अध्ययनका लागि विदेशिने विद्यार्थीसँगै वार्षिक एक खर्ब बाहिरिँदै

हिमालय टाइम्स
Read Time = 7 mins

रमेश भारती/हिटा
काठमाडौं । नेपाली विद्यार्थी अध्ययनका लागि विदेशीने क्रम वार्षिक रुपमा बढ्दै गएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७९/८० मा एक लाख १० हजार २१७ जना विद्यार्थी अध्ययनमा लागि बाहिरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको २०७८/७९ मा एक लाख १७ हजार विद्यार्थी बाहिएका थिए । कोभिडका कारण विदेश अध्ययन गर्न जान नपाएका विद्यार्थी ‘होल्ड’ भएर बसेका कारण अघिल्लो वर्ष विद्यार्थी संख्या उच्च देखिएको छ । अन्य वर्षको तुलना गर्दा गत वर्ष विदेश जान एनओसी लिनेको संख्या बढेको कार्यालयले जनाएको छ ।
यस्तै, कोभिडका कारण ०७७÷७८ मा २७ हजार नौ सय मात्रै विद्यार्थी बाहिरिएका थिए । ०७६÷७७ मा ३४ हजार ९६ विद्यार्थी बाहिरिएका थिए । ०७५÷७६ मा ६३ हजार २९५ जना विद्यार्थीले एनओसी कार्यालयको तथ्यांकमा छ । विदेश जाने धेरै विद्यार्थीको रोजाइमा व्यवस्थापन र सूचना प्रविधि पर्ने गरेको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयका प्रमुख प्रमुख वासुदेव बस्तीले जानकारी दिनुभयो । उहाँका अनुसार विगतको तुलनामा अध्ययनका लागि विदेशिने एनओसी लिने विद्यार्थीको संख्या मासिक रूपमा बढ्दै गएको छ । दैनिक सात सय जनालाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्दै आएको उहाँको भनाइ छ ।

वार्षिक ५० अर्ब विद्यार्थीको पढाइ खर्च मात्र
विद्यार्थी बाहिरिएसँगै वैदेशिक अध्ययनकै लागि नेपालबाट वार्षिक ४५ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । विद्यार्थी अध्ययन गर्न गएसँगै ठूलो रकम पनि बाहिरिने गरेको बैंकको मासिक प्रतिवदेनमा औँल्याइएको छ । वार्षिक ५० अर्बभन्दा बढी रकम अध्ययनका लागि विदेशिने गरेको बैंकले जनाएको छ । यो खर्च बैंकमार्फत कलेजमा लाग्ने शुल्क मात्र भएको बैंकको भनाइ छ । वैदेशिक अध्ययनका लागि वार्षिक एक खर्बभन्दा बढी पैसा बाहिरिने गरेको शिक्षा मन्त्रालयको अध्ययनमै भनिएको छ । यो कलेजका लागि लगाएको शुल्कमा भएको मन्त्रालयको भनाइ छ ।

अध्ययनमा जाने विद्यार्थी बंैकबाट लिएर गएको सटही डलरको हिसाब गर्दा वार्षिक एक खर्बभन्दा बढी शिक्षाका नाममा विदेशिने गरेको शिक्षा मन्त्रालयको अधिकारीहरूले आँैल्याउँदै आएका छन् । अध्ययनका लागि जाने विद्यार्थीसँग शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)ले देशअनुसार प्रतिव्यक्ति ५ देखि ११ लाखसम्म लागत खर्च लिने गरेका पाइन्छ । यो पैसा भने, गणनामा नआउने गरेको विभिन्न अध्ययनमा उल्लेख छ । अध्ययनका लागि विदेशिने विद्यार्थीसँग कन्सल्टेन्सी लिएको पैसा कर छलीसमेत हुने गरेको शिक्षा मन्त्रालयले बताउँदै आएको छ ।

कुन देशका लागि कति एनओसी लिए र गए ?
वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले विदेशी कलेजबाट अध्ययन अनुमति आए पनि नेपाल सरकारबाट पनि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिनुपर्ने व्यवस्था छ । आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन विषय अध्ययनका लागि विदेश गएको कार्यालय जनाएको छ । यो विषयका लागि २९ हजार ७३४ जना छन् । जापानिज भाषाका लागि धेरै विद्यार्थीले एनओसी लिएको कार्यालयको तथ्यांकमा छ । कार्यालयका अनुसार विज्ञान तथा प्रविधि विषय अध्ययनका लागि एनओसी लिनेको संख्या चार हजार २३८ छ ।

यस्तै, जापानिज भाषा अध्ययनका लागि २१ हजार १३१ जना, इञ्जिनियरिङतर्फ चार हजार एक सय, कम्प्युटर साइन्सका लागि दुई हजार ७३४, सामुदायिक सेवाका लागि दुई हजार ३२३, व्यवसाय विषय अध्ययनका लागि १२ हजार ८८३, विज्ञानमा तीन हजार ९२३, मेडिसिनतर्फ ५९८, कानुनतर्फ १५७, वातावरण विज्ञानतर्फ २०३, सामाजिक विज्ञानतर्फ ५२९, सूचना प्रविधि विषय अध्ययनका लागि नौ हजार ४६८, कृषि विज्ञानतर्फ ४८२ र अर्थशास्त्रमा ६४ जनाले उच्च शिक्षा अध्ययनका लागि एनओसी लिएको कार्यालयको तथ्यांकमा छ ।

यसैगरी, गत वर्ष ३३ हजार ९९१ अष्ट्रेलिया, २१ हजार ५७४ क्यानडा, १० हजार ५२७ बेलायत, तीन हजार ९७० अमेरिका, दुई हजार ३८९ युएई, एक हजार ८५ डेनमार्क, ९६६ रसिया, ५३७ बंगलादेश, १४२ बहराइन, जर्मनी ५७४, फ्रान्स एक हजार २८२, फिनल्याण्ड ८३२, १३० साइप्रस, २३१ कतार, रिपब्लिक अफ कोरिया तीन हजार ४६, १६४ स्विडेन र ५४२ थाइल्याण्ड अध्ययनका लागि गएको एनओसी कार्यालयले जनाएको छ ।
विदेश जाने विद्यार्थीबाट २५ करोड १२ लाख १० हजार राजस्व संकलन भएको छ । एनओसी लिन प्रतिव्यक्ति दुई हजार शुल्क तिर्नुपर्छ  । हाल दैनिक ६ सय जनासम्मले वैदेशिक अध्ययन अनुमति शाखामार्फत एनओसी लिने गरेको कार्यालय जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?