कविता : छोडिनेको बिष्मय

हिमालय टाइम्स
Read Time = 3 mins

✍️ भूपप्रसाद धमला

झोला बोकेर ताँतीमा उभिएका
लाखौं-लाख नेपाली युवाहरू
प्रियजनहरूको बिदाइ बेला
ब्यस्त विमानस्थलभित्रबाट
उत्साही मनले हात हल्लाउँदै भन्छन्
‘छिटै घर फर्की आउँछु ।’

प्रियजनहरू विमानस्थलबाहिर
मृदुल मुटुमा भक्कानो पार्दै
विदीर्ण छातीमा गाँठो पार्दै
थर्थराएका ओठहरूबाट
अबरुद्ध बिदाइ वाणी ओकल्छन्
‘आफ्ना सम्झेर अवश्य आउनु है ।’

लाखौं-लाख ऋणको रकम खर्चेर
उत्ताल तरंगको उत्साह बोकेर
अँजुलीभरिको सपना बुनेर
आसै आशाको त्यान्द्रो उनेर
अज्ञात भविष्यको नाम्लो टाउकोमा भिरेर
उडी जान्छन् लाखौं-लाख युवा वायुयानमा ।

कोही प्यासिफिक पार गर्दै जान्छन्
कोही जान्छन् एटलान्टिक पार गर्दै
प्रियजनको मुहारभरि बिष्मयभाव पोतेर
क्रुर नियति निर्मम भोग्न छोडेर
फर्केर आउनुको अनिश्चितता बोकेर
उडी जान्छन् अनगिन्ति किलोमिटर ।

उडी जानेको लहर देखेर हर पल
विमानस्थलको टावर मुर्छित हुन्छ
बिदाइमनको लामबद्ध लर्को देखेर
प्रियजनको रोदन क्रन्दन सुनेर
मातृभूमिको छाती चरक्क चिरिन्छ
उदास मुहारहरू विस्मित हुन्छन् ।

उता निर्मल नीलगगनमा उडी जानेहरू
दक्षिणी नीलसागर पार गर्दाछन्
ब्रिज्बेन, सिड्नी र मेलबर्न ओर्लेर
निर्मल हरित नगरमा रम्दाछन्
यता मातृगृह नगरीमा प्रियजनहरू
फगत एक्लिएर निरास हुँदाछन् ।

उता स्वच्छ नीलगगनमा उडी जानेहरू
पश्चिमी नीलसागर पार गर्दाछन्
लन्डन, पेरिस र न्यूयोर्क ओर्लेर
स्वच्छ हरित नगरमा रम्दाछन्
यता मातृगृहनगरीमा प्रियजनहरू
निरासाको भुँमरीमा रुमल्लिँदा छन् ।

उता उडी जाने कामैकाममा हराउँछन्
यता मातृभूमि फगत रित्तो हुन्छ
पसिना–सिञ्चित धरती बन्जर बन्छ
प्रियजनको आँखा आँसुले टप्किन्छ
छाती चरक्क चिरिएर विदीर्ण बन्छ
छोडिनेको बिष्मय नियति बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?