जनकपुर र सिमरामा टेलिकमको अन्तरक्रिया

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल टेलिकमले मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । शुक्रबार जनकपुरधाम र शनिबार सिमरामा आयोजित कार्यक्रममा मधेश प्रदेशमा नेपाल टेलिकमको सेवासम्बन्धी संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिसँग विभिन्न विषयमा छलफल भएको थियो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आग्रह गर्नुभयो । उक्त कार्यका लागि आवश्यक योजना बनाउन र डिजिटल डिभाइडलाई न्यूनीकरण गर्न निर्देशनसमेत दिनुभयो । सरकारले प्रत्येक प्रदेशका कम्तीमा दुर्ई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने योजनासाथ कार्य गरिरहेको र क्रमशः सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने उहाँले बताउनुभयो । मधेश प्रदेशका पर्यटनमन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पुर्‍याउनुपर्छ भन्ने मान्यता जनतामा रहेको र यसका लागि छिटो-छरितो रूपमा सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं कम्पनी सञ्चालक समितिका निमित्त अध्यक्ष बाबुराम भण्डारीले नेपाल टेलिकमलाई कस्तो बनाउने र कता लैजाने भन्ने विषयमा महत्वपूर्ण सुझाव प्राप्त गरेको भन्दै सुझाव र निर्देशनका लागि आभार व्यक्त गर्नुभयो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवा उपयोग गर्न पाउनु सबैको अधिकार भएको र त्यसका लागि समन्वयको भूमिकामा प्राधिकरण रहेको भन्दै मधेश प्रदेशका राजमार्गलगायतका स्थानमा टावरलगायतका संरचना निर्माणमा समन्वय गराउन जनप्रतिनिधिको भूमिका हुने बताउनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा मर्मतसम्भार कार्यलाई विशेष सेवाका रूपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रम तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताउनुभयो । मधेश प्रदेशका कुल पाँच सय ५० भन्दा बढी स्थानबाट कम्पनीले जिएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र ३० भन्दा बढी स्थान ओएलटीबाट एफटिटिएच वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमुल प्रधानले कम्पनीले प्रदेशमा उपलब्ध गराइरहेको सेवा र आगामी योजनाबारेमा जानकारी दिनुभयो । आगामी दिनमा ग्राहकको सबै गुनासो प्रदेशस्तरमै समाधान गर्ने लक्ष्यका साथ कार्य भइरहेको भन्दै उहाँले ग्राहक सेवा केन्द्रलाई चुस्त, दुरुस्त बनाई अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले आमउपभोक्ताले प्रयोग गर्ने दूरसञ्चार सेवा गुणस्तरीय बनाउनु कम्पनीको दायित्व भएको भन्दै प्राधिकरणले नियामकका रूपमा सधैँ सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाबारेमा उप-प्रबन्धक नवल चौधरी र व. ई. बन्टी श्रेष्ठ, कम्पनीका सेवाहरू विदेशमा समेत प्रयोग गर्न सकिने रोमिङ सेवाबारेमा उपप्रबन्धक समिरबहादुर श्रेष्ठ र मधेश प्रदेशमा नेपाल टेलिकमको सेवाको अवस्थाबारेमा उप-प्रबन्धक निरञ्जन घिमिरेले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरूले नेपाल टेलिकम सेवा प्रभावकारी बनाउनेबारेमा आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ र ज्वालाकुमारी साह, संघ र प्रदेशका सांसद, स्थानीय तहका प्रमुखलगायतको सहभागिता रहेको कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?