मेस्सीले माफी माग्नुभयो

Read Time = 3 mins

पेरिस । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड लियोनल मेस्सीले माफी माग्नुभएको छ । क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेको विषयमा मेस्सीले माफी माग्नुभएको हो । ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबको निर्णय पर्खिरहेको छु,’ मेस्सीले एक भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘मैले साउदी अरेबियाको यो यात्रा पहिले रद्द गरेको थिएँ । यस पटक मैले रद्द गर्न सकिनँ ।’

साउदीको भ्रमणपछि पिएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको थियो । मेस्सी साउदी अरेबियाको पर्यटन राजदूतको भूमिकामा रहनुभएको छ । यसै वर्ष अर्जेन्टिनालाई विश्वकप विजेता बनाउँदै विश्व च्याम्पियन बन्नुभएका मेस्सीले यसै सिजनको अन्त्यमा पिएसजी छोड्ने तयारी गरिरहनुभएको छ ।

पछिल्लो समय मेस्सी र क्लबबीच देखिएको असमझदारीका कारण उहाँ सम्झौता नथप्ने निष्कर्षमा पुग्नुभएको हो । निलम्बन अवधिमा मेस्सीले पिएसजीबाट प्रशिक्षण गर्न वा खेल खेल्न पाउनुहुने छैन । मेस्सीले पिएसजीका लागि सबै प्रतियोगिताका ७१ खेलमा ३१ गोल र ३४ गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएको छ ।

दुई साताको प्रतिबन्धपछि मेस्सीले ट्रोएस र एजासियोविरुद्धको खेल गुमाउनुहुनेछ । लिग वानमा पाँच खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको पिएसजीले स्पष्ट पाँच अंकको अग्रता लिएको छ । पछिल्लो ११ सिजनमा पिएसजी नवौँ लिग वान उपाधि जित्न चाहन्छ ।

मेस्सीको सम्झौतामा एक वर्ष थप सम्झौता लम्बाउन सकिने उल्लेख थियो । तर, उक्त घटनापछि मेस्सीले बहिर्गमन निश्चित गरेको बिबिसीले जनाएको छ । पिएसजी छाड्नुभएका मेस्सी सम्भवतः पुरानो क्लब बार्सिलोना फर्किने सम्भावना प्रचुर छ । बार्सिलोनाले पनि उहाँलाई भित्र्याउन प्रयास गरिरहेको छ ।

त्यसबाहेक मेस्सीलाई अनुबन्ध गर्न अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामी र साउदी अरेबियाको अल हिलालले प्रयास गरिरहेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?