पुतलीबजारमा रास्वपाको कमिटी गठन, सभापतिमा डा. पङ्गेनी

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले भेला आयोजना गरी नयाँ कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिको सभापतिमा डा वसन्त पङ्गेनी, उपसभापति गुरुप्रसाद ढकाल, कोषाध्यक्षमा देवी अर्याल, सदस्यहरुमा डिल्लीराम सुबेदी, जगन्नाथ अर्याल, मुनर दिल अली, उमा फुयाँल र सुवास रेग्मी रहनुभएकाे छ । सचिव भने समावेशी मिलाउने गरी पछि निर्णय गरिने युवा नेता बोधराज रेग्मीले बताउनु भयाे ।

कमिटी गठन गर्न आयोजित उक्त नगर भेलामा प्रमुख अतिथि रास्वपा केन्द्रीय उपसभापति डोलप्रसाद अर्यालले रास्वपाले मञ्चका कार्यक्रमहरुमा पनि सुधार गर्न चाहेकाले वडादेखि केन्द्रसम्म एउटै विधि हुने गरी छोटो र वस्तुगत बनाउने बताउनु भयाे ।

उहाँले भन्नुभयाे– ‘रास्वपामा लाग्ने कुनै पनि नागरिकले मञ्चमा बोलाएनन् भनेर मन सानो गर्नु हुँदैन । देश बनाउने यति ठूलो अभियानमा हिँड्नेहरु मञ्चमा नाम खोज्नु हुँदैन ।’ उहाँले पार्टीमा कोही पनि गरिब हुनका लागि नलाग्न सुझाव दिँदै आफनो पेसा व्यवसाय बिग्रने हिसाबले राजनीति नगर्न सुझाव दिनुभयाे । उहाँले भन्नुभयाे, ‘धनी बन्नका लागि नभई सेवा गर्नका लागि पार्टीमा जोडिने हो ।’

पब्लिक टिभीका पत्रकार युवराज पौडेलले सोधेको बाँदर आतङ्क समाधानका लागि तपाईहरुले सरकारलाई केही सुझाव दिनुभएको छ कि भन्ने प्रश्नमा रास्वपा केन्द्रीय उपसभापतिले बाँदर आतङ्कको बारेमा पार्टीले विभिन्न अध्ययन गरिरहेको बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘बाँदर आतङ्कका बारेमा हामीले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासहरु हेरिरहेका छौं, अध्ययन गरिरहेका छौं । यसका विभिन्न पक्षहरु छन् । हामी यसका गम्भीर छौं ।’

उक्त नगर भेलामा प्रदेश सभापति राजेन्द्र गौतम, रास्वपा प्रदेश इन्चार्ज झविलाल डुम्रे, प्रदेश महामन्त्री अशोक खड्का, केन्द्रीय सदस्य मेघ आले, पुतलीबजार संयोजक डा.वसन्त पङ्गेनी लगायतको उपस्थिति रहेको थियो ।

स्याङ्जाको प्रगतिनगर सभाहलमा भएको उक्त कार्यक्रमको सभपतित्व पुतलीबजार संयोजक डा. वसन्त पङगेनी, सञ्चालन जिल्ला संयोजक विश्वास भण्डारीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?