स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

Read Time = 5 mins

काठमाडौं । स्वच्छ ऊर्जा नेपालद्वारा सञ्चालित ‘सबैका लागि सुरक्षित र सफा हावा(सफा) अभियान’ बारेमा तथा अभियानअन्तर्गत भए–गरेका काम तथा प्रगतिबारे सबैलाई जानकारी दिने उद्देश्यका साथ काठमाडौंमा कार्यशाला आयोजना गरिएको छ । अभियानअन्तर्गत वायु प्रदूषण तथा यसले वातावरण तथा जनमानसमा पारिरहेको असरबारे जनचेतना जगाउने तथा स्वच्छ वायुको महत्व बुझाउने उद्देश्यले स्वच्छ ऊर्जा नेपालले जनवरी २०२२ देखि अमेरिकी दूतावासको सहयोगमा सफा अभियानको थालनी गरेको हो ।

कार्यशालामा स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुलीले वायु प्रदूषणका कारण वातावरण तथा जनमानसमा धेरै क्षति हुनुअघि नै त्यसलाई कसरी जोगाउन सकिन्छ भन्ने सन्दर्भमा सफा अभियान सुरूवात गरिएको बताउनुभयो । अमेरिकी दूतावासका सांस्कृतिक मामिला अधिकृत सारा नाइटले काठमाडौं उपत्यकामात्र नभई इलामजस्तो हराभरा शहर पनि प्रदूषित भइरहेको भन्दै सबैमा जनचेतना जगाउन स्थानीय युवा परिचालन गरी अभियान सञ्चालन गरिएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका सूचना अधिकारी उमाशंकर मल्लिकले जनकपुरमा खुलारूपमा फोहोर जलाउने र फोहोरमैला नछुट्याउने प्रवृत्ति तथा अस्पतालजन्य फोहोर व्यवस्थापन अत्यन्तै चुनौतीका रूपमा रहेको बताउनुभयो । कार्यक्रम संयोजक वर्षा पराजुलीले दुई हजार युवालाई अभियानमा जोडेर उनीहरूमार्फत् नै अभियानको सन्देश गाउँ-गाउँसम्म पुर्‍याउन सफल भएको बताउनुभयो ।

स्वच्छ ऊर्जा नेपालका प्राविधिक सल्लाहकार डा. भुपेन्द्र दासले वायु प्रदूषणका कारण भएको असरले मानवीय जीवनमा अत्यन्त ठूलो क्षति पुगिरहेको भन्दै सोसम्बन्धी जनचेतना जगाउन सञ्चारमाध्यमले भूमिका खेल्न सक्ने बताउनुभयो । सफा अभियानअन्तर्गत अमेरिकन कर्नर भएका स्थानहरू प्रयोग गरेर तथा युवा समूह बनाई जनचेतनामूलक विभिन्न क्रियाकलाप सञ्चालन गरिएको थियो । कार्यशालामा ती समूहको प्रतिनिधित्व गर्दै इलाम, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, धनगढी, काठमाडौं र जनकपुरबाट आएका युवाले स्थानीयस्तरमा आफूले सञ्चालन गरेका गतिविधिबारे प्रस्तुति दिएका थिए ।

कार्यशालामा सफा हावासम्बन्धी सवाल उठाउँदै आगामी दिनमा के-कसरी कार्य गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित क्षेत्रमा काम गरिरहेका पाँचजना व्यक्तित्वसँग प्यानल छलफल गरिएको थियो । जसलाई युएसएआइडी, सफा हावाका चिफ अफ पार्टी भूषण तुलाधरले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा अमेरिकन स्पेस स्पेसलिष्ट सुलभ भट्ट तथा स्वच्छ ऊर्जा नेपालका अध्यक्ष मन्जित ढकालले आगामी दिनमा पनि युवा परिचालन गरी वायु प्रदूषणबारे जनचेतना फैलाउँदै जानुपर्ने बताउनुभयो ।

स्वच्छ ऊर्जा नेपाल सबैका लागि दिगो वातावरण भन्ने परिकल्पनासाथ सन् २००० मा स्थापना भई दिगो ऊर्जाको प्रयोग तथा वातावरण संरक्षणका लागि कार्य गर्दै आएको छ । स्वच्छ ऊर्जा नेपाल क्लाइमेट एक्सन नेटवर्क साउथ एसिया (कान्सा) को सदस्य संस्था हो । कान्साको राष्ट्रिय तदर्थ समितिको सचिवालयका रूपमा पनि स्वच्छ ऊर्जा नेपालले काम गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?