भद्रा भनेको के हो ?

Read Time = 15 mins

कल्याणको भावना हामी सबैमा हुन्छ । हरेक कार्य गर्ने विशेष समय हुन्छ । कुनै समयमा कुनै कुरा गर्नु राम्रो हुन्छ तर त्यही समयमा कुनै कुरा गर्दा प्रत्युत्पादक पनि बन्नसक्छ । यही शुभाशुभ समयको निर्धारण गर्ने क्रममा भद्राको नाम आउने गर्दछ । यात्रा गर्दा, गोठ सार्नुपर्दा, मौरीको मह काड्नु पर्दा, विवाह व्रतबन्धका लग्न निकाल्दा अन्य शुभकार्य आरम्भ गर्दा भद्रा कटानुपर्छ भन्ने चलन रहेको छ । यसैगरी हाम्रा जुराएर गर्नुपर्ने यावत् शुभकार्यमा भद्राको विचार गरिन्छ । पात्रोमा पनि भद्रा भनेर आरम्भ र अन्त्य घडी वा बजेमा दिइएको हुन्छ । यसैगरी लोकोक्तिमा पनि भद्रा प्रायशः प्रयोग हुने गर्दछ । यो आलेखमा यही भद्रासम्बन्धी विषयवस्तुको चर्चा रहेको छ ।

भद्रा भनेको एक विशेष समय हो जुन शुभकार्यमा वर्जित रहन्छ । भद्राकै अर्को नाम विष्टि पनि हो । एक महिनामा तीस तिथि हुन्छन् । एक तिथिमा दुई करण हुन्छन् । अर्थात् तिथिको आधा एक करण हुन्छ । ‘तिथ्यर्धभागं सर्वेषां करणानां प्रकल्पयेत् ।’ (सूर्यसिद्धान्त) अर्थात् तिथिको पूर्णभोगकाललाई दुईले भाग गर्ने क्रमशः पूर्वाद्र्ध र उत्तराद्र्ध गरी दुई करण हुन्छन् । मानौ २४ घण्टाको दिन छ भने १२ घण्टा एक करण र अर्को १२ घण्टा अर्को करणले प्रतिनिधित्व गर्दछन् । यसरी हेर्दा एक महिनामा ६० वटा करण हुन्छन् । यी ६० करणमध्ये आठवटा भद्रा पर्ने गर्दछन् । जुन समय शुभकर्ममा निषिद्ध रहन्छन् ।

भद्रालाई देवस्थान प्रदान गरिएको पौराणिक कथा पाइन्छन् । यसैगरी भद्रालाई सूर्य र छायाका गर्भबाट उत्पन्न भएकी शनिश्चरकी बहिनी पनि भन्ने गरिन्छ । देवताको रक्षा गरे पनि दैत्यवृत्ति भएकी, क्रोधवश उत्पन्न भएकी भएकाले भद्रालाई अशुभकारक मानिएको हो ।

करण चल र स्थिर गरी एघारवटा हुन्छन् । चल करण सात र स्थिर करण चारवटा छन् । चलकरणमा बव, बालव, कौलव, तैतिल, गर, वणिज, विष्टि/भद्रा पर्दछन् । यी एकमहिनामा आठपटक आउने गर्दछन् । यिनै सात चल करणमध्येको एक भद्रा हो । यसैगरी कृष्णपक्षको चतुर्दशीको उत्तराद्र्धबाट शुक्लप्रतिपदाको पूर्वाद्र्धसम्म स्थिर करण हुन्छन् । अर्थात् कृष्णपक्षको चतुर्दशीको उत्तराद्र्धमा शकुनि, औँसी तिथिको पूर्वार्धमा चतुष्पाद, औँसी तिथिको उत्तराद्र्धमा नाग र शुक्लप्रतिपदाको पूर्वाद्र्धमा किंस्तुघ्न स्थिर करण रहन्छन् । यसपछि शुक्लपक्षको उत्तराद्र्धबाट बबादि चल करणको समय हुन्छ । यसरी एक महिनामा आठ भद्रा हुन्छन् ।

जब दैत्यले देवतालाई युद्धमा पराजित गरे त्यस समयमा शिवजीमा क्रोध उत्पन्न भयो । उक्त क्रोधसँगै गर्दभा नामकी स्त्री उत्पन्न भइन् । उनको नाम विष्टि वा भद्रा थियो । जो दैत्य बध गर्न सक्षम थिइन् । देव दानव युद्धमा देवताको जित दिलाउन उनको विशेष भूमिका रह्यो । यसैले भद्रालाई देवस्थान प्रदान गरिएको पौराणिक कथा पाइन्छन् । यसैगरी भद्रालाई सूर्य र छायाका गर्भबाट उत्पन्न भएकी शनिश्चरकी बहिनी पनि भन्ने गरिन्छ । देवताको रक्षा गरे पनि दैत्यवृत्ति भएकी, क्रोधवश उत्पन्न भएकी भएकाले भद्रालाई अशुभकारक मानिएको हो । प्रत्येक तिथिका स्वामी देवता छन् । यसैगरी प्रत्येक करणका पनि देवता रहेका छन् । भद्रालाई पनि देवस्थान प्राप्त भएकाले उक्त समयमा देववृत्ति कम रहने भएकाले शुभ कर्म नगर्नू भनेर निषेध गरिएको हो ।

भद्रा कहिले कहिले पर्छ ?
शुक्लपक्षको अष्टमी र पूर्णिमाको पूर्वाद्र्धमा भद्रा करण हुन्छ । यसैगरी शुक्लपक्षकै चतुर्थी र एकादशी तिथिको उत्तराद्र्धमा भद्रा हुन्छ । यसका साथै कृष्णपक्षको तृतीया र दशमीको उत्तराद्र्धमा अनि सप्तमी र चतुर्दशीको पूर्वाद्र्धमा भद्रा रहन्छन् ।
‘शुक्ले पूर्वार्धेऽष्टमी पञ्चदश्योर्भद्रैकादश्यां चतुथ्र्यां परार्धे ।
कृष्णेऽन्त्यार्धे स्यात्तृतीयादशम्योः पूर्वे भागे सप्तमी शम्भुतिथ्योः ।।’ (मुहूत्र्तचिन्तामणिः, १।४३)
शुभ कार्यमा भद्रा त्याज्य रहन्छन् । भुलवश भद्रामा शुभकार्य गरियो भने पनि शीघ्र नाश हुन्छ भनी वसिष्ठले बताएका छन् :
‘न कुर्यान्मङ्गलं विष्ट्यां जीवितार्थी कदाचन ।
कुर्वन्नज्ञस्तदा क्षिप्रं तत्सर्वं नाशतां ब्रजेत् ।।
(वसिष्ठसंहिता) यसैगरी भद्राकाल दोषयुक्त रहने भएकाले त्याग्नपर्छ भन्ने बृहस्पति संहितामा गुरु बृहस्पतिले पनि बताएका छन् :
‘विष्ट्याख्योऽयं महादोषः कथितोऽत्र समस्तगः ।
तदानीं कृतसत्कर्मकत्र्रा सह विनश्यति ।।’ (बृहस्पति) ।

भद्रानिवास विचार :
जब चन्द्रमा कुम्भ मीन (धनिष्ठाको उत्रराद्र्धबाट रेवतीको अन्त्यसम्म) कर्कट, सिंह (पुनर्वसुको चतुर्थचरणबाट उत्तराफाल्गुनीको प्रथमचरणसम्म) राशिको हुन्छ उक्त समयमा भद्रा पनि पर्यो भने भद्राको निवास मुत्युलोक (पृथ्वी)मा रहन्छ । मेष, वृष, मिथुन (अश्विनीदेखि पुनर्वसुको तृतीयचरणसम्म) र वृश्चिक (विशाखको चौथो चरणदेखि ज्येष्ठाको अन्त्यसम्म) राशिका दिन भद्रा पर्दा भद्राको निवास स्वर्गमा हुन्छ । यसैगरी कन्या, तुला, धनु, मकर राशिमा चन्द्रमा भएको समयमा भद्राको निवास पातालमा हुन्छ । भद्राको निवास जुन लोकमा रहन्छ त्यो लोकमा उक्त दिन अशुभ रहन्छ । चन्द्रमा कुम्भ मीन (धनिष्ठाको उत्तराद्र्धबाट रेवतीको अन्त्यसम्म) कर्कट, सिंह (पुनर्वसुको चतुर्थचरणबाट उत्तराफाल्गुनीको प्रथमचरणसम्म) राशिको हुन्छ उक्त समयमा भद्राको दोष मान्नुपर्दछ । अन्य (१।२।३।६।७।८।९।१०) राशिको चन्द्रमा भएको समयमा भद्राको दोष रहँदैन ।
‘कुम्भकर्कद्वये मत्र्ये स्वर्गेऽब्जेऽजात्त्रयेऽलिगे ।
स्त्रीधनुर्जूकनक्रेऽधो भद्रा तत्रैव तत्फलम् ।।’ (मुहूत्र्तचिन्तामणिः, १।४५)
भद्राको पहिलो ५ घडीसम्म मुख, छैटौ गला, ७-१६ छाती, १७-२१ नाभि, २१-२७ कम्मर, २८-३० पुच्छर रहन्छ । मुखकालमा कार्य गरे ध्वंस, गलाकाला गरे धन हानि, कटिप्रदेश कालमा बुद्धिनाश, नाभि कालमा कलह, पुच्छ कालमा विजय हुुन्छ । (भारतीय ज्योतिष विज्ञान, पृ.८५-८६) । वारअनुसार भद्रा ज्ञान पनि बताइएको छ : सोमबार र शुक्रबार भद्रा परे कल्याणी, शनिबार भद्रा परे वृश्चिक, बृहस्पतिबार भद्रा परे पुण्यवती, अन्य बार भद्रा परे भद्रिका नामक भद्रा हुन्छन् । (भारतीय ज्योतिष विज्ञान, पृ.८६)

भद्रामा गर्नु नहुने काम :
भद्राको समयमा पशुकर्म (गोरु जोत्ने, घोडा दाउने, खसी पार्ने आदि) नगर्नु भनी ज्योतिर्निबन्धमा बताइएको छ । सिक्का ढलान (सिक्का, असर्फी, नोट आदि छाप्ने कार्य भद्रामा नगर्नु भनिएको छ । (मुहूत्र्तचिन्तामणिः, नक्षत्रप्रकरण, श्लो २०) यसैगरी भद्रा करण र व्यतीपात योगमा ऋण दिएको धन, गाडधन, व्यवसायमा लगानी गरेको धन, हराएको वस्तु प्राप्त हुँदैन भनेर पनि बताइएको छ । (पूर्ववत्, श्लो. २४) भद्रालाई छोडेर, १।२।३।५।७।८।१०।११।१२।१३।१५ तिथिमा बिउ बीज रोप्नु शुभ हुन्छ । (पूर्ववत्, श्लो.२९) भद्राको समयमा सन्धि सम्झौता पनि नगर्नु भनिएको छ । (पूर्ववत्, श्लो.४२) भद्रा करण भएको समय गर्भाधानका निम्ति पनि त्याज्य मानिएको छ । (मुहूत्र्तचिन्तामणिः, संस्कारप्रकरण, श्लो.१८) सामान्यतया भद्राकालमा लामो दूरीको यात्रा, गाईवस्तुको गोठ सार्ने काम, विवाह, मुण्डन (चूडाकर्म), गृह प्रवेश, रक्षाबन्धन, नयाँ व्यवसाय वा पेशाको थालनी आदि माङ्गलिक कार्य गर्नु हुँदैन भन्ने पाइन्छ ।

आफ्नो जीवनलाई सुखमय व्यतीत गर्ने चाहना भएकाले भद्रा कालमा कुनै पनि माङ्गलिक कार्य गर्नु हुँदैन, यदि अज्ञानतावश नै किन नहोस्, भद्रा भएको बेलामा कुनै माङ्गलिक कार्य सम्पादन गरियो भने त्यसको प्रतिफल प्राप्त हुँदैन ।

भद्रामा गर्नुहुने कार्य :
भद्राको समयमा काटमारका काम, बन्धनमा राख्ने काम, विषसम्बन्धी काम, आगोसम्बन्धी काम, शस्त्रअस्त्रसम्बन्धी कार्य, काट्ने छिमल्ने जस्ता खेतीपातीका काम, घोडा, भैंसी, ऊँट आदिसँग सम्बन्धित काम गर्नुहुन्छ भने अन्य शुभकर्म त्याग्नुपर्दछ । प्रमादवश गरियो भने विनाश निम्तिने कुरा वसिष्ठले बताएका छन् :
‘बधबन्धविषाग्न्यास्त्रच्छेदनोच्चाटनादि यत् ।
तुरङ्गमहिषोष्ट्रादिकर्म विष्ट्यां तु सिद्ध्यति ।।
न कुर्यान्मङ्गलं विष्ट्यां जीवितार्थी कदाचन ।
कुर्वन्नज्ञस्तदा क्षिप्रं तत्सर्वं नाशतां ब्रजेत् ।।’ (वसिष्ठ)
अर्थात् आफ्नो जीवनलाई सुखमय व्यतीत गर्ने चाहना भएकाले भद्रा कालमा कुनै पनि माङ्गलिक कार्य गर्नु हुँदैन, यदि अज्ञानतावश नै किन नहोस्, भद्रा भएको बेलामा कुनै माङ्गलिक कार्य सम्पादन गरियो भने त्यसको प्रतिफल प्राप्त हुँदैन । अर्थात् नाश हुन्छ ।

भद्रा परिहार :
दुष्ट करण (भद्रा) दोष भए धान्य (अन्नादि वस्तु) दान गर्नुपर्दछ । (मुहूत्र्तचिन्तामणिः, गोचरप्रकरण, श्लो. १८) राति भद्रा छ भने दिनमा शुभ रहन्छ । यसैगरी दिनमा भद्रा छ भने रात्रिमा कार्य आरम्भ शुभ रहन्छ । ‘रात्रिभद्रा यदाऽहिन स्याद्दिवाभद्रा यदा निशि । न तत्र भद्रादोषः स्यात्सा भद्रदायिनी ।।’ (पीयूषधाराटीका) कृष्णपक्षमा हुने भद्रा सर्पिणी हुन् भने शुक्लपक्षमा पर्ने भद्रा वृश्चिकी हुन् । सर्पिणीको मुखभाग र वृश्चिकीको पुच्छर भाग त्याग गनैुपर्दछ भनिएको छ : ‘असिते सर्पिणी ज्ञेया सिते विष्टिस्तु वृश्चिकी । सर्पिण्यस्तु मुखं त्याज्यं वृश्चिक्याः पुच्छमेव च ।।’ (पीयूषधारा)

भद्रा भनेको एक हप्तामा लगभग दुई पटक पर्ने १२/१२ घण्टाको (मध्यम मानले) समय हो । महिना दिनमा आठवटा यस्ता १२/१२ घण्टाका समय हुन्छन् जो शुभ कार्य आरम्भका लागि अशुभ मानिन्छन् । कुनै दिनको १२ घण्टाको सयम जो शुभकार्य आरम्भका लागि अनुपयुक्त रहने गर्छ त्यसैलाई विष्टि वा भद्रा भनिन्छ । हाम्रा वैदिक मन्त्र द्रष्टा ऋषि महर्षिले बताएका समय नै हाम्रा शुभाशुभ कर्मका आधार हुन् । भद्राको समयमा अशुभ वृत्ति बढी रहने भएकाले शुभकार्यको थालनी नगर्नु भनी बताइएको हो । हाम्रो लोक परम्परामा पनि यही मान्यतालई आधार मानेर धार्मिक सांस्कृतिक कार्य सम्पादन हुने गर्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?