नेपाली भाषा, भानुभक्त र वर्तमान

Read Time = 12 mins

-शर्वराज आचार्य
नेपाली भाषा हुनुभन्दा अगाडि यो भाषा सरकारी रूपमा गोरखा भाषा थियो । गोरखापत्र (१९५८) जस्तो अखबारले वर्तमानसम्म र गोरखा भाषा प्रकाशिनी समिति (१९७०) जस्ता पुराना प्रकाशनले यसको नाम जीवन्त बनाएका छन् । मोतीरामले विसं १९४८ तिर भानुभक्तको जीवनीमा नेपाल सरकार नभनेर श्री ५ गोरखा सरकार र अहिलेको नेपाली भाषालाई गोरखा भाषा भनेका छन् । भानुभक्तले चाहिँ तत्कालीन गोरखा भाषालाई भाषा शब्दले सम्बोधन गरेको पाइन्छ । प्रमाणका रूपमा उनको स्वहस्तलिखित रामाययणको अयोध्या काण्ड, किष्किन्धा काण्ड, सुन्दर काण्ड र युद्ध काण्डको अन्त्यमा भाषाश्लोक सम्पूर्णम् भनिएको छ ।

अनि युद्ध काण्डको सुरुमा अथ युद्ध काण्ड भाषा लिख्यते र उत्तर काण्डको सुरुमा अथ उत्तर काण्ड भाषा श्लोक लेखिएको छ । हस्तलिखित युद्ध काण्डको अन्त्यमा ‘........भाषा श्लोक बनाइदिन्छु’ र मोतीराम अनुसार प्रश्नोत्तर मालाको अन्त्यमा ‘......भाषा बनाइदिया’ लेखेको पाइन्छ । यसरी कविले स्वरचित कवितालाई श्लोक र वाणी वा बोलीलाई भाषा भनेका छन् । हुन त भानुभक्तले श्लोक लेख्न थालेताका विसंं १८८७ तिर नेपाली भाषाको पहिलो विदेशी व्याकरणकार एटनले आफ््नो कृतिको नाम नेपाली व्याकरण नै राखेका छन् ।

स्वदेशीले भाषा वा गोरखाभाषा जे भने पनि हाम्रो भाषालाई विदेशीले नेपाली भाषा भन्न सिकाएको देखिन्छ । किन्तु हेमराज पण्डितले विसं १९६९ तिर प्रकाशित निजको चन्द्रिका व्याकरणलाई गोरखा भाषा व्याकरण भनेका छन् । त्यसकारण नेपाली भाषालाई भानुभक्त जस्ता कविले साहित्यमा भाषा, विदेशी व्याकरणकारले नेपाली भाषा, स्वदेशी व्याकरणकार र तत्कालीन सरकारले गोरखा भाषा भन्ने नामकरण गरेकोे देखिन्छ ।

नेपाली भाषालाई कलात्मक सौन्दर्य प्रदान गर्न भानुभक्तको अविस्मरणीय योगदान छ । भाषिक कलाको अभिव्यक्ति साहित्य हुनाले विशेष गरेर साहित्यिक क्षेत्रमा भानुभक्तको सम्झना गरिन्छ । तर भानुभक्तत नेपाली साहित्य परिमार्जनका संवाहकमात्र होइनन्, नेपाली भाषा परिमार्जनका पनि संवाहक हुन् ।

नामकरण जस्तो देखिए पनि भानुभक्ततले भाषामा श्लोक लेखे । तिनताका संस्कृत भाषाको रामायण पढ्नेहरूको मन ईश्वरमा लाग्ने रहेछ र भानुभक्तले भाषा रामायण पढ्नेहरूको पनि मन ईश्वरमा लागोस् भनेर रामायण लेखेको बताए । स्वहस्तलिखित रामायणको युद्ध काण्डको अन्त्यमा श्लोक लेखी उनले यो भाषा रामायण लेख्नुको कारण बताएका छन् । जसमा भाषा श्लोक बनाएर धार्मिक दृष्टिले लोकको हित गरेको चर्चा छ । तर, उनको रामायणभित्र धार्मिक दृष्टिले लेखिएका श्लोकमात्र थिएनन्, भाषिक दृष्टिले भाव चयन, शब्द चयन र शब्द संयोजनका कला थिए ।

त्यसमा रस, अलङ्कार, गुण, ध्वनि र वक्रोक्ति निर्माण तथा रागात्मक अभिव्यक्ति थियो । भर्खर तोते बोलीमा प्रस्फुटित नेपाली भाषाको अभिव्यक्तिमा कलात्मक नवीनता थियो । यी नवीनताले संस्कृत भाषाको अध्यात्म रामायण भिन्न भनुभक्तीय वैशिष्ट्य देखाउँछन् । यी वैशिष्ट्यले भानुकृत भाषारामायणलाई मौलिक काव्यका रूपमा रूपान्तरण गरे । भानुभक्तीय रामायण संस्कृत भाषाको अनुवाद वा भावानुवाद मात्र भन्ने धेरै समालोचक छन् । कुनै समालोचकले यसलाई मौलिक काव्य वा नेपाली महाकाव्यसमेत भन्दछन् ।

तर, ‘संस्कृत अध्यात्म रामायण र भानुभक्तीय रामायणको तुलनात्मक अध्ययन’ (२०७०) भन्ने कृतिका लेखक स्वर्गीय रामचन्द्र पौडेलले यस पंक्तिकारसँग भानुकृत रामायणलाई मौलिक कृति मान्न कठिन छ भनेका थिए । संस्कृत अध्यात्म रामायणको कथाको पोयो समाती भानुभक्तले भाषा रामायण लेखे । अध्यात्ममा रामायणमा पाइने वर्णन र विस्तार भाग छोडेकाले यो पोयो उपजीव्य जस्तै बनेको छ । राष्ट्रिय दृष्टिले हेर्दा यसले धार्मिक, भाषिक, साहित्यिक र सांस्कृतिक रूपमा लोकहित गरेको मानिन्छ । उनको कलमले यही उपजीव्य समातेर कवि कल्पनाको रंगीन रंग नपोती नेपाली संस्कार र संस्कृतिमा ढालेर मौलिक काव्यात्मक आभा प्रदान गरेको छ ।

भानुभक्त नेपाली साहित्य परिमार्जनका संवाहकमात्र होइनन्, नेपाली भाषा परिमार्जनका पनि संवाहक हुन् । प्रयोगका दृष्टिले भानुभक्तको समयदेखि वर्तमानसम्म आइपुग्दा भाषाले कयौं गुणा प्रयोग क्षेत्र विस्तार गरिसकेको छ । शिक्षा, स्वास्थ्य, ज्ञानविज्ञान, प्रविधि आदि अधुनातन क्षेत्रमा नेपाली भाषाको प्रवेश छ ।

काव्यात्मक सौन्दर्यले अभिभूत नेपाली भाषा निर्माण भानुभक्तको प्राप्ति थियो । भानुभक्तको चेतन मनमा यो प्राप्तिको परखको मात्रा कति थियो भन्न त सकिँदैन तर परम मित्र धर्मदत्त ज्ञवालीका एक पाल्पाली मित्रलाई ‘भाषाश्लोक बनाइ राख तिमीमा बुद्धि र बर्कत् भया’ भनी लेखेकाले भानुभक्तमा भाषाश्लोकको कलात्मक लेखनप्रति घमण्ड थियो भन्न सकिन्छ । यो भानुभक्तीय श्लोकमा निहित काव्यात्मक सौन्दर्यको परख गर्ने प्रथम व्यक्ति मोतीराम भट्ट देखिन्छन् । त्यसैले भानुभक्तको भक्तिरस र शृंगार रसमा देखिने काव्यकलात्मक सौन्दयको महिमागान मोतीरामले गरेका छन् । त्यसैले उनले गोरखा भाषामा भानुभक्त जस्तो भक्तिरसको कवि अर्को आउन नसक्ने उद्घोषसमेत गरे । काव्यात्मक सौन्दर्यका दृष्टिले भानुभक्त उत्तरवर्ती कविका आदर्श हुन् । त्यही आदर्शको आलोकमा नेपाली कविताले आफ््नो काव्यसौन्दर्यको यात्रा प्रारम्भ भएको छ ।

राणाशासन कालमा मोतीराम प्रभृति नेपालीहरूले भानुभक्तलाई नेपाली साहित्यको बिम्ब बनाई प्रचार गरे । यसलाई भाषासेवी गोपाल पाँडे असीमले नेपाली शिक्षा परिषद् नामक संस्थामार्फत् राष्ट्रिय रूप दिए । उता सूर्यविक्रम ज्ञवालीले यस बिम्बलाई जातीय कविको रूपमा उभ्याए । अनि नेपाली जाति जहाँ जहाँ पुग्यो, भानुभक्त पनि बिम्ब बनेर त्यहीँ पुगे । वर्तमानमा यस बिम्बले अन्तर्राष्ट्रिय रूप लिएको छ ।

भनिन्छ, विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नेपाल सरकारले पनि भानुभक्तलाई राष्ट्रिय बिम्बका रूपमा प्रस्तुत ग¥यो । नेपाल सरकारको निम्ति राष्ट्र चिनाउन चाहिने तत्त्वहरूमध्ये भानुभक्त एउटा बिम्ब बने होलान् तर जनताले नेपाली भाषालाई कलात्मक भाषा र साहित्यको भाषा बनाउने प्रस्थानबिन्दुका रूपमा भानुभक्तलाई उभ्यायो । वर्तमानमा जनताको मात्र होइन, नेपाल सरकारको पनि भानुभक्त नेपाली भाषा विकासका आदर्श प्रकाश हुन् ।

नेपाली भाषालाई कलात्मक सौन्दर्य प्रदान गर्न भानुभक्तको अविस्मरणीय योगदान छ । भाषिक कलाको अभिव्यक्ति साहित्य हुनाले विशेष गरेर साहित्यिक क्षेत्रमा भानुभक्तको सम्झना गरिन्छ । तर भानुभक्त नेपाली साहित्य परिमार्जनका संवाहकमात्र होइनन्, नेपाली भाषा परिमार्जनका पनि संवाहक हुन् । प्रयोगका दृष्टिले भानुभक्तको समयदेखि वर्तमानसम्म आइपुग्दा भाषाले कयौं गुणा प्रयोग क्षेत्र विस्तार गरिसकेको छ । शिक्षा, स्वास्थ्य, ज्ञानविज्ञान, प्रविधि आदि अधुनातन क्षेत्रमा नेपाली भाषाको प्रवेश छ । परन्तु हरेक क्षेत्रमा अपरिमार्जित भाषाको औपचारिक प्रयोग र उच्चारण देखिन्छ र सुनिन्छ । के हामी यस्ता क्षेत्रमा भानुभक्तले देखाएको भाषिक परिर्माजनको यात्रामा हिँडेका छौं ? उत्तर आउँछ, हिँडेका छैनौं ।
हामी हरेक क्षेत्रमा भानुभक्तले जस्तो सकेसम्म साक्षर निरक्षर दुबैले बुभ्mन सक्ने भाषा प्रयोग र उच्चारण गरेका हुँदैनौं । सरकारी र गैरसरकारी निकायका पत्रपत्रिका, देशभर बजार र टोल आदिमा देखिने साइनबोर्ड, डाक्टरहरूले लेख्ने प्रेस्क्रिप्सन, सञ्चारमाध्यममा देखिने र सुनिने विज्ञापन, संवाद, वार्ता र जनसरोकारका आधिकारिक सूचनाहरूमा अपरिमार्जित भाषिक प्रयोग, उच्चारण र गैरनेपालीपन एवं अशुद्धता देख्न र सुन्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?