असार महिनामा पर्ने चाड पर्वहरू

Read Time = 13 mins

✍️ इन्द्रबहादुर शाक्य

चाड पर्वहरू कहिले तलमाथि पर्न सक्दछ । यसरी तलमाथि पर्ने भनेको तिथिका कारणबाट हुन सक्दछ । मितिबाट हुँदैन । २०८० सालको असार महिनामा पर्ने चाड पर्वहरूको यहाँ चर्चा गरिन्छ । असार १ गते संक्रान्तिमा ललितपुरमा रातो मत्स्येन्द्रनाथको पूजापाठ गरी सँल्हू गुठी अथवा संक्रान्ति गुठी पर्व मनाइन्छ । यही आषाढ महिनाको १ गते देखि ५ गतेसम्म भूमिनाथ नाच मनाइन्छ । रुकुमको मगर गाउँका बासिन्दाले यो पर्व मान्दछन् । अहिले आएर त्यस क्षेत्रमा बस्ने सबै जातिले यो भूमि नाच पर्व मनाउँदछन् ।

असारको कृष्ण पक्ष चतुर्दशीदेखि दिला पूजा सुरु हुन्छ । यस दिनदेखि उपत्यका र बाहिरका व्यापारीहरूले भीमसेनको पूजा गरी यो पर्व मनाउँछन् । यो दिल पूजा पर्व घण्टाकर्णसम्म मनाइन्छ । यस पर्वमा व्यापारीहरू र उपत्यकाका नेवार समुदायले भोज, समयबजी खान्छन् । नेपाल अधिराज्यमा नेवार र नेवार व्यापारीले भीमसेनको पूजा गरी व्यापार राम्रो होस् भनेर यो पर्व मनाउँदछन् र घण्टाकर्णको दिन यो पर्व समापन गर्दछन् । औँसीको दिनमा हलोको पूजा गरिन्छ । चौथीको दिनमा गणेशको व्रत गरिन्छ । असार शुक्लपक्ष सप्तमीको दिन उपत्यकाभित्र गोलेमा (पशुपति नजिक) गंगामाईको रथ जात्रा हुन्छ । यो जात्रा यस क्षेत्रका जातिले धुमधामसँग मनाउँछन् ।

हरिशयनी एकादशी :
असार शुक्लपक्ष एकादशीलाई हरिशयनी भन्दछन् । हरिशयनी एकादशीमा नारायण देवताको पूजा गरी व्रत बस्ने गरिन्छ । यो व्रत बस्नेले चार महिनासम्म दिनको एक छाकमात्र खाना खाने गर्छन् । यस्तो भोजन खाना पूरा साकाहारी हुन्छ । चार महिनासम्म व्रत बसेर पूजा गर्दछन् । यो एकादशीको दिनदेखि चर्तुमास व्रत सुरु हुन्छ । यो व्रत बस्दा आफूले चिताएको काम अथवा आपूmले मागेको काम पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यो चार महिनासम्म नारायण मन्दिरमा भजन पनि गर्दछन् ।

हरिशयनी एकादशीको दिनदेखि क्षीर सागरमा सुत्नु भएको विष्णु चार महिनापछि हरिबोधनी एकादशीमा मात्र उठ्नुभएको थियो भन्ने विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ । यो चार महिना भगवान विष्णु क्षीर सागरमा सुतेका कारण विवाह, व्रतबन्धलगायतका शुभ मंगलकार्य गर्नु हुँदैन भनिएको छ ।

असारको एकादशीको दिन तुलसी रोपिन्छ । तुलसी एक प्रकारको जडिबुटी हो । तुलसी खायो भने अक्सिजन प्राप्त हुन्छ । तुलसीको हावाले नै हामीलाई अक्सिजन प्राप्त हुन्छ र स्वास्थ्य राम्रो बनाउँछ । त्यसैले आँगनमा तुलसी रोप्नु र पूजा गरी घुम्नु भनिएको हो । तुलसी सबभन्दा पहिले शिवले प्रयोग गरेका थिए । शिवजीले आपूmलाई अक्सिजन कम भएको बेला तुलसीबाट अक्सिजन लिएका थिए भन्ने गरिन्छ । त्यसैले यो जडिबुटीले स्वास्थ्यलाई फाइदा गर्दछन् । तुलसीको रस खान पनि हुन्छ भनेर शिवजीले आज्ञा दिनुभएको थियो । यो कुरा धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

यो एकादशीको दिनदेखि क्षीर सागरमा सुत्नु भएको विष्णु चार महिनापछि हरिबोधनी एकादशीमा मात्र उठ्नुभएको थियो भन्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । यो चार महिना भगवान विष्णु क्षीर सागरमा सुतेका कारण विवाह, व्रतबन्ध, शुभमंगल कार्य गर्नु हुँदैन भनिएको छ । यो हरिशयनी एकादशीदेखि वा यस दिनदेखि नदीनालामा बाढी आउने, पहिरो आउने, पानी पर्ने, खाना नराम्रो हुने भएकाले जे पायो त्यही नखानु, बाहिर यात्रा नगर्नु भनिएको छ । यी कुराहरू सत्य पनि हुन् । असारदेखि असोजसम्म पानी पर्ने मनसुन सक्रिय हुने भएकाले यो चार महिना बाहिर नजानु र घरमै बसेर धर्म कर्म गर्नु भनिन्छ ।

यही एकादशीका दिन नारायणी नदीमा स्नान गर्ने भक्तजनहरूको भीड लाग्दछ । यो हरिशयनी एकादशीमा सिन्धुलीको कमला खुँज र यसको आसपासमा बस्ने आदिवासी दनुवार समुदायले एकादशी पर्व मनाउँछन् । यो चार महिनासम्म चल्दछ । यस दिन विष्णुको सम्झना गरिन्छ । यो पर्व मनाउँदा आफूले चिताएको काम पूरा हुन्छ भन्ने जनविश्वास छ । असार शुक्ल पक्ष चतुर्दशीको दिन सुदूरपश्चिमको धनगढीमा उग्रतारा शैलेश्वरी जात्रा मनाइन्छ । त्यहाँका स्थानीयवासीले यो पर्व धुमधामसँग मनाउँदछन् ।

आषाढ शुक्लपक्ष द्वादशीदेखि कार्तिक पूर्णिमासम्म बेलुकातिर पनौतीमा भजन गर्ने चलन छ । यसबेला पाटीहरूमा बसेर दिनदिनै ‘धाल्वा हालिगु’ भनेर विशेष भजन गर्दछन् । त्यहाँका बासिन्दाहरूले अहिले पनि यस प्रकारको भजन गरिरहेकै छन् । असार महिनाको १५ गते राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव अधिराज्यभरि मनाउँदछन् । यसदिन दही चिउरा खानुका साथै नाचगान पनि गर्दछन् । यस दिनमा नेपाली लोक गीत गाएर धान रोपाइँ गरिन्छ ।

असारको शुक्ल पूर्णिमा वा असार पूर्णिमा :
यस पूर्णिमाको विशेष महत्व छ । यस पूर्णिमालाई असार पूर्णिमा वा गुरु पूर्णिमा पनि भनिन्छ । यसलाई दिला पूर्णिमा पनि भन्दछन् । गुरु पूर्णिमाको दिन विद्यार्थीहरूले गुरुपूजा गर्ने गर्छन् । यस पूर्णिमामा गुरुलाई सम्मान गरी उपहार दिने चलन छ । यो नेपालभरि नै मनाउने गरिन्छ । यस पूर्णिमालाई व्यापारीहरूले व्यापार राम्रो होस् भनेर विशेष पूजा गरी मनाउँछन् । आषाढ पूर्णिमालाई बौद्ध धर्मालम्बीहरूले एउटा महत्वपूर्ण दिनको रूपमा लिने गर्छन् । यस दिनमा शुद्धोधन महाराजकी धर्मपत्नी महारानी महामाया देवीको कोखमा (गर्भमा) सिद्धार्थ गौतम शाक्य वंश (बुद्ध) प्रवेश हुनुभएको थियो ।

उपत्यकामा घण्टाकर्णलाई दैत्यको रूपमा लिइन्छ । त्यस दिन घण्टाकर्णको मूर्ति बनाई चार दोबाटोमा उभ्याई बेलुकातिर आगो बालेर भष्म गरी नदीमा लगेर फाल्ने गरिन्छ । उपत्यकाका मानिसहरूले मूलढोकामा यसको पूजा गरी राति समयबजी अथवा भोज खाएर मनाउँछन् ।

वैशाख पूर्णिमाको दिन सिद्धार्थ गौतम शाक्य वंशकुलमा जन्मनुभएको थियो । उहाँले वैशाख पूर्णिमाका दिन नै बोधिज्ञान प्राप्त गर्नुभएको थियो । उहाँले बोधिज्ञान प्राप्त गर्नुभएपछि अथवा बुद्धत्व प्राप्त गरेपछि सबभन्दा पहिले भारतको मृगदावन अथवा ऋषि पतन (सारनाथ) मा पञ्चवर्गीयलाई (पाँच जवान उच्च ज्ञान हासिल गर्नु भएका ब्राहृमणको छोराहरू) सर्वप्रथम धर्मचक्र प्रवचन सुरु गर्नुभएको थिए । यो असार पूर्णिमाको दिन थियो । त्यसैले यस दिनलाई गुरुपूर्णिमा भनिएको हो । गुरुले शिष्यलाई दिनुभएको ज्ञान यही पूर्णिमाको दिनमा दिइएको थियो । त्यसैले यस दिनलाई गुरुपूर्णिमा भनिन्छ । यो सिद्धार्थ गौतम (बुद्ध) ले दिएको ज्ञान प्रवचन सुनेर पाँच जना विद्वान ब्राहृमणहरू भिक्षु हुनुभएको थियो । यो कुरा ग्रन्थहरूमा उल्लेख छ ।

यस पूर्णिमाको दिनदेखि भिक्षुहरू विनय अनुसार तीन महिनासम्म वर्षावास बस्न सुरु गर्छन् । अहिले पनि यो चलन छँदैछ । कहीँ नगइकन एउटै ठाउँमा बसेर अध्ययन र प्रवचन गर्छन् । यो सबै आषाढ पूर्णिमामै भएको अथवा हुने भएकाले यसलाई विशेष रूपमा लिएर पूजा गरी यो पूर्णिमा पर्व मनाइन्छ । यस दिन दान धर्म गर्दछन् । हिन्दु मार्गीहरूले पनि देवतालाई गुरुका रूपमा पूजा गरी गुरुपूर्णिमा पर्व मान्दछन् । विहार–विहारमा बुद्धलाई पूजा गरी यो पर्वलाई गुरुको रूपमा लिएर पूजा गर्छन् । यो पर्व पनि नेपालभरि नै मनाइन्छ ।

आषाढ कृष्णपक्ष चर्तुदशीको (चह्रे)को दिन गठाँमोह चह्रे अथवा घण्टाकर्ण पर्व मनाइन्छ । यो दिला चह्रेको अथवा दिला पूजाको अन्तिम दिन हो । यो घण्टाकर्ण पर्व नेपालभरि नै मनाइन्छ । खेतमा धान रोपाइँ सिध्याएर सफा सुग्घर गरी धान बाली राम्रो होस्, सुस्वास्थ्य रहोस्, निरोगी होस्, राम्रो व्यापार होस् भनेर देवताको प्रार्थना गरी यो घण्टाकर्ण पर्व मनाइन्छ । उपत्यकामा घण्टाकर्णलाई दैत्यको रूपमा लिइन्छ । त्यसदिन घण्टाकर्णको मूर्ति बनाई चार दोबाटोमा उभ्याई बेलुकातिर आगो बालेर भष्म गरी नदीमा लगेर फाल्ने गरिन्छ । उपत्यकाका मानिसहरूले मूलढोकामा यसको पूजा गरी राति समयबजी अथवा भोज खाने गर्छन् ।

दैत्यले दुःख नदेओस् भनेर प्रार्थना गरी यो घण्टाकर्ण पर्व मनाउँने गरेको हो । घण्टाकर्ण पर्वदेखि उपत्यकामा जात्रा र पर्व सुरु भई मंसिर महिनासम्म लगातार पर्वहरू हुने गर्छन् । तिथिबाट पर्व सुरु हुने भएकाले यो घण्टाकर्ण श्रावण महिना पनि पर्न सक्छ । चाडपर्वहरू पहिलेदखि नै तिथिका आधारमा मनाउने भएकोले पर्वहरू मनाउने दिन तलमाथि पर्न सक्छन् । चाडपर्वहरू नै नेपालको सभ्यताका प्रतीक हुन्, यिनको संरक्षण र संबद्र्धन गर्नु हाम्रो दायित्व पनि हो । साधुवाद ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?