नेपालीलाई नक्कली शरणार्थी बनाउनु राज्यविरुद्वकै अपराध : गृहमन्त्री श्रेष्ठ

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ ।

शुक्रबार आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसँगको छलफलमा उहाँले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताउनुभएको हो । ‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन् । दोषी छुट्ने छैनन्’, उहाँले भन्नुभयो । श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको उल्लेख गर्नुभएको थियो । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उहाँको भनाइ थियो ।

‘यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको संगठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो’, उहाँले भन्नुभयो । सो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उहाँले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पु¥याइने दृढता व्यक्त गर्नुभयो । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उहाँको भनाइ छ । ‘मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन । दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ,’, श्रेष्ठले भन्नुभयोे, ‘प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस् निर्दोष नपरुन् भन्ने छ सबैको कुरा ।’

उहाँले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो । ‘राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु, ’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?