हिन्दूराष्ट्र र राजसंस्था सम्भव छ : लिङ्देन

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन हिन्दूराष्ट्र र राजसंस्था स्थापना सम्भव भएको बताउनुभएको छ । उहाँले सोमबार नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित ‘सनातन हिन्दूराष्ट्रको लागि पदयात्रा’ कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले हिन्दूराष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको पनि जिकिर गर्नुभयो । उहाँले हिन्दूराष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरूले उठाएको मुद्दा भएकाले उनीहरूलाई बुझाउनका लागि पदयात्रा गरेको बताउनुभयो ।

उहाँले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दूराष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताउनुभयो । उहाँले शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दूराष्ट्र पुनःस्थापना आफूले चाहेको बताउनुभयो । उहाँले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दूराष्ट्र हटाइए पनि अब सच्चिन राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनता राप्रपाको मुद्दामा समर्थन गरिरहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘हामीले उठाइरहेको हिन्दूराष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरूले उठाएको मुद्दा हो । जसको मुद्दा हो उसैलाई बुझाउन नसकिएको, उसैले नबुझेको अवस्था हो । राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दूराष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले गरेका हौँ । यो अब निरन्तर चलिरहन्छ । हामीले कसैको सिको गर्नुपर्ने छैन, हामीले नितान्त आफ्नै संस्कृति, परम्पराको रक्षा गर्न यो कार्यक्रम अघि बढाएका हौँ । शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दूराष्ट्र पुनःस्थापना चाहन्छौँ । हामीले अन्य राजनीतिक दलसँग पनि कुरा गरिरहेका छौँ कि विगतमा भावावेशमा आएर अथवा विदेशीको दबाब र प्रभवमा परेर गरेको निर्णय गलत छ, गलत बाटोले देशलाई कुनै निस्कर्षमा लैजान सक्दैनौँ । जुनसुकै बाटोबाट भए पनि हिन्दूराष्ट्र कायम हुनुपर्छ भनिरहेका छौँ । राजनीतिले धर्ममाथि हस्तक्षेप गरेपछि, राजनीतिले हिन्दूराष्ट्र समाप्त गरेपछि यो रामनामी ओढेर मात्रै फर्किंदैन, यसमा राजनीतिक दृष्टिकोणमा हिन्दुराष्ट्र पुनःस्थापनालाई राखेको छ । हिन्दूराष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय होइन । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने कुरा हो, धेरै जनता हाम्रो मुद्दामा सहमत हुनुहुन्छ, पुनःस्थापना हुन सम्भव छ ।’

पदयात्रा कार्यक्रममा बोल्दै राप्रपा सांसद दीपकबहादुर सिंहले पदयात्रामा राप्रपाको हलोमा भोट दिनुहोस् भनेर नमागेको भन्दै आफूले हरहर महादेव भनेर आएको बताउनुभयो । उहाँले अर्को चुनावमा ७० सिट ल्याउने दाबी गर्नुभयो । उहाँले २४ बुँदे समझदारी गरेर सरकारमा राप्रपा सहभागी भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दौरा सुरुवाल लगाएर हिँड्न राप्रपाले बाध्य बनाएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न आनाकानी गरेपछि सरकार छोडेको जिकिरसमेत गर्नुभयो । सांसद सिंहले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा कुनै पनि हालतमा राप्रपा सहभागी नबन्ने दाबी गर्नुभयो । राप्रपाले मैतीदेवीदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको थियो ।

राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरू, समान विचार भएका व्यक्ति, समूह, संस्थाहरू समेतको सहभागीतामा मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुशरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दूराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियानअन्तर्गत धार्मिक पदयात्रा गरेको उहाँको भनाइ थियो ।

आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरूलाई गोलबद्ध गर्दै जाने उद्देश्यबाट धार्मिक पदयात्रा गरिएको आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले जानकारी दिनुभयो । अघिल्लो वर्षदेखि संगठनले साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?