गृहयुद्धको संघारमा ‘मणिपुर’

नेपाली भाषी भन्छन्- ‘भाग्नुपर्ने अवस्था छैन तर, सुरक्षित लाग्न छाड्यो’

हिमालय टाइम्स
Read Time = 11 mins

रमेश भारती/हिटा
काठमाडौं । भारतको पूर्वोत्तर राज्य मणिपुरमा जातीय द्वन्द्वले हिंसात्मक रूप लिएको छ । केही महिनादेखि भइरहेको हिंसा नियन्त्रणबाहिर गएपछि असम राइफल्स र सेनालाई परिचालन गरिएको छ । प्रहरी र सेनाको संयुक्त गस्ती चलिरहेको छ भने जातीय द्वन्द्व भुसको आगो जस्तै फैलिरहेको छ । साम्प्रदायिक हिंसाबाट पीडित भएको झण्डै तीन महिनापछि अहिले मणिपुर गृहयुद्धको संघारमा पुग्न लागेको छ । राज्यमा बहुसंख्यक मैतेई समुदाय र कुकी समुदायबीच भएका भिडन्तहरूमा सयौँले ज्यान गुमाइसकेका छन् भने एक हजार बढी घाइते भएका छन् । ६० हजार बढी त विस्थापित नै भइसकेका छन् । मणिपुर हिंसामा विदेशी नागरिकमाथि अहिलेसम्म आक्रमण नभएको मणिपुरको कालापहाडभन्दा २५ किलोमिटर टाढा नालागरी गाउँमा बसोबास गर्दै आउनुभएका नेपाली भाषी रामप्रसाद पौडेल बताउनुहुन्छ । उहाँका अनुसार विदेशी नागरिकमाथि अहिलेसम्म आक्रमण नभए पनि हिंसा भड्किएका कारण असुरक्षित महसुस हुन थालेको छ । मणिपुरको हिंसाले अर्कै रूप र अझ भड्कियो भने यहाँका विदेशी नागरिकमाथि अप्ठ्यारो हुने पौडेल बताउनुहुन्छ । ‘तीन महिनादेखि जारी हिंसाका कारण मणिपुरमा धेरै समस्या सिर्जना भइरहेको छ । कतिपय नेपालीहरू नेपाल फर्किन थाले र केही फर्किने तयारीमा छन् । मणिपुरमा पुस्तौँदेखि बसोबास गर्दै आएका नेपाली भाषी पनि अहिले संकटमा छन् ।’ उहाँले भन्नुभयो, ‘हिंसाका मानवीय जीवन पनि अस्तव्यस्त भइरहेको छ । जसकारण कतिबेला मणिपुर छाड्नुपर्ने हो, थाहा छैन । मणिपुरमा रहेका धेरै नेपाली भाषीहरू अत्तालिएका छन् । अहिलेको अवस्था रहिरहे खोइ के गर्नु हो ।’

मणिपुरका केही ठाउँमा रोजगारी र अन्य कामका लागि आएका विदेशीहरू अहिले धमाधाम स्वदेश फर्किन थालेको उहाँको भनाइ छ । पौडेल मणिपुरको खानेपानी क्षेत्रको रोजगारीमा कार्यरत हुनुहुन्छ । पौडेलजस्तै, मणिपुरको सहर कालापहाडमा होटल व्यवसायी गर्दै आउनुभएका राजेन्द्र खड्कालाई पनि मणिपुरमा भइरहेको हिंसाका कारण असुरक्षित महसुस हुन थालेको छ । खड्का मणिपुरको सहर कालापहाडमा ३० वर्षदेखि होटल व्यवसायी गर्दै आउनुभएको छ । मणिपुरमा हिंसा भड्किएपछि धेरै विदेशी नागरिकले मणिपुरको विभिन्न स्थान छाडेको उहाँले जानकारी दिनुभयो ।

मणिपुरमा हिंसा चलिरहेका कारण के गर्ने भन्ने अवस्था भएको उहाँले बताउनुभयो । ‘हिंसाका कारण मणिपुरकै बासिन्दाले समेत असुरक्षित अनुभूति गरिरहेका छन् । झन् विदेशी नागरिकलाई त कस्तो भएको हो । अहिले त त्यति समस्या छैन, तर भोलि के होला थाहा हुँदैन ।’ उहाँले भन्नुभयो, ‘मणिपुरमा के हुँदै छ भनेर थाहा पाउने अवस्था छैन । जसकारण यहाँ कति बेला के हुन्छ भनेर सबै विदेशी नागरिक चिन्तित छन् । अहिलेको अवस्था चलिरहे मणिपुरमा बस्न समस्या होला जस्तो छ । त्यही भएर मणिपुरमा रहेका सबैले असुरक्षित महसुस गरिरहेका छन् ।’ मणिपुरमा रहेका धेरै नेपालीसहित अन्य देशका नागरिकले हिंसाका कारण आफ्नो देश फर्किन थालेको उहाँले जानकारी दिनुभयो । पौडेल र खड्कासँग भारतको आछाममा रहेका एक नेपालीको सहयोगमा हिमालय टाइम्सले कुराकानी गरेको हो ।

भारतको मणिपुर राज्यमा बसोबास गर्दै आएका ५० हजारभन्दा धेरै नेपालीहरूले अहिले असुरक्षित महसुस गर्न थालेका छन् । जसकारण मणिपुरमा रोजगारी र अन्य पेसा व्यवसायका लागि पुगेका नेपाली फर्किन थालेको कोशी प्रदेशका प्रहरीले जनाएको छ । जातीय हिंसाबाट विस्थापित करिब एक सयजना नेपाली नेपाल फर्किसकेको प्रतिवेदन सुरक्षा निकायले गृह मन्त्रालयमा बुझाएको थियो । नेपालको पूर्वीनाका हुँदै मणिपुरका बासिन्दा नेपाल फर्किन थालेका छन् । गएको दुई सातामा करिब एक सयजना नेपाल भित्रिएको प्रहरीले जनाएको छ । उनीहरू हिंसाकै कारण फर्किएको भन्ने नभएको प्रहरीले जनाएको छ । तर, एक महिनायता मणिपुरबाट रोजगारी, कृषि र अन्य पेसाका लागि गएका नेपाली स्वदेश फर्किन थालेको काँकडभिट्टा नाकाले जनाएको छ ।

हिंसा गृहयुद्धतिर
भारतको मणिपुर राज्यमा तीन महिनायता हिंसा भड्किएको छ । मणिपुरका बहुसंख्यक मैतेई समुदाय र कुकी समुदायबीच भएका भिडन्तहरूमा १४२ जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने एक हजार जनाभन्दा धेरै घाइते भएका छन् । मैतेई समुदायले आफूलाई पनि जनजातिको मान्यता दिनुपर्ने माग राखेपछि कुकी समुदायले विरोध गर्दा तनाव चर्किएको भए पनि अरू धेरै कारणले साम्प्रदायिक हिंसा बढिरहेको हो । गत ३ मेदेखि मैतेई र कुकी समुदायबीच चलेको हिंसाका कारण मणिपुर अशान्त र तनावग्रस्त छ । पछिल्लो तीन महिनायता एक समुदायले अर्काे समुदायमाथि आक्रमणका घटनासमेत बढेका कारण सिंगो राज्यमा सुरक्षा व्यवस्था नै कमजोर भइरहेको छ । पछिल्लो साम्प्रदायिक हिंसाबाट गुज्रिरहेको मणिपुरमा पछिल्ला घटनाक्रमले गृहयुद्धको जोखिम बढाएको सुरक्षा विश्लेषकहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

राज्यमा ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको भए पनि हिंसाका घटनाहरू रोकिएका छैनन् । लडाइँ गरिरहेका दुई समुदायबीच अविश्वासको तह अझै बढेको छ । ३५० वटा आश्रयस्थलमा ६० हजार विस्थापितहरू कष्टकर जीवन बिताइरहेका छन् । भने ६० हजार घर परिवार विस्थापित भएको बिबिसीले जनाएको छ ।

लिबिया, लेबनान, नाइजेरिया, सिरिया लगायतका देशमा जस्तै जुनसुकै बेला नागरिकको जनधनको क्षति पुग्ने जोखिम मणिपुरमा बढेको पनि विश्लेषकहरूलाई उद्धृत गर्दै बिबिसीको रिपोर्टिङमा भनिएको छ । मणिपुरमा ३३ वटा जातीय समुदायको बसोबास छ । झण्डै ३३ लाख जनसंख्या रहेको मणिपुरमा मैतेई, नागा र कुकी विद्रोहीहरूले लामो समयदेखि सशस्त्र अभियान चलाउँदै आएका छन् । म्यानमारको सीमासँग जोडिएको मणिपुरमा साम्प्रदायिक हिंसा नौलो नभए पनि यसपटक गृहयुद्धको खतरा बढेको हो । राज्यमा विद्यालय र इन्टरनेट सेवा बन्द छ । साढे दुई महिनादेखि रात्रिकालीन कर्फ्यु कायमै छ । प्रदर्शनकारीहरूले दुई सय वटाभन्दा धेरै गिर्जाघर र १७ वटा मन्दिरमा आगजनी गरिरहेका छन् । मणिपुर हिंसा भारतीय राजनीतिको केन्द्रमा छ । सरकारले हिंसा दमन गर्न सक्ने अवस्था छैन । जसकारण मणिपुरको हिंसाका बारेमा धेरै अड्कलबाजी भइरहेको छ ।

महिलामाथि दुव्र्यवहारपछि भड्कियो हिंसा
भारतको मणिपुरमा दुईजना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना भएको छ । यो घटनालाई लिएर धेरैले सरकारको चर्को विरोधसमेत गरिरहेका छन् भने महिलामाथि दुव्र्यवहार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । महिलामाथि यौन दुव्र्यवहारको भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले यी महिलाहरू मे ४ तारिखमा मणिपुरको थौबल जिल्लामा यौन दुव्र्यवहारको सिकार भएको बिबिसीले उल्लेख गरेको छ । प्रहरीका अनुसार घटनामा नचिनेका व्यक्तिविरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा दर्ता गरेको थियो । जातीय हिंसा भइरहेको मणिपुरमा दुईजना महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको तथा यौन दुव्र्यवहार गरेको भिडियो तीन साता अगाडि सार्वजनिक भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?