प्रज्ञा कविता महोत्सवमा पुरस्कृत नेपाली लोकछन्दको इतिहास

हिमालय टाइम्स
Read Time = 18 mins

✍️ चन्द्रप्रसाद न्यौपाने

शास्त्रीय छन्दमा लेखिएका कविताहरू राज्य तहबाटै उपेक्षित हुँदै आएको पाइन्छ । विसं २०१४ सालमा स्थापना भएको नेपाल प्रज्ञा-प्रतिष्ठान नेपालका भाषा, साहित्यको अध्ययन, अन्वेषण, मौलिक सिर्जनात्मक वातावरणको निर्माण, विद्वान् एवम् प्रतिभाका सम्मान गर्नका निम्ति स्थापित एक राष्ट्रिय प्रतिष्ठित संस्था हो । विसं २०१४ मा गठित यो प्रतिष्ठान २०३१ मा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा परिणत भएको थियो । विसं २०६४ मा नेपाल सरकारले यस प्रतिष्ठानलाई फुटालेर ललितकला र सङ्गीत, नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा-प्रतिष्ठानको गठन गरेको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको वार्षिक गतिविधि अनुसार प्रत्येक साल असार ९ गते कविता महोत्सव पनि गर्दै आएको छ । विसं २०२२ सालदेखि सुरु भएको कविता महोत्सव २०४६ सालसम्म निरन्तर भयो भने विसं २०४७ मा भएको थिएन । त्यस्तै २०६३ देखि २०६६ सालसम्म चार वर्ष प्रतिष्ठानले वर्षेनी मनाउँदै आएको कविता महोत्सव रोकिएको थियो । विसं २०८० देखि प्रथम द्वितीय र तृतीय हुने परम्परालाई हटाएर उत्कृष्ट दश कविता भनेर छनोट गर्ने सुरुवात भयो । विसं २०२२ देखि २०७९ सम्मका ५८ वर्षहरूमा ५३ वर्षका कविता महोत्सवमा विजयी भएका २६५ कवितामा संख्यागत हिसाबले शास्त्रीय सूत्रमा रचित र नेपाली लोकलयका सूत्रमा रचित कविताले के कस्तो स्थान प्राप्त गरे त ? हेरौँ :-

२०२३ : पुरु रिसाल (तृतीय, छन्द : नेपाली सवाई) । २०२४ : कृष्णप्रसाद ज्ञवाली (प्रथम, छन्द : नेपाली झ्याउरे), कञ्चन पुडासैनी (द्वितीय, छन्द : अनुष्टुप) र वासुदेव त्रिपाठी (तृतीय, छन्द : उपजाति) । २०२५ : पूर्णप्रसाद ब्राहृमण (प्रथम, छन्द : शार्दूलविक्रीडित), वासुदेव त्रिपाठी (द्वितीय, छन्द : अनुष्टुप) र कृष्णप्रसाद पराजुली (तृतीय, छन्द : अनुष्टुप) । २०२६ : शरदकुमार भट्टराई (प्रथम, छन्द : अनुष्टुप) । २०२७ : मुकुन्दशमशेर थापा (द्वितीय, छन्द : अनुष्टुप), खेमराज केशवशरण (तृतीय, छन्द : शार्दूलविक्रीडित) र दुर्गाप्रसाद मजगैञा (तृतीय, छन्द : अनुष्टुप) । २०२८ : दैवज्ञराज न्यौपाने (तृतीय, छन्द : उपजाति) र हरिहर शास्त्री (तृतीय, छन्द : अनुष्टुप) ।

२०३१ : रामचन्द्र भट्टराई (प्रथम, छन्द : अनुष्टुप), २०३१ : घटराज भट्टराई (प्रथम, छन्द : अनुष्टुप), देवीप्रसाद वनवासी (तृतीय, छन्द : नेपाली झ्याउरे) र भरतराज पन्त (तृतीय, छन्द : वंशस्थ) । २०३२ : बद्रीचन्द्र खनाल (तृतीय, छन्द : शार्दूलविक्रीडित) । २०३४ : महेश्वर न्यौपाने (तृतीय, छन्द : अनुष्टुप) र हरिहर शास्त्री (तृतीय, छन्द : उपजाति) । २०३५ : मुकुन्दशरण उपाध्याय (प्रथम, छन्द : अनुष्टुप) । २०३६ : पीताम्बर अधिकारी (तृतीय, छन्द : मन्दाक्रान्ता) । २०३७ : केदार न्यौपाने (तृतीय, छन्द : अनुष्टुप) र भानुभक्त पोखरेल (तृतीय, छन्द : शार्दूलविक्रीडित) । २०३९ : भानुभक्त पोखरेल (द्वितीय, छन्द : अनुष्टुप) ।

२०४१  राधेश्याम भट्टराई (तृतीय, छन्द : अनुष्टुप) । २०४२ : गणेश विषम, (तृतीय, छन्द : अनुष्टुप) । २०४३ : गोविन्दबहादुर कुँवर (तृतीय, छन्द : अनुष्टुप) र बुँद राना (तृतीय, छन्द : नेपाली सवाई) । २०४४ : रामबाबु सुवेदी (प्रथम, छन्द : अनुष्टुप) र डमरुबल्लभ पौड्याल (द्वितीय, छन्द : अनुष्टुप) । २०४५ : लालगोपाल सुवेदी (तृतीय, छन्द : अनुष्टुप) । २०४६ : टीकाराम शर्मा पौड्याल (प्रथम, छन्द : अनुष्टुप) । २०४८ : हेमचन्द्र नेपाल (तृतीय, छन्द : शार्दूलविक्रीडित) । २०५० : बाह्रमासे (तृतीय, छन्द : अनुष्टुप) । २०५१ : हेमचन्द्र नेपाल (तृतीय, छन्द : उपजाति) । २०५५ : लालगोपाल सुवेदी (तृतीय, छन्द : शिखरिणी) ।

२०५७ : हरि पोखरेल (तृतीय, छन्द : अनुष्टुप) । २०५८ : हेमराज अधिकारी (द्वितीय, छन्द : शार्दूलविक्रीडित) । २०५९ : शैलेन्द्र सिम्खडा (तृतीय, छन्द : अनुष्टुप) । २०६० : सोमनाथ सुवेदी (द्वितीय, छन्द : अनुष्टुप) । २०६१ : विश्वप्रकाश पौडेल (द्वितीय, छन्द : अनुष्टुप) । २०६२ : नारायण निराशी, छन्द : मन्दाक्रान्ता । २०६७ : भोला धरातल (तृतीय, छन्द : मन्दाक्रान्ता) । २०७१ : नारायणप्रसाद पोखरेल (तृतीय, छन्द : अनुष्टुप) ।

२०७२ : सुदेश सत्याल (तृतीय, छन्द : शार्दूलविक्रीडित) । २०७३ : त्रिलोचन आचार्य (तृतीय, छन्द : अनुष्टुप) । २०७४ : दीपेन्द्र उपाध्याय (तृतीय, छन्द : अनुष्टुप) । २०७५ : मेनुका चापागाईं उपाध्याय, (तृतीय, छन्द : नेपाली सवाई) । २०७६ : सुभाषचन्द्र भण्डारी (द्वितीय, छन्द : शार्दूलविक्रीडित) । २०७७ : गणेशप्रसाद खतिवडा (तृतीय, छन्द : शार्दूलविक्रीडित) । २०७८ : सविता बराल (तृतीय, छन्द : शार्दूलविक्रीडित) र २०७९ : टीका आत्रेय (प्रथम, छन्द : पञ्चचामर) ।

नेपाली जनजिभ्रोमा भिजेको आफ्नै नेपाली माटोमा जन्मेहुर्केको नेपाली लोकभाका लयमा संरचित सिर्जनालाई गाउँले, पाखे, घाँसेहरूले गाउने गोठाले भनेर खिसीटिउरी गर्ने चलन यद्यपि छँदै छ । यस्तै हेपिएको मौलिक छन्दमा देवकोटाले मुनामदन लेखे ।

विसं २०२२ देखि २०७९ सम्मका ५८ वर्षहरूमा ५३ वर्षका कविता महोत्सवमा विजयी भएका २६५ जना पुरस्कृत कविहरूमा छन्दमा ४० पटक ५३ जनाले स्थान पाएको देखिन्छ । २६५ कवितामा छन्दका ५२ कविता मात्र पुरस्कृत हुनु भनेको १५.०९ (नेपाली लोक छन्दमा मात्र २.२६) प्रतिशत हो जसमा प्रथम ९ जना, द्वितीय नौजना र तृतीय हुने ३५ जना छन् । विसं २०४६ पछि २०७८ सालसम्म ३२ वर्षको अवधिभर छन्द कविताले प्रथम स्थान पाएन । विसं २०७९ सालमा कवयित्री टीका आत्रेयको पञ्चचामर छन्दमा रचित कविताले प्रथम स्थान प्राप्त गरेको थियो । छन्दका कवितामा प्रथम स्थान प्राप्त गर्ने पहिलो महिला कवि टीका आत्रेय हुन् भने ४० वर्षअघि विसं २०३९ सालमा शारदाकुमारी विन्दुको गद्यकविताले प्रथम स्थान प्राप्त गरेको भेटिन्छ ।

प्रज्ञा प्रतिष्ठानले वर्षेनी गर्दै आएको कविता महोत्सवमा शास्त्रीय वार्णिक छन्दका अनुष्टुप, उपजाति, शार्दूलविक्रीडित, वंशस्थ, मन्दाक्रान्ता शिखरिणी र पञ्चचामर छन्दका कविताहरूले ४८ पटक (४८ जना) पुरस्कृत भएका भेटिन्छन् भने नेपाली लोकलयका वार्णिक छन्दहरूमा नेपाली सवाईले चारपटक र नेपाली झ्याउरेले दुईपटक गरी जम्मा छ पटक (छजना) ले पुरस्कृत हुने अवसर पाएको पाइन्छ । नेपाली जनजिभ्रोमा भिजेको आफ्नै नेपाली माटोमा जन्मेहुर्केको नेपाली लोकभाका लयमा संरचित सिर्जनालाई गाउँले, पाखे, घाँसेहरूले गाउने गोठाले भनेर खिसीटिउरी गर्ने चलन यद्यपि छँदै छ । यस्तै हेपिएको मौलिक छन्दमा देवकोटाले मुनामदन लेखे ।

नेपालीपनलाई जतिसुकै उपेक्षित गरे पनि पढ्न चाहिँ लाज पचाएर सबैले पढे । चमेलीचन्द्रलगायत झण्डै एक दर्जन महाकाव्यसम्मको सिर्जना पाइसकेको नेपाली मझौला झ्याउरे कमलोमा नौनी जत्तिकै र उपयोगीमा घ्यू जत्तिकै छ तापनि किन उपेक्षित छ ? त्यस्तै नेपाली सवाईको हालत यस्तै छ । तामाङ सेलो, मारुनी, तिजेलगायत करिब दुई सयको संख्यामा नेपाली लोकभाका छन् जसमा लेखिएका कविताहरू देख्नेबित्तिकै परैबाट झटारो हानिन्छ । छिः छिः र दुर्दुर गरिन्छ यसो किन हुन्छ ? नेपाल प्रज्ञा प्रतिष्ठानजस्तो एउटा जिम्मेवारी संस्थाले उसले निकाल्दै आएको कविता जस्ता पत्रिकामा नेपाली लोकभाकाका कवितालाई किन कम स्थान दिइन्छ ? नेपाली लोकलयका कविता सङ्कलन गरेर विशेषाङ्ककै रूपमा कविता अङ्क निकाल्दा के प्रज्ञाको प्रतिष्ठामा आँच आउने हो र ?

स्मरण रहोस् : वर्षेनी पाँचजना पुरस्कृत हुने गरेका अधिकांश वर्षहरूमा तीनजना तृतीय हुने परिपाटी अनुसार कम्तीमा तृतीयको पनि तेस्रो स्थानमा एउटा छन्द कवितालाई पुरस्कार दिने चलन थियो तर २०८० देखि १० जना पुरस्कृत गर्ने व्यवस्था हुनेबित्तिकै झन् एकजना पनि समावेश गरिएन ।

उपेक्षित शास्त्रीय छन्दकविता :
भर्खरै सम्पन्न भएको नेपाल प्रज्ञा-प्रतिष्ठानको वार्षिकोत्सवमा आयोजित कविता प्रतियोगितामा छन्दका कविता किन समावेश भएन ? भन्ने प्रश्न सामाजिक सञ्जालमा यत्रतत्र सुनिन्छ । यसो हुनुमा प्रज्ञा प्रतिष्ठानमा केही बाध्यात्मक कारण हुन सक्छन् । छन्द भनेको के हो र यसका किसिम र प्रकार के के हुन्छन् ? कति हुन्छन् ? कुन भाषाबाट प्रादुर्भाव भयो ? पूर्व-पश्चिमा साहित्यमा यसको प्रभाव कस्तो छ ? यतिसम्म सैद्धान्तिक र व्यावहारिक जानकारी कविहरूमा हुनैपर्छ ।

खासमा नेपाली भाषासाहित्यको अस्तित्व र पहिचान राख्ने काव्य भनेका राष्ट्रको पूर्वपश्चिम र उत्तर-दक्षिणका अनेक भाषाभाषिका लोकलयका काव्यिक सिर्जना हुन् जसलाई नेपाली भाषासाहित्यको विकास विस्तार गर्न भनी स्थापना गरिएको प्रज्ञा प्रतिष्ठानले कहिल्यै बुझेन ।

पछिल्लो चरण या सम्वत् २००० पछि नेपाली साहित्यमा गद्य र पद्य भनेर काव्यिक क्षेत्रमा विभेदको स्थिति सुरुवात भएको पाइन्छ । संस्कृत साहित्यबाट आएका शास्त्रीय सूत्रहरूमा सिर्जना गर्ने कविहरूमाथि युरोप अमेरिकातिरका विनातुकका शैलीहरूले आक्रमण गर्न थाल्यो यसको प्रत्यक्ष असर २०१४ सालमा स्थापित नेपाल एकाडेमीमाथि परेको थियो । राज्य तहबाट काव्यिक क्षमताका योग्य प्रतिभाहरूलाई पाखा लगाएर पश्चिमाहरूको आक्रमणलाई प्रतिकार गर्न नसक्ने अयोग्यलाई काव्यिक नेतृत्वमा नियुक्ति गरिनाले संस्कृत छन्द र नेपाली लोकलयले पाखा लाग्नुपरेको देखिन्छ ।

खासमा नेपाली भाषासाहित्यको अस्तित्व र पहिचान राख्ने काव्य भनेका राष्ट्रको पूर्वपश्चिम र उत्तर-दक्षिणका अनेक भाषाभाषिका लोकलयका काव्यिक सिर्जना हुन् जसलाई नेपाली भाषासाहित्यको विकास विस्तार गर्न भनी स्थापना गरिएको प्रज्ञा प्रतिष्ठानले कहिल्यै बुझेन यो नै नेपाली भाषासाहित्यप्रति अराष्ट्रिय र अराजकताको पराकाष्ठा बन्यो । न प्रतिष्ठानका संस्थापक राजा महेन्द्रले यो कुरा बुझे न पछिका शासकहरूले । तत्कालीन विद्वान्, विज्ञहरूले बुझाइदिन सकेका भए महेन्द्रमा चाहिँ यो कुरा बुझ्न सक्ने विवेक थियो तर राजा महेन्द्रको पालामा पनि राम्रा र क्षमतावान् प्रतिभाहरूका प्रतिभा मारिएका प्रशस्तै नजिरहरू छन् ।

आफ्नै माटोबाट उम्रिएका अन्नहरू फालेर अर्कासँग मागेर खाने शासकहरू रहेसम्म नेपाली साहित्यले विश्वस्तरमा कहिल्यै फड्को मार्न सक्दैन । अहिलेका प्रज्ञाका प्राज्ञिक भनिएका भाषिक शासकहरूमा प्रायस काव्यिकचेत न्यून नै देखिन्छ । आयतीत पश्चिमा शैलीका काव्यात्मक प्रस्तुतिमा पूर्वीय शैलीका बिम्ब, प्रतीक, अलङ्कारका संयोजन नगरी काव्य शक्तिशाली बनेका देखिँदैनन् पनि । रामप्रसाद ज्ञवालीहरूजस्ता गद्यपद्य दुवै क्षेत्रका सर्जक एवम् समीक्षात्मक क्षमता पनि भएका सयौँ बहुमुखी प्रतिभाहरू छन् । काव्यिक क्षेत्रमा त्यस्ता प्रतिभावान् क्षमताका एक-दुईजना प्रतिभालाई पनि प्रतिष्ठानमा नियुक्ति दिएको अर्थात् मूल्याङ्कन समितिमा राखेको भए यस्ता आवाज आउने थिएनन् ।

स्मरण रहोस् संस्कृत साहित्यपछि छन्दमा सिर्जना भएका श्लोक संख्याका आधारमा नेपाली भाषामा जति कविता संसारका अरू कुनै पनि भाषामा लेखिएका छैनन् । २० लाखभन्दा बढी श्लोकहरू नेपाली भाषामा लेखिसकिएका छन् । यो हिसाबले साहित्यिक क्षेत्रको काव्यिक फाँटमा संस्कृत भाषा साहित्यपछि नेपाली भाषासाहित्य संसारकै दोस्रो सम्पन्न भाषा हो । गुणस्तरको परिभाषा आआफ्नै तर्क हुन् जसमा कुनै तथ्य र तुक छैन ।

नेपाली माटोमा आफैँ जन्मिएका करिब दुई सय संख्याका हाराहारीमा नेपाली लोकलयका काव्यिक संसार छ र यो पनि संसारका गणनामा आउने भाषाहरूमध्ये नै पर्दछ । मानिलिऊँ मुनामदन दुई सयजति नेपाली लोकलयका सूत्रमध्ये नेपाली मझौला झ्याउरेमा लेखिएको खण्डकाव्य हो जुन पुस्तक नेपाली साहित्यको काव्यिक इतिहासमै सर्वाधिक चलेको इतिहास छ । यसका विविध कारण छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?