स्वास्थ्य क्षेत्रको सुधारपछि अब पालिका अस्पताल संचालन गरिने

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । स्थानीय तह आउनु पूर्व निसीखोला गाउँपालिकामा चार वटा मात्रै स्वास्थ्य चौकी थिए । छरिएको बस्ती, एकदेखि अर्को ठाउँसम्म पुग्न घण्टौँ लाग्ने हुँदा यहाँका अधिकांश नागरिक स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा थिए । जब स्थानीय तह आयो त्यसपछि निसीखोलाका वडा-वडामा स्वास्थ्य संस्था स्थापना भएर संचालनमा आएका छन् । स्थानीयले सामान्य उपचार गाउँ नजिकैको स्वास्थ्य संस्थामा गराउन पाए पनि जटिल प्रकारको उपचार गराउन कि त बुर्तिबाङ पुग्नु पर्छ कि भने ठूला सहरका सुविधायुक्त अस्पतालमा पुग्नुको विकल्प छैन ।

एक दशक अगाडिसम्म जिल्लाको सबैभन्दा दुर्गम मानिने निसीखोला राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि यहाँ थुप्रै विकासका ढोकाहरु खुलेका छन् । अहिले गाउँपालिकाले पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको छ । सोही अनुसार अहिले गाउँपालिकाले पालिकास्तरीय आधारभूत अस्पताल निमार्ण गरिरहेको छ । गत वर्षदेखि वडा नम्बर ४ को झिम्पामा अस्पताल निर्माण भइरहेको छ । गाउँमै पालिका स्तरीय अस्पताल बन्न थालेपछि स्थानीयमा खुसी पछाएको छ । लामो समयदेखि सामान्य रोगको उपचार गर्न घण्टौँ टाढा पुग्दै आएका स्थानीयमा अब घरै अगाडि उपचार गराउन पाउनेमा आशावादी छन् ।

यो अस्पताल संचालनमा आए यहाँबाट विशेषज्ञ सेवा प्रदान हुने छ । अस्पताल गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्ने छ । झिम्पा गाउँको फेँदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा भएपछि निसीखोलाका हजारौँ नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुने छ । यहाँका नागरिकहरु सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएकोमा आधारभूत अस्पताल निर्माण पश्चात गाउँठाउँबाटै सहज सेवा लिन पाइने स्थानी प्रेमबहादुर मगरले बताउनुभयो । अहिलेसम्म गाउँमा कोही बिरामी भए उपचारका लागि झिवाखोला पुग्नु परेको सुनाउँदै अस्पताल संचालनपछि धेरैलाई सहज हुने उहाँको भनाइ छ ।

मगर भन्नुहुन्छ- “यहाँ यति ठूलो अस्पताल बन्छ भन्ने लागेको थिएन, सरकारले गाउँका मान्छेको समस्या बुझेर यहाँ अस्पताल बनाउँदै छ, हामी धेरै खुसी भएका छौँ, अब बिरामी भए पनि हजारौँ पैसा खर्च गरेर टाढा जान नपर्ने भयो, गाउँमै ठूला अस्पताल बन्न थालेको छ, अहिलेसम्म यस क्षेत्रका मान्छेहरु बिरामी पर्दा बित्तिकै बुर्तिबाङ जान्थे, बुर्तिबाङ भएन भने पाल्पा, पोखरा, काठमाडौँ जाने गर्थे, उपचारका लागि धेरै खर्च हुन्थ्यो अब त्यो समस्या हट्ने छ ।”

केन्द्र सरकारको सहयोगमा यहाँ आधारभूत अस्पताल बन्न लागेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार चन्दले जानकारी दिनुभयो । अस्पताल आगामी २०८० पौष महिनामा सम्पन्न गर्ने गरि निर्माण सुरु भएको उहाँको भनाइ छ । निर्माण कम्पनीले त्यस अगावै सक्ने गरि काम गरिरहेको चन्दले बताउनुभयो । गाउँपालिकाले १० करोड ९४ लाखको ‘स्टिमेट’ गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाख रुपैयाँमा निर्माण गर्ने गरि जिम्मा लिएर काम तीव्र गतिमा गरिरहेको उहाँ बताउनुहुन्छ ।

“निर्माण कम्पनीले अहिले धमाधम काम गरि रहेको छ, अघिल्लो वर्षदेख नै काम गर्ने गरि अस्पतालको सम्झौताको काम पूरा भएको थियो, अब धेरै काम गर्न बाँकी देखिन्न, पौषसम्म काम सक्नु पर्ने हुन्छ,” चन्दले भन्नुभयो- “बन्दै गरेको अस्पताल निसीखोलाको छेउमा रहेको हुँदा जोखिम जस्तो देखियो, त्यसले गर्दा गाउँपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेर तटबन्धनको काम अगाडि बढेको छ, उपभोक्ता समितिमार्फत अहिले काम भएको छ ।”

भवन निर्माणका लागि गाउँपालिकाले दुई वर्ष अगाडिनै आठ रोपनी निशुल्क जग्गा प्राप्त गरेको थियो । अस्पताल बनाउन ७ रोपनी २ आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । स्थानीय दुर्गबहादुर सुनारलगायतका दाताले अस्पताल निर्माणका लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्षनै अस्पतालको शिलान्यास गरेको थियो । नागरिकलाई पालिकाबाटै गुणस्तरीय र सहज रुपमा स्वाथ्य सेवा प्रदान गर्नका लागि यहाँ अस्पताल निर्माण गरेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । अस्पताल संचालनमा आए जटिल प्रकारका उपचारबाहेक अन्त जान नपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष घर्ती मगर भन्नुहुन्छ- “पहिलेदेखि हाम्रो पालिकाले पछाडि परेको थियो, त्यसले गर्दा विकासले छुन सकेको थिएन, अहिले बल्ल विकासले गति लिन थालेको छ, निसीखाेलामा अहिलेसम्म विशेषज्ञ डाक्टरद्वारा नागरिकको स्वास्थ्य परीक्षण र उपचार हुन सकेको छैन, अब एउटा अस्पतालमा बनिसकेको पनि विशेषज्ञ सुविधा नागरिकले पाउने छन् , स्वास्थ्य उपचारका लागि नजिकमा अस्पताल नहुँदा विगतमा धेरै नागरिकले अकालमा ज्यान गुमाउनु पर्‍यो, अब सामान्य बिरामी भए पनि बुर्तिबाङ पुग्नु पर्ने बाध्यता हट्ने छ भने नागरिकको स्वास्थ्य, समय र पैसासमेत बचत हुनेछ ।”

निर्माण कम्पनीका प्रमुख दीपक अदैले हालसम्म अस्पतालको ८६ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । सम्झौता मिति अगावै सक्ने काम गरि काम गरे पनि काम गरेको रकम रोकिँदा समस्या भएको अदैको भनाइ छ । हाल निसीखोला गाउँपालिकामा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइ गरि आठ स्वास्थ्य संचालनमा छन् । अबको केही दिनमै गाउँपालिकाले निसेल ढोरमा सामुदायिक स्वास्थ्य इकाइ संचालन गर्ने भएको छ । निसेलढोरमा अहिलेसम्म स्वास्थ्य संस्था नहुँदा त्यहाँका स्थानीय उपचारका लागि निसीखोला र बुर्तिबाङ झर्नु पर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?