मोटरेबल पुल निर्माणको काम अलपत्र

तिन बर्षअघि ठड्याएको पिल्लरमा खिया लागेका छडहरु र अलपत्र पुल । तस्वीरः डम्बर बोहरा/हिटा

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीमा ठेकेदारको लापरवाहीले मोटरेबल पुल निर्माणको काम अलपत्र परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका-१ स्थीत त्रिवेणी नदी सङौरमा हुने भनिएको पुल निर्माणको काम अलपत्र परेको हो । पुल निर्माणको काम समयमा सम्पन्न नहुँदा जोखिम मोलेर यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

पुल निर्माणको काम नसकिँदा बर्खायाममा सवारी साधन नदीमा बग्ने गरेका छन् । गत वर्ष सो नदीमा एक जिप बगेको स्थानीय अम्मर धानुकले बताउनुभयो । तीन बर्ष अघि पुलको दुई पिल्लर ठड्याइएको भएपनि त्यसपछि कुनै काम नभएको उहाँले जानकारी दिनुभयो । ‘तीन वर्षअघि दुई पिल्लर ठड्याइएका थिए । त्यसपछि कुनै काम भएको छैन ।’ उहाँले भन्नुभयो ‘पिल्लरमा समेत कमसल निर्माणका सामाग्रीहरू प्रयोग भएका छन् । ’

पुल निर्माण कार्य अलपत्र रहेकाले सवारी साधन नै बगाउने स्थिति सृजना हुनु दुःखद पक्ष भएको पुरघाट प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोती बमको भनाई छ । पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनी जगदम्बा बिल्डर्शको लापरवाहीका कारण पुल निर्माण कार्य अलपत्र परेको हो ।

त्रिवेणी नदीको वारी सम्म नियमित रुपमा सडक सञ्चालनमा रहेको छ भने, पुलको पारीपट्टी ढोल्यामोड-हाट सडक पुगेको छ भने पारी पट्टी समेत १० किलोमिटर बढी सडक खनिएको छ ।

पुल निर्माणको काम अघि बढाउन पहल गरिरहेको पुर्चौडी नगरपालिकाका नगर प्रमुख दीपक बमले बताउनुभयो । ‘हामी जनप्रतिनिधि हुनु अगावै यो पुल निर्माण सुरु भएको हो, स्थानीय ठेकेदारले नै काम अलपत्र छाडेको छ, पटक-पटक भनेका छौँ’, उहाँले भन्नुभयो ‘अझै निर्माण कार्य अघि बढाउन पहल गरिरहेका छौँ । ’ उक्त पुल निर्माण २०७८ सालमा सुरु गरिएको पुर्व प्रदेश सांसद प्रेम प्रकाश भट्ट बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘समयमै काम सम्पन्न गरेर जनताले सुविधा पाउलान् भनेर बजेट हाल्न पहल गरेका हौँ । तर किन ढिलाई भएको हो, पूर्वाधार विकास कार्यालयलाई थाहा होला ।’

उक्त पुल निर्माणको म्याद केही समय अझै बाँकी रहेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । उक्त पुल निर्माणका लागि ७ करोडको ठेक्का आह्वान गरिएकोमा ४करोड बढी रकममा काम भैरहेको कार्यालयले जनाएको छ ।

पुल निर्माण गर्न स्टिल सामग्रीहरू आवश्यक भएकाले ठेकेदारले उक्त सामग्री जुटाएर काम गर्ने आश्वासन दिएको पूर्वाधार कार्यालयको दावी छ । पुलमा कमसल सामान प्रयोग गरिएको विषयमा भने इस्टमेट अनुसारकै सामग्री प्रयोग भएको कार्यालयको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?