्रतिष्ठित, राजनीतिमा महापुरुष दाबी गर्ने केही मानिसहरूको मुखौटो उघ्रिएको छ । प्रमाणित होला नहोला, कारबाही होला वा नहोला त्यो पछि थाहा हुने हो । तर यतिखेर देशको अनुहारमा कालो पोत्नेहरूलाई निर्वस्त्र गराउन सफलता पाएकोमा अनुसन्धानमा सक्रिय प्रहरी अधिकृत कर्मचारी र मन्त्रालयको नेतृत्व गर्नु हुने वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बधाई दिनुपर्छ । यो प्रशंसनीय कार्यको निरन्तरता होस् शुभकामना पनि ।

छिमेकी सानो देश भुटानमा करिब ४० वर्ष पहिलेदेखि नै लोकतन्त्रको आन्दोलन चलेको छ । यद्यपि यो आन्दोलनको जग भने सन् साठीको दशक देखिकै थियो । ४० वर्षपहिले जब भुटानी मानव अधिकार आन्दोलनमा टेकनाथ रिजालको नेतृत्व सुरुभयो त्यसले नयाँ आयाम थप गर्न पुग्यो । तत्कालीन भुटानी राजाले नेपाली समुदायको समग्रमा जातीय उन्मूलनको नियत राखे र लोकतान्त्रिक आन्दोलनलाई कुल्चने प्रयास गरेपछि एक लाखभन्दा बढी नेपाली समुदायका भुटानी नागरिकहरू नेपालमा शरणार्थी भएर आए । वास्तवमा शरणार्थीको यो विषय भुटानसँग मात्रै थिएन, लोकतन्त्रको दुहाई दिने सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतको तत्कालीन सत्ताको सुनियोजित योजना पनि थियो । नेपालमा तत्कालीन निर्दलीय पञ्चायती सत्ताले रिजाललाई नेपालमा नै पक्राउ गरी भारतीय भूमि हुँदै भुटान पठाएपछि भारतीय सहकार्य भुटानी राजासँग पुष्टि भएको हो । नेपालको सत्ता पनि भारतीय नेतृत्वसँग सुहाउलो हुन भुटानी राजालाई खुशी राख्न चान्थ्यो ।

यसका साथै नेपालमा उठ्न लागेको लोकतान्त्रिक आन्दोलनको ज्वारभाटालाई रोक्नसमेत भुटानी लोकतान्त्रिक आन्दोलनविरुद्ध नेपाली सत्ता त्यस समयमा सक्रिय भएको थियो । यहीबाट सुरु भयो भुटानी शरणार्थी समस्या र नेपालका मूर्धन्यहरूको आजको तस्वीर । अहिले पनि भुटानी मानव अधिकार आन्दोलनका प्रतीक टेकनाथ रिजाल नेपालमा अनेक समस्याहरूको सामना गर्दै भए पनि स्वाभिमानी भुटानी नागरिकका पक्षमा लडिरहनु भएको छ । अर्कोतिर भुटानी समस्यालाई भारतीय सरकारले जटिल बनाएको हुनाले तेस्रो विकल्पका रूपमा नेपालमा शरण लिइरहेका भुटानी नागरिकहरूलाई अमेरिका, अष्ट्रेलिया, क्यानडा जस्ता राष्ट्रहरूमा पुनस्र्थापन गर्ने संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोगको निर्णय र अमेरिकीसहितका सरकारहरूको सकारात्मक पहलमा भुटानी शरणार्थीहरूलाई नेपालबाट विदेशमा पुनस्र्थापनको काम भयो । तर नेपाली राजनीतिकर्मी र केही प्रशासनिक मानिसहरूको कुण्डलीले यस्तो संवेदनशील मानवीय विषयलाई समेत आर्थिक उपार्जनको उपायका रूपमा प्रयोग गरेको लज्जास्पद घटना सार्वजनिक भएको छ ।

भुटानी शरणार्थीका नाममा अनेक नेपाली नागरिकहरूलाई भुटानी नागरिकता, पासपोर्ट र भिसा दिलाउने र उनीहरूबाट लाखौं शुल्क असुल गर्ने धन्दा सामान्य अपराध हुनसक्दैन । आफूलाई घेर क्रान्तिकारी, अमेरिकी साम्राज्यवादविरोधी दाबी गर्दै १० वर्षसम्म सशस्त्र हिंसा चलाएका नेता र उनीहरूको परिवार नै यस निकृष्ट खेलमा संलग्न भएको प्रतिवेदन आउनु र उनीहरूको संलग्नता भएको प्रमाण जुट्नुले वास्तवमा स्वाभिमानी नेपाली जनताको शीर निहुरिएको छ । माओवादी नेतृत्वमा रहेर सशस्त्र हिंसाको अभियानमा सक्रिय र नयाँपुस्ताबाट जाँगरिलो मानिने टोपबहादुर रायमाझी । उहाँको छोरा, अनि तत्कालीन गृहमन्त्री, माओवादीमा युद्ध योजनाकार मानिने रामबहादुर थापा बादल जस्ताको परिवारको समेत संलग्नता देखिनु अत्यन्त दुःखद् र खेदजनक छ । अहिले पक्राउ पूर्र्जी जारी भएको समाचार आउनासाथ टोपबहादुर रायमाझी भूमिगत हुनुले पनि उहाँको संलग्नतालाई प्रमाणित हुने आधार प्रदान गरेको छ । माओवादी कालखण्डको फरक मूल्यांकन हुनु आवश्यक छ । तर त्यसपछिको शान्तिप्रक्रियामा आएदेखिका अनेक यस्ता गैरकानुनी व्यापारव्यवसायमा तत्कालीन माओवादी नेताहरूको संलग्नता हुनु आफैंमा खेदजनक र आश्चर्यजनक छ ।

माओवादी पार्टीमा लाग्नेहरूको प्रथम दीक्षा नै अमेरिकी साम्राज्यवादविरुद्ध, भारतीय विस्तारवाद र आन्तरिक सामन्तवादविरुद्ध भन्ने हुन्छ । कथित साम्यवादीहरूले निरन्तर अविकसित राष्ट्रका नागरिकलाई मुर्ख बनाउन प्रयोग गर्ने यो सूत्र तथाकथित राष्ट्रवादीहरूले समेत उपयोग गरिरहेका छन् । तर भूमिगत राजनीति परित्याग गरी खुला राजनीतिमा आउनासाथ त्यही साम्राज्यवादी अमेरिकामा मानिस निर्यात गर्न अवैधानिक उपाय अवलम्बन गर्ने र आर्थिक संग्रह गर्ने कलुषित कार्य उनीहरूबाट भएकोमा सायद कुनै प्रायश्चित्त हुँदैन होला ।

कुनै आत्मालोचनाले पनि यस्तो काम क्षम्य हुने छैन होला । नेपालबाट अनेक संघसंस्थाका नाममा, राजनीतिकर्मीसँगको सम्बन्धका नाममा, मानिसलाई विदेशमा निर्यात गर्ने धन्दा पर्याप्त हुने गरेको विगतमा नसुनिएको होइन । कतिपय यस्ता अनेक कन्सल्ट्यान्सी, एजेन्सीहरूबाट प्रत्यक्ष वा अप्रत्यक्ष यस्तो कालो काम चलिरहेको हुनसक्छ । मानिस निर्यातको खेतीबाट कतिपय मानिसहरूको राजनीतिक, सामाजिक र आर्थिक उद्योग फष्टाएको देखिन्छ । तर आफ्नो देशको नागरिकलाई अर्को देशको प्रमाणसिद्ध गरी यसरी बेच्ने कामको भण्डाफोर पहिलो पटक व्यापक रुपमा भएको छ । यस कार्यमा सहयोग गरेको आशंकामा नेपाल सरकारका सचिवसमेत पक्राउ पर्नुले यो धन्दाको तह निकै गहिरो र विस्तृत भएको अनुमान गर्न सकिन्छ ।

सामान्यरूपको सेटिङबाट यस्तो कालो धन्दा चल्नु संभव हुँदैन । अहिलेसम्म जुनरुपमा अनुसन्धान भएको छ र जसरी अभियुक्तहरू धमाधम पक्राउ परिरहेका छन् यो क्रम कसैको दबाबमा पनि टुट्नु हुँदैन । हो, पक्राउ पुर्जी जारी हुने वित्तिकै वा अभियोग लाग्ने वित्तिकै दोषी वा अपराधी भन्न मिल्दैन, हुँदैन । प्रमाणका आधारमा अदालतले यो निक्र्यौल गर्ने छ । तर अब समाजले एउटा निश्चित धारणा बनाइसकेको हुन्छ । रामबहादुर थापा ‘बादल’ वा टोपबहादुर रायमाझीहरू अहिले माओवादी आन्दोलनबाट विरत हुनुभएको छ । उहाँहरूको संलग्नता राजनीतिक रुपमा हेर्ने हो भने यतिखेर प्रमुख प्रतिपक्ष नेकपा एमालेसग छ । कतै माअ‍ेवादी परित्याग गरेको कारण उहाँहरूलाई यस्तो भयानक निन्दनीय घटनामा संलग्न भएको प्रमाणित गर्ने प्रयास हो कि भनेर कसैले पनि सोच्ने अवस्था सिर्जना हुन न दिन सम्बन्धित निकाय सचेत हुनु जरुरी छ । अर्कातिर कतिपय व्यक्तित्वसँग प्रतिशोध साध्ने अवसरका रूपमा घटनामा संलग्न भएको भनी दबाब सिर्जना गर्ने, मुछ्ने प्रयास पनि हुनसक्छ । यसमा अनुसन्धान गर्ने अधिकृतहरू सावधान हुनुपर्ने देखिन्छ । यो विषय जति लज्जास्पद छ त्यति नै संवेदनशील पनि छ भन्ने बिर्सनु हुँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?