पश्चिम बंगाल ग्राम पञ्चायत निर्वाचनमा कार्यकर्ताको हत्या

Read Time = 2 mins

कोलकाता । तृणमूल कांग्रेसले तीन कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै पञ्चायत निर्वाचनमा सुरक्षा व्यवस्था गर्न नसकेकामा सरकारको आलोचना गरेको छ । विपक्षी दलले आफ्ना कार्यकर्ता मारेको तृणमूलको आरोप छ ।

शनिबार बिहानदेखि मतदान सुरु भएपछि पश्चिम बंगालमा हिंसाका धेरै घटना भएका र हिंसात्मक गतिविधि हुन नदिन राज्य सरकारले विश्वसनीय तयारी नगरेका उक्त दलले रोष प्रकट गरेको छ । ‘हाम्रो पार्टीका तीन कार्यकर्ताको रेजीनगर, तुफानगञ्ज र खारग्राममा हत्या गरिएको छ र दुईजना डोमकोलमा बन्दुकको गोलीबाट घाइते भएका छन्’, लामो ट्विटर पोष्टमा टिएमसीका एकजना नेताले भनेका छन् ।

शुक्रबार राज्यका परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदावादमा भएका झडपमा चारजना राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका थिए ।

यसैबीच, एएफपीका अनुसार चुनावी पश्चिम बंगालको चुनावी अभियानका क्रममा आज भएका राजनीतिक झडपमा सातजनाले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् । झडपमा सत्तारुढ दल तृणमूल पार्टीका पाँचजना मारिएका प्रहरीले जनाएको छ ।

‘राज्यभरका विभिन्न गाउँमा मतदानसम्बन्धी हिंसामा सात जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका छन्’, पश्चिम बंगालको प्रहरी बलका अतिरिक्त महानिर्देशक जावेद शमीमले पुष्टि गर्नुभएको छ ।

भारतीय जनता पार्टी (बीजेपी)ले हालैका वर्षमा पश्चिम बंगालमा आफ्नो कब्जा जमाउन कडा परिश्रम गरेको छ । दश करोड चालीस लाख जनसंख्या भएको उक्त राज्यमा ग्राम पञ्चायत चुनावमा दुई लाख उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस÷एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?