नक्कली भुटानी शरणार्थी प्रकरणको लहरो

एकपछि अर्को तानिँदै ‘हाई प्रोफाइलहरू’, राप्रपाद्वारा गृहको प्रशंसा

यज्ञराज पाण्डे
Read Time = 19 mins

काठमाडौं । नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा स्थानान्तरण गर्ने भन्दै संयुक्त राष्ट्रसंघ (युएन)को पहलमा धेरैजसो शरणार्थीहरू अमेरिका पुगिसकेका छन् । नेपालमा बाँकी रहेका केही भुटानी शरणार्थी अमेरिका पुग्न बाँकी छन् भने केही शरणार्थीको प्रक्रिया सुरु हुनै बाँकी छ । तेस्रो मुलुकमा पठाउने सम्बन्धमा सरकारले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा भुटानी शरणार्थी समस्या समाधानका लागि कार्यदल बनाएको थियो ।

पहिलो चरणको प्रमाणीकरणको क्रममा छुटेका केही शरणार्थीको प्रमाणीकरणसमेत गर्ने यो कार्यदलको कार्यक्षेत्र थियो । सो कार्यदलले कुल ४२९ जना भुटानी शरणार्थीको प्रमाणीकरण बाँकी रहेको प्रतिवेदन दिएको थियो । तर, त्यसपछि पनि आफू छुटेको भन्दै केही निवेदन आउन थालेपछि सरकारले थप अनुसन्धान गरी नामावली संकलनको काम थालेको थियो । यसैक्रममा राज्यका ‘हाई प्रोफाइल’हरूले मोटो रकम लिएर नक्कली शरणार्थी तयार पारी अमेरिका पठाउने धन्दाको सुरुवात भएको थियो ।

सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला सुरु भएको थियो प्रकरण
मोरङ स्थायी घर भई ललितपुरमा बस्ने केशव दुलाललाई शरणार्थीको प्रमाणीकरण र तेस्रो मुलुकमा पठाउने पद्धतिबारे जानकारी थियो । किनभने उनी २०६६ जेठदेखि २०६७ माघ २३ गतेसम्म सुजाता कोइराला परराष्ट्रमन्त्री बन्दा उहाँको स्वकीय सचिव भई काम गरिसकेका थिए । त्यतिबेला नै केशवलाई शरणार्थीको प्रमाणीकरण कसरी हुन्छ भन्ने विषयमा जानकारी थियो । शरणार्थीको प्रमाणीकरण र तेस्रो मुलुकमा पठाउने प्रक्रियाबारे जानकार रहेका केशवले प्रमाणीकरणमा छुटेका शरणार्थीको नामावली संकलनको काम सुरु भएसँगै नयाँ नामावलीमा नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा असुल गर्ने योजना बनाएको प्रहरीले बताएको छ । केशवको यो योजनामा ललितपुरकै सानु भण्डारीसमेत जोडिन पुगे । भुटानी शरणार्थीको नयाँ लिस्टमा नक्कली शरणार्थीलाई पनि समावेश गराई अमेरिका पठाउन सकिने योजना र त्यसबापत मोटो रकम हात पर्ने योजनामा गृह मन्त्रालयको समेत सहयोग चाहिने भएपछि गिरोहमा गृहमन्त्री, गृहसचिव लगायतका पदाधिकारीहरू समेतको संलग्नता भएको थियो । त्यसरी राजनीतिक नेतृत्व प्रयोग गरी नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्लानको सुरुवात भएको हो ।

सानु भण्डारीबाट टोपबहादुरसम्म पुग्यो सम्पर्क
व्यक्तिगत सम्बन्ध राम्रो भएका कारण सानु भण्डारीबाट यो योजनाका बारेमा कुराहरू टोपबहादुर रायमाझीकहाँ पुग्यो । यसमा रायमाझी पनि संलग्न भएको देखिन्छ । योजनाबमोजिम टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसँगको पनि भेटघाट बढ्यो । केशव दुलाल, सानु भण्डारी र टोपबहादुर रायमाझी मुछिएको विवादमा डा. इन्द्रजित राईसमेत जोडिएपछि नक्कली शरणार्थीको विषयमा आर्थिक पाटोसमेत सुरु भयो । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पैसा तिर्न सक्ने नक्कली शरणार्थीहरू पनि जोडिन पुगे । नक्कली शरणार्थी जोड्न पूर्व तथा पश्चिममा विभिन्न व्यक्तिहरूले जिम्मेवारी लिएका थिए ।

ग्राहकहरू तयार भएपछि उनीहरूबाट किस्ताबन्दीमा रकम उठाउन थालियो । शरणार्थी प्रमाणीकरणसम्बन्धी कतिपय सक्कली तथा कतिपय नक्कली कागजात तयार पारियो । सरकारी संयन्त्रको प्रयोगसमेत गरेर प्रमाणीकरणसम्बन्धी केही कागजात तयार पारियो । सरकारी संयन्त्रबाटै केही सर्कुलरसमेत जारी भयो र उनीहरूले एजेन्टहरूमार्फत प्रतिव्यक्ति ४५ लाखसम्म उठाए । त्यसपछि मन्त्रालयबाट गर्नुपर्ने कामका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेतको योजनामा संलग्नता देखिन्छ जसले गर्दा मन्त्रालयबाट काम सजिलै बन्ने अवस्था बनेको थियो । त्यसपछि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको काममा झनै सहयोग पुग्यो । उनीहरूले ३३ करोडभन्दा बढी रकम उठाइसकेको प्रारम्भिक तथ्यांक यतिबेला प्रहरीसँग छ ।

बादलको मन्त्री पद गएपछि अख्तियारमा मुद्दा
तर पछि तत्कालीन गृहमन्त्री रामबहादुर थापाको मन्त्री पद गएपछि अमेरिका जाने आसमा प्रतिव्यक्ति ४५ लाखसम्म बुझाएका पीडितहरूबीच तनाव सृजना भयो । सेटिङमा पैसा बुझाइसकेको र पैसा लिइसकेकाहरू नै सरकारबाट बाहिरिएपछि आफ्नो काम नहुने हो कि भन्ने चिन्ताले पीडितहरूले एजेण्टमार्फत पैसा फिर्ताको माग गरे । तर, एजेन्टहरूले पैसा मन्त्री, मन्त्रीका श्रीमती तथा छोराहरू, नेता तथा उनका छोराहरू, तत्कालीन सुरक्षा सल्लाहकार र उनका छोरालाई बुझाइसकेको कारण फिर्ता गर्न नसक्ने बताए । त्यसपछि तनावमा आएका पीडितहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगायतका निकायमा उजुरी दिन थाले ।

यसरी मुछिए तत्कालीन गृहमन्त्री खाँण र गृहसचिव पाण्डे
तत्कालीन गृह मन्त्रालयकै सल्लाहकार, मन्त्री लगायतको मिलेमतोमा करोडौँ ठगी भएको भन्दै उजुरी परेपछि सो उजुरीको बोधार्थ गृह मन्त्रालयसम्म पुग्यो । २०७८ साउन २७ गते गृह मन्त्रालयमा सरुवा भई आएका सचिव टेकनारायण पाण्डेले गिरोहका सदस्यहरूलाई सम्पर्क गरी यस विषयमा के कसो भएको हो भनेर जानकारी लिन थाले । गिरोहका सदस्यहरू केशव दुलाल र सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, एमालेका नेता लगायतले पैसा बुझेको तर काम हुन नसकेको भन्दै काम भएमा बरु अहिलेको सचिव र मन्त्रीलाई पनि पैसा दिने आश्वासन देखाए ।

गिरोहको सदस्यबाट पैसा पाइने प्रलोभन पाएपछि गृहसचिव टेकनारायण पाण्डेले मन्त्रालयको काम आफूले मिलाइदिने भनेर आश्वासन दिएको खुलेको छ । त्यसका लागि मन्त्रीसँग पनि कुरा गर्नुपर्ने र मन्त्रीलाई पनि पैसा दिनुपर्ने सर्त पाण्डेको थियो । त्यतिबेला गृहमन्त्री कांग्रेसका बालकृष्ण खाँण थिए । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग यस विषयमा गरिएको कुराकानीपछि गिरोहका सदस्यहरू केशव दुलाल तथा सानु भण्डारीबाट पैसा लिने कामको सुरुवात भयो ।

गृहसचिव टेकनारायण पाण्डेले गृहमन्त्रीसँग कुराकानी गरेपछि गृह मन्त्रालयबाटै भुटानी शरणार्थीको तेस्रो मुलुकमा स्थानान्तरणसम्बन्धी केही परिपत्र पनि गरिएको थियो । प्रहरीका अनुसार गृहमन्त्री बालकृष्ण खाँणबाट स्वीकृत गराएर गृहसचिव पाण्डेले केही परिपत्र गरेका थिए । त्यसै प्रयोजनका लागि भन्दै पाण्डेले ५० लाख रुपैयाँ लिएको पाइएको प्रहरीको दाबी छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेमार्फत नै गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेट गरेको सन्देश शर्माले आफ्नो बयानमा उल्लेख गरेका छन् ।

हालसम्म आठजना पक्राउ, अन्यको खोजी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म प्रहरीले आठ जनालाई पक्राउ गरिसकेको छ भने अन्य व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेको छ । सुरुवाती चरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट खुल्न आएका आरोपितमध्ये मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई चैत १२ गते पक्राउ गरिएको थियो ।

त्यसको तीन दिनपछि अर्थात् चैत २०७९ चैत १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका १० को पूर्व वडा अध्यक्ष सागर राईलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट खुल्दै आएका आरोपितहरूमध्ये भागेर भारत पुगेका दाङका सन्देश शर्मालाई भारतबाटै नेपाल झिकाउन प्रहरी सफल भएको थियो । भारतको पन्जाबमा लुकेर बसिरहेका शर्मालाई प्रहरीले नेपाल आउन बाध्य बनाएपछि उनलाई पनि गत चैत २९ गते नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूलाई संगठित ठगीमा काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गर्दै गर्दा वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परे । त्यसको एक दिनपछि अर्थात् वैशाख २० गते गृह मन्त्रालयका तत्कालीन सचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सोही प्रकरणमा पक्राउ परे । सोही दिन नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार हालसम्म प्राप्त भएको जाहेरी तथा उजुरी अध्ययन गर्दा कुल ३३ करोड रुपैयाँको ठगी भएको पाइएको छ । तर, पीडितको संख्या बढिरहेका कारण ठगी भएको रकम पनि बढ्न सक्ने र करिब ४० करोड रुपैयाँको ठगी भएको हुनसक्ने उहाँको अनुमान छ । एसएसपी केसीका अनुसार अपराध अनुसन्धान कार्यालयले सुरुवाती अनुसन्धान गरी केही व्यक्तिलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा बुझाइसकेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गर्ने, बयान लिने, अन्य व्यक्तिहरूलाई पक्राउ गर्ने काम काठमाडौं प्रहरी परिसरले गरिरहेको छ । अपराध अनुसन्धान कार्यालयले व्यक्तिलाई पक्राउ गर्न र प्रमाण जुटाउने लगायतको काममा प्रहरी परिसरलाई सहयोग गरिरहेको छ । एसएसपी केसीका अनुसार पहिलो चरणको दुईवटा जाहेरीबाट कुल ८१ जनाले आफूहरू पीडित रहेको र ठगी भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएपछि यो प्रकरणको अनुसन्धान सुरुवात भएको थियो । पीडितहरूले २०७९ जेठ १८ मा पहिलोपटक यस प्रकरणको जाहेरी दिएका थिए । जाहेरीमा भिआइपी र भिभिआइपीसमेत मुछिएको भन्दै प्रहरीले यस प्रकरणको सूक्ष्म अनुसन्धान गरी प्रमाण संकलनको काम गरेर मात्र व्यक्तिलाई पक्राउ गर्न सुरु गरेको थियो । यही प्रकरणमा हालसम्म प्राप्त जाहेरीमा पीडितको संख्या कुल १४५ जना पुगिसकेको छ । पीडितको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

प्रहरी भन्छ- रायमाझी आफैँ आउने सम्भावना छ
भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएको चर्चा चलिरहेका बेला उनी काठमाडौंमा रहेको खुलेको छ । रायमाझीनिकट स्रोतका अनुसार उनी अहिले काठमाडौंमा छन् । संसद् सदस्यसमेत रहेका रायमाझी बुधबार भैरहवा विमानस्थलबाट काठमाडौं आउन लागे पनि अन्तिम समयमा टिकट क्यान्सिल गरी सडकमार्ग हुँदै उनी काठमाडौं आएको स्रोतको दाबी छ ।

उनी अहिले कानुनी परामर्शमा रहेको बुझिएको छ । बहालवाला सांसद रायमाझीले कानुनी सल्लाहपछि प्रहरीमा आफैँ उपस्थित हुने सम्भावना रहेको छ । प्रहरीले सम्पर्कविहीन भएका रायमाझी काठमाडौंमै हुनुले राजनीतिक समन्वयमा प्रहरीकै संरक्षणमा रहेको हो वा उनी आफ्नै सक्रियतामा गोप्य तवरले रहेको हो त्यसबारेमा केही खुल्न नसकेको जनाएको छ । तर, प्रहरीले रायमाझी सम्पर्कविहीन नै रहेको बताएको छ । बुधबार पक्राउ पुर्जी जारी हुँदा अर्घाखाँचीको एक कार्यक्रम सकाएर सभामुख देवराज घिमिरेसँगै बुटवल झरेर रायमाझी काठमाडौंका लागि हिँडेका थिए । सभामुख घिमिरे भैरहवा विमानस्थलबाट काठमाडौं आए पनि रायमाझी एकाएक भैरहवाबाट सम्पर्कविहीन भएको प्रहरीले बताएको छ । रायमाझीका छोरा सन्दीपलाई बुधबार पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर थुनामा राखेको छ ।

संलग्नहरू कानुनको दायरामा आउँछन् : महत
नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ । पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा प्रवक्ता महतले भन्नुभयो, ‘यो जघन्य अपराध हो, यस्तो खाले क्रियाकलापको जति निन्दा गरे पनि अपर्याप्त हुन्छ ।’ उहाँले उक्त प्रकरणमा दोषी देखिए नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि उम्किन नपाउने स्पष्ट पार्नुभयो । ‘यसमा संलग्न हुनेहरू जो-जो सहभागी छन्, उनीहरूको सजायको दायरामा आउनुपर्छ, आउँछन्’ उहाँले भन्नुभयो ।

गृहको अग्रसरता र सक्रियता प्रशंसनीय : राप्रपा
राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनमा प्रहरी प्रशासनले लिएको अग्रता र सक्रियता अग्रसरता प्रशंसनीय रहेको जनाएको छ । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनमा गृह प्रशासनको अग्रसरता र सक्रियता प्रशंसनीय रहेको बताउनुभएको हो ।

यस प्रकरणमा जोसुकै संलग्न भए पनि कारबाही गर्नुपर्ने बताउँदै उहाँले ‘हाई प्रोफाइल’ संलग्नता खुल्दै गएकाले राजनीतिक हस्तक्षेप र मिलेमतोको सन्देह बढेर गएको जिकिर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?