सम्पत्ति बारे दोहोरो मापदण्ड

Read Time = 15 mins

बाँच्नको निमित्त चाहिने न्यूनतम तत्वहरू प्राणीका सम्पत्ति हुन् । त्यो सम्पत्ति प्राप्त गर्न प्रयत्न गर्नु प्राणीको कर्तव्य हो । यो प्रयत्नमा लगातार असफल भए उसको अन्त्य अपरिहार्य छ । यसैगरी यो प्रयत्नमा लगातार सफल भएमा ऊ शक्तिशाली हुँदै जान्छ । कुनै युगमा पृथ्वीमा एकछत्र राजगर्ने डाइनासोरको अन्त्यको प्रमुख कारण यसै प्रयत्नमा लगातार असफलता हो । अस्तित्वको निमित्तको संघर्षमा अयोग्य हुनेहरूको विनाश गर्ने प्रकृतिको कठोरतम रूपलाई नबुझे पनि बच्न कोही पनि सक्दैन ।

भविष्यको चिन्ता अनि त्यस चिन्ताले भविष्यको निमित्त जोहो गर्नु मान्छेको आधारभूत विशेषता हो । जसले आपूmलाई यो चिन्ता नभएकोे भने पनि उसले राम्रो भविष्यको निमित्त सोच राखिरहेको हुन्छ । कुनै न कुनै रूपमा संग्रह गर्ने प्रयत्न गरिराखेको हुन्छ । केवल मानवमा मात्र होइन सामाजिक संरचना भएका सबै प्राणीहरूको आपूmलाई पछि चाहिने सामग्री वा खानेकुरा संग्रह गर्ने विषेशता रहेको हुन्छ ।

एउटा सर्वहारा आफूलाई मध्यमवर्गमा लैजान हरसम्भव प्रयत्न गर्दछ । एउटा मध्यमवर्गीय आफूलाई पुँजीपति वर्गमा लैजान शिरदेखि पैतालासम्मको बल लगाएर प्रयत्नशील हुन्छ । आफू आफ्नो स्तरबाट तल खस्नु नपरोस् भनेर एउटा पुँजीपति प्रयत्न गरिराखेको हुन्छ ।

कमिला, माहुरी जस्ता जीवहरू त अभाव हुने समयको निमित्त संग्रह गर्दछन् । मुसा लोखर्के जस्ता जन्तुहरू खाद्य पदार्थको प्रचुरताको बेलामा पछि अभाव व्यहोर्नु पर्छ भन्ने जानेर जोहो गर्न पछि पर्दैनन् । मानव जीवनको कठिनतालाई बिर्सेर कोही पछिको निमित्त जोहो गर्ने प्रयत्न गर्दैन भने त्यो या त समाप्त हुन्छ या मागेर वा चोरेर जीवन निर्वाह गर्नुपर्ने अवस्थामा पुग्ने संभावना हुन्छ । यहीपछिको निमित्त गरेको जोहो नै सम्पत्ति हो ।

त्यसैले सम्पत्तिको जोहो गर्नु मान्छेको नैसर्गिक अधिकारमात्र नभएर मान्छे हुनुको परिचय पनि हो । अरूको यस प्रकारको संग्रहलाई अपराध भन्ने बोध गराउनेहरू आफैं आफ्नो सम्पत्ति बढाउन दत्तचित्त भएर लागेको देख्न सकिन्छ । यसरी अरूको संग्रहलाई अपराध सावित गर्न खोज्नेको सम्पत्ति भने सर्वसाधारणले भोग चलन गर्ने कल्पना समेत गर्न सक्दैनन् ।

घोषित रूपमा सम्पत्ति केही नभएको भने पनि उनीहरूको सम्पत्ति भोग र त्यसबाट प्राप्त सुविधा भने सर्वसाधारण त के धनाढ्यहरूको भन्दा धेरै हुन्छ । आफूले जे गर्दा पनि हुने र सर्वसाधारणले चाहिँ आचरणमा बस्नुपर्ने दूराग्रह यस्ता सुविधाभोगी शक्तिशालीहरूको जमातबाट आउने गर्दछ । नियमकानुन परिवर्तन गर्न सहज हुने अवस्थामा भएका यी शक्तिशालीहरू आफ्नो यस्ता दूराग्रहलाई नैतिक देखाउन अनुकूलतामा नियम संशोधन गर्ने गर्दछन् । यसरी समाजमा दुईवर्ग देखा पर्न लागेको छ,
१. नियमभन्दा मथिको वर्ग
२. नियमभन्दा मुनिको वर्ग ।
आफ्नो र आफ्नो परिवारको भविष्य सुरक्षित हुने आशामा नियमभन्दा मुनिको वर्ग नियमभन्दा माथिको वर्गको चाकरी गर्न बाध्य हुन्छ । आफ्नो इच्छाविपरीतका कुरामा पनि प्राणको मोह छोडेर मरिमेट्न प्रेरित गर्न आफू वा आफूसँग अश्रितको सुरक्षित भविष्यको मृगतृष्णा प्रयाप्त छ ।

नियमभन्दा मथिको वर्गको स्वेच्छिक तथा वेदाम दास हुनमा गौरव गर्ने यस्ता मान्छेहरू आफ्नो बुद्धि विवेक सबै एकातर्फ पन्छाएर आफ्ना मालिकको होमा हो मिलाउने गर्दछन् । मालिकले राम्रो भनेको कुरा राम्रो हो भनेर मरिमेट्न तयार भएका मान्छे तुरन्तै मालिकले त्यसैलाई नराम्रो भनेमा एकैछिन अगाडि आफैंले राम्रो भनी मरिमेटेको कुरा नराम्रो हो भनेर मरिमेट्न फेरि तयार रहन्छन् ।

यस प्रकारको दासत्व स्वीकार गर्न विवश तुल्याउने एकमात्र कारण सम्पत्तिसम्बन्धी दोहोरो मापदण्ड नै हो । हुन त यसलाई कसैकसैले शक्तिको अभिलाषा पनि भन्ने गर्दछन् तर शक्तिको आवश्यकता पनि भविष्यको सुनिश्चितताको निमित्त नै हुन्छ । भविष्यको सुनिश्चितता उसको संग्रहित सम्पत्तिमा हुने गर्दछ । सम्पत्तिको अस्थिरता पैदा गर्न नसकेमा नियमभन्दा माथिका वर्गकाको वर्चश्व कायम रहन सक्दैन । आउन सक्ने विरोधको प्रतिरोध गर्नसक्ने क्षमता अर्काको सम्पत्ति खोसेर दिन्छु भनेर देखाइने आश्वासनले पैदा गर्दछ ।

यसरी अन्यको निमित्त एक किसिमको नियम र आफू तथा आफ्नाको निमित्त अर्को किसिमको नियम बनेको हुन्छ लिखित वा अलिखित । त्यसैले बेलाबखत सानालाई ऐन ठूलालाई चैन भन्ने भनाइ सुन्न पाइन्छ । सुन्नमात्र होइन देख्न र भोग्न पनि सर्वसाधारणको नियति बनेको छ । संसारको कुनै पनि मानिस हमेशा सर्वहारा हुन नचहानु उसको नैसर्गिक अधिकार तथा मानव हुनुको कर्तव्य पनि हो । त्यसरी नै अरूको सञ्चित सम्पत्ति खोसेर अर्कालाई पाल्नु अन्याय त हुँदै हो साथै जसलाई दिइन्छ त्यसलाई जीवनभरको निमित्त आसे बनाउनु हो । त्यस्तो आसे मान्छेको आत्मसम्मान मरेको हुन्छ, आफू काम नगर्ने तर अर्काको खोस्ने अपराधी सोच विकसित हुन्छ । आवश्यकता र चहाना सकिनु मानव जीवनको अन्त्यमात्र नभएर मानवको प्रगतिलाई रोक्ने कारण पनि हो ।

दाम्लोले बाँधिएको पशु, पिँजडामा वा चिडियाखानामा बन्द पक्षी र कैदखानामा बन्द बन्दीलाई मात्र उसलाई बन्दी बनाउनेले पाल्ने तथा हेरचहार गर्ने गर्दछ । उसै पनि जीवनयापनको र हेरचारको जिम्मा लिएर काम लगाउने पद्धति दास प्रथाको अवशेष हो । पहिले दासका मालिक व्यक्ति हुन्थे भने अहिले मालिकको भूमिकामा राज्य हुन खोज्दैछ । प्रकृतिको अस्तित्वको निमित्त संघर्ष र योग्यको स्थापनाको सिद्धान्तविपरीत यस प्रकारको प्रयत्नले असन्तुलन र मानव सभ्यताको विनाश यात्राको आरम्भ गर्छ ।

एउटा सर्वहारा आफूलाई मध्यमवर्गमा लैजान हरसम्भव प्रयत्न गर्दछ । एउटा मध्यमवर्गीय आफूलाई पुँजीपति वर्गमा लैजान शिरदेखि पैतालासम्मको बल लगाएर प्रयत्नशील हुन्छ । आफू आफ्नो स्तरबाट तल खस्नु नपरोस् भनेर एउटा पुँजीपति प्रयत्न गरिराखेको हुन्छ । उसको यो प्रयत्नले पैदा गरेको रोजगारीको अवसरले अरूको भविष्य सुन्दर बनाउने आशा जीवित राख्छ । यसै प्रयत्नमा उनीहरूले गर्ने कामले उत्पादन बढ्छ, प्रगतिको गोरेटोतर्पm समाजलाई लैजान्छ । अन्योन्याश्रित सम्बन्ध भएका यी वर्गका बीचमा आफ्नो अस्तित्व कायम गर्न सर्वहारावर्गको वकालत गर्दै आफूलाई नियमभन्दा माथि ठान्नेहरू आउँछन् ।

त्यसपछि समाजको आफ्नो गति अवरुद्ध हुन थाल्छ । बढेको बेकारीको उपचारको निमित्त वैदेशिक रोजगारीको नाममा स्वजन तथा स्वदेशबाट टाढा पुर्‍याउने प्रयत्न सुरु हुन्छ तर जतिसुकै प्रयत्न भए पनि सर्वहारा वर्ग हमेशा आफ्नो अन्धकारमय भविष्य चियाउँदै सर्वहारा नै रहन्छ । सर्वहारा वर्ग नभए आफूलाई नियमभन्दा माथि ठान्नेहरूको अस्तित्व सम्भव छैन, तसर्थ सर्वहारा हमेशा सर्वहारा नै रहोस् भन्ने चाहनु यिनीहरूको वर्गीय चरित्र हो ।

बुद्धिजीवी तथा अधिकारकर्मीहरू लोपोन्मुख जातिको नाममा जन्तु वा वनस्पतिको बाँच्नेहकको वकालत गर्दछन् तर जब मध्यमवर्गको हकको कुरा आउँछ बुद्धिजीवी वा अधिकारकर्मीहरू चुप लाग्नेमात्र होइन बरू मध्यमवर्गलाई अपराधीसरह सजाय गर्नै पर्ने तर्क दिन पनि पछि पर्दैनन् ।

बुद्धिजीवी तथा अधिकारकर्मीहरू लोपोन्मुख जातिको नाममा जन्तु वा वनस्पतिको बाँच्नेहकको वकालत गर्दछन् तर जब मध्यमवर्गको हकको कुरा आउँछ बुद्धिजीवी वा अधिकारकर्मी चुप लाग्नेमात्र होइन बरू मध्यमवर्गलाई अपराधीसरह सजाय गर्नै पर्ने तर्क दिन पनि पछि पर्दैनन् । यसरी मध्यम वर्गलाई दवाउने काममा सहयोग पुर्‍याउने आफू पनि सोही वर्गमा हुन्छ तर यसकोे हेक्का रहँदैन । कालिदासले हाँगाको टुप्पामा बसेर सोही हाँगाको फेद काटे झैँ आफ्नो आधारमाथि नै चोट पुर्‍याउन उद्यतहरू हुन्छन् यी बुद्धिजीवी तथा अधिकारकर्मीहरू । यो केवल शक्ति पूजा गरेका फाइदा हुन्छ भन्ने भ्रम मात्र हो । फाइदा पाउनेहरू यिनीहरू मध्येकै भए पनि केवल यही गरेको कारणले होइन । के के खोजिन्छ र के के हुन्छ भन्ने कुरा भुक्तभोगीले बताउन सक्छन् जो फाइदा खोज्न जान्छन् तर पाउँदैनन् ।

समान वितरणको खोक्रो नारामा मध्यमवर्गको सञ्चित सम्पत्ति हरणको बाहना खोजिँदैछ । तत्काल कमाएर ज्यान पाल्न पाउने अवस्थाको अन्त्य गरिँदैछ । खेतीपातीको बेलामा हड्ताल, चक्काजाम इत्यादिको आयोजनले कृषि उत्पादनमा बन्देज लग्दैछ । आफ्नो प्रयत्नले उपलब्ध गरेर प्रयोग गर्न ठिक्क पारेको मल बिउ कानुनको लाठो लगाएर खोसिन्छ । कलकारखाना, यातायातका साधन तथा काम गरेर जीविकोपार्जन गर्ने अवसर खोस्न मात्र होइन सम्भव भएमा त्यसलाई बन्द गराइएको कुरा लुकाउन सकिँदैन ।

देशभित्र यसरी बाँच्न पाउने अधिकारको हरण गरेर वैदेशिक रोजगारीको प्रलोभनमा विदेशिन बाध्य पार्ने क्रियाकलापले नेपालको अस्तित्व कहिलेसम्म सम्भव होला ? नेपालको अस्तित्व मेटाएर आफ्नो वर्चश्व कायम गर्न खोज्नेलाई नेपालको अस्तित्व नभएमा आफ्नो पनि अस्तित्व रहने छैन भन्ने ज्ञान नभएको भनेर मान्न सकिँदैन । विशेषज्ञको विषेशणले विभूषित, जनतालाई नेतृत्व गर्छौं भनेर दाबी गर्नेहरूले आफ्नो कामको राम्रो नराम्रो परिणमको उत्तरदायित्व बोक्नु पर्दैन भनेर पन्छिन पक्कै मिल्दैन ।

मध्यमवर्गको शोषण र विनाश गरेर पुँजीपतिवर्ग वा सर्वहारावर्ग मात्र रहनसक्छ भनेर भन्नु क्षणिक आनन्दमात्र हो । पुँजीपति वर्ग र सर्वहारा वर्ग दुवैको पालनहार मध्यम वर्ग नै हो । पुँजीपतिको उद्योगमा श्रम गरेर सर्वहाराले गरेको उत्पादनको उपभोक्ता मध्यम वर्ग नै हो । मध्यम वर्गको उद्योगमा मध्यम वर्गको श्रमले पनि उत्पादन गर्छ । नेपाल जस्तो कृषिमा आधारित अर्थतन्त्र भएको देशमा अहिलेसम्म जति पनि विकास भएको छ त्यो मध्यमवर्गको तन, मन र धनले नै सम्भव भएको हो । पुँजीपतिको ध्यानको अधिकतम हिस्सा आफ्नो सुखसुविधामा र सर्वहाराको ध्यान आफ्नो बा“च्ने संघर्षमै जान्छ । प्रगति गर्ने र आफ्नो वर्गोउन्नति गर्ने चाहनामा अनजानैमा पनि मध्यम वर्ग नै विकासको सम्वाहकको भूमिका पूरा गरिराखेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?