ज्ञानेन्द्रसहितका चार खेलाडी श्रीलंका जाने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले एसिया कपका लागि श्रीलंकामा ब्याटर ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई पठाउने तयारी गरेको छ । उहाँहरूबाहेकको नेपाली टोली हाल श्रीलंकामै अभ्यासरत छ । दुई साताअघि नेपाली क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका गएको थियो । एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’विरुद्ध ९ र पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको नेपाल समूह ‘बी’बाटै बाहिरिएको थियो ।

युएई ‘ए’लाई नेपालले तीन विकेटले हराएको थियो । नेपाली टोली प्रतियोगिताबाट बाहिरिए पनि श्रीलंकामा नै बसेर एसिया कपको तयारी गरेको छ । क्यानले ज्ञानेन्द्र, करण, आरिफ र तीव्रगतिका बलर कमलसिंह ऐरीलाई श्रीलंकामा विशेष प्रशिक्षणका लागि पठाउने तयारी गरेको छ ।

इमर्जिङ कपमा नेपालले तीव्रगतिका बलर करण केसी र ब्याटर ज्ञानेन्द्र मल्ललाई विश्राम दिएको थियो । आरिफ शेखले पारिवारिक कारण नाम फिर्ता लिनुभएको थियो । कमल नेपालको बन्द प्रशिक्षणमा नियमित रहे पनि अन्तिम टोलीमा मौका पाउन सक्नुभएको थिएन ।
श्रीलंकामा नेपालले तयारीका लागि श्रीलंका क्रिकेट बोर्डको समन्वयमा चार अभ्यास खेल खेल्नेछ । नेपालले अभ्यास खेल स्थानीय टोली श्रीलंका डेभलपमेन्टसँग खेल्नेछ ।

एसिया कप पाकिस्तान र श्रीलंकामा हुनेछ । नेपालले पहिलोपटक एसिया कप खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल भदौ १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौ १८ (सेप्टेम्बर ४) मा हुनेछ ।

समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?