नयाँ पर्यटकीय गन्तव्यको खोजीमा ‘नाट्टा’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । कोरोना महामारीका कारण लामो समयदेखि थलिएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाट्टा) पाल्पा नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं प्रवद्र्धनमा जुटेको छ । जिल्ला भित्रका नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन गर्न नाट्टाले शनिबारीय अभियान थालेको हो ।

जिल्लाका पर्यटन व्यवसायीको छाता संगठन नाट्टाले पहिचान हुन नसकेका पर्यटकीय स्थलहरुको खोजी र पहिचान भएकाहरुको प्रचार–प्रसार गर्ने उद्देश्यले पाल्पामा पदयात्रा अभियान सञ्चालन गरेको छ । उसले तानसेन नगरपालिका, टुरिजम एक्सन कमिटी तानसेन र नाट्टा लुम्बिनी प्रदेशसँगको सहकार्यमा साउनको पहिलो शनिबारदेखि पदयात्रा सुरु गरेको हो । साउन भर हरेक शनिबार पदयात्रा हुनेछ ।

पदयात्रामा जिल्लाका सम्भाविभत नयाँ पर्यटकीय स्थलहरुको खोजी गर्नुको साथै गन्तव्यका रुपमा पहिचान बनाईसकेकाहरुको प्रचार–प्रसार गरिने छ । कोरोना संक्रमणका कारण लामो समयदेखि तहसनहस भएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन पदयात्रा अभियान सुरु गरिएको नाट्टा पाल्पाका अध्ययक्ष राजीव शाहाले बताउनुभयो । उहाँले भन्नुभयो ‘नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी गर्नु हाम्रो मुख्य उद्देश्य हो ।’ पाल्पा पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले यहाँका नयाँ पर्यकीय स्थलहरुको खोजी गर्न लागेको शाहले बताउनुुभयो ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको पर्यटकीय क्षेत्रको विकासमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘यहाँका आकर्षक गन्तव्यहरूको प्रचार हुन सकेको छैन,पोखरा जाने पर्यटकहरू यहाँ रमाउन चाहन्छन्’, नगरप्रमुख श्रेष्ठले भन्नुभयो । पछिल्ला केही वर्ष बाह्यभन्दा आन्तरिक पर्यटककै चाप बढ्दै गएका कारण यहाँको पर्यटकीय क्षेत्रको विकासका निम्ति स्थानीय तहले समेत पर्यटन क्षेत्रमा लगानी गरिने उहाँले बताउनुभयो । पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाको सहकार्यमा तानसेनको पर्यटन विकासका लागि नयाँ आयाम ल्याउने उहाँको भनाइ छ । ‘जिल्लामा पहिचान भएका र पहिचान हुन नसकेर ओझेलमा परेका धेरै नै पर्यटकीय स्थलहरु छन्, तर तिनको खोजी र उचित प्रचार–प्रसार हुन नसक्दा अझेलमा छन्, तिनीहरुको खोजी र प्रचार–प्रसार गर्न अभियान महत्वपूर्ण हुने विश्वास लिएको छु’ नाट्टा पाल्पाका सल्लाहकार तथा तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जनले बताउनुभयो । उहाँले हेर्न लायक र घुम्न लायक थुप्रै पर्यटकीय स्थलहरु भए पनि तिनको खोजी गर्न नसकिएको बताउनुभयो । ‘आन्तरिक पर्यटकलाई देखाउने पर्यटकीय स्थलको सूचीमा नयाँ गन्तव्य हुनुपर्छ, पुरानै गन्तव्यले मात्रै अब पर्यटनको क्षेत्र उकास्न सकिँदैन’ अध्यक्ष महर्जनले भन्नुभयो ।

यहाँ साउनको पहिलो शनिबारदेखि पदयात्राको शुभारम्भ भएको छ । पदयात्रामा निस्किएको टोलीले चण्डीभञ्ज्याङमा सय वर्ष अघि बनेको सुरुङ्गको अवलोकन गरेको थियो । पाल्पाका तत्कालिन तैनाथवाला प्रताप शमसेरले तानसने बजारको खानेपानीको लागि उक्त सुरुङ्ग बनाउन लगाएका थिए । त्यहाँको अवलोकनपछि चण्डीभञ्ज्याङ माथिको चचिकोटको अवलोकन गरियो । जहाँ तत्कालीन राजाका पुजारी रतन पाँडेको गन्तव्य हो । त्यहाँबाट बौघापोखराथोकस्थित थाम्केडाँडामा पुगी मनोरम हिमश्रृंखलाको हेरिएको थियो । पदयात्रामा निस्किएको टोलीलाई बौघापोखराथोकमा भव्य स्वागत समेत गरिएको थियो । टोलीले यो महिनाको प्रत्येक शनिबार तानसेनसहित जिल्लाका सम्भावित पर्यटकीय स्थलहरुको पैदल यात्रा गर्ने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?