वीपी स्मृति दिवसमा नेबिसंघद्वारा विचार गोष्ठी आयोजना

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । महामानव वी‍.पी. कोइरालाको ४१ औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघ त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जा कमिटीको आयोजनामा क्याम्पस प्राङ्गणमा वृक्षारोपण तथा विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि विश्वप्रेम अधिकारीले वीपी कोइरालाको राजनैतिक तथा साहित्यिक योगदानको चर्चा गर्दै वीपी युगकै महामानव भएको धारणा व्यक्त गर्नुभयो । उहाँले वीपी साहित्यको क्षेत्रमा मनोवैज्ञानिक यथार्थवादी आख्यानकारका रुपमा परिचय बनाएका साहित्यकार भएको भन्दै वीपीका कथा र उपन्यासका विशेषता तथा राजनीति र व्यक्तिगत जीवनका सम्बन्धका बारेमा चर्चा गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोल्दै गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङले वीपीको समाजवादको बाटोबाट हिँड्ने हो भने आजको आर्थिक समस्या समाधान हुने बताउनुभयो । उहाँले वीपी युगकै महान् नेता भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घ त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति सबिन रेग्मीले वीपी कोइरालाको मेलमिलापको नीति अहिले पनि उत्तिकै आवश्यक भएको बताउनुभयो । उहाँले वीपीको प्रजातान्त्रिक समाजवादलाई युग सुहाउँदो बनाएर कार्यान्वयनमा ल्याउन सके मुलुकका समस्या समाधान गर्न सकिने धारणा राख्नुभयो ।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख बाबुकुमार सिग्देल प्राध्यापक सङ्घका सभापति शंकर लामिछाने निवर्तमान क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल लगायत प्राध्यापक तथा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घका विद्यार्थीहरुको उपस्थिति रहेको सभापति सविन रेग्मीले बताउनुभएको छ ।

स्ववियु सभापति रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त विचार गोष्ठिपछि क्याम्पस हाताभित्र विभिन्न जातका बिरुवा रोपिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?