नागढुंगा-नौबिसे सुरुङमार्ग : ‘रेस्क्यु’ सुरुङ ‘ब्रेक थ्रुु’, मुख्य टनेलको काम असोजसम्म सकिने

नागढुंगा-नौबिसे सुरुङमार्ग : ‘रेस्क्यु’ सुरुङ ‘ब्रेक थु्र’, मुख्य टनेलको काम असोजसम्म सकिने

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । नागढुंगा-नौबिसे (सिस्नेखोला) सुरुङमार्गको आपत्कालीन उद्धार सुरुङ ‘ब्रेक थ्रुु’ गरिएको छ । सोमबार धादिङ र काठमाडौं दुवैतर्फबाट ‘रेस्क्यु’ सुरुङको ‘ब्रेक थ्रुु’ गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, सचिव केशवकुमार शर्मा, नेपालस्थित जापानी राजदूतसहितको टोलीको उपस्थितिमा सुरुङको ‘ब्रेक थ्रुु’ गरिएको हो । कार्यक्रममा मन्त्री ज्वाला, नेपालस्थित जापानी राजदूत र जाइकाका प्रमुखले नेपाली र जापानी संस्कृतिअनुसार नरिवल फुटाएर चामल, वाइन, नुन र फूलबाट संयुक्त पूजा गरेर मार्ग खोल्नुभएको थियो । सुरुङको ब्रेक थु्र भएसँगै भौतिक मन्त्रीदेखि सचिवहरू र निर्माणमा संलग्न अधिकारी र इञ्जिनियरहरूले खुसी साटासाट गरेका थिए ।

चार वर्षअगाडि ४ कात्तिक २०७६ मा शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम सोमबार पूरा भएको हो । सम्झौतामा उल्लेख भएको समयअनुसार काम नसकिएपछि २०८० साउन ४ सम्म म्याद थपिएको थियो । उक्त समयभित्र पनि काम नसकिने भएपछि दोस्रोपटक फेरि ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ ।

सुरुङको कुल दूरी २ दशमलव ५ किलोमिटर रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार अब आपत्कालीन सुरुङ खन्ने काम सकिएको छ । सुरुङ खन्ने काम सकिएसँगै अब फिनिसिङको काम गरिने विभागले जनाएको छ । मुख्य सुरुङ निर्माणको काम भने जारी छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले दुई हजार ५५७ मिटरमध्ये दुई हजार ५५६ मिटर खन्ने काम पूरा भइसकेको जानकारी दिनुभयो । मुख्य सुरुङमार्ग आगामी असोजमा छिचोलिने जानकारी उहाँले दिनुभयो । मुख्य सुरुङमार्गको दुई हजार ६८८ मिटरमध्ये दुई हजार १८८ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । अहिले धादिङ र काठमाडौं दुवैतिरबाट तीव्र गतिमा सुरुङ खन्ने काम भइरहेको उहाँको भनाइ छ । आयोजनाको सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भइसकेको छ भने आयोजनाको समग्र भौतिक प्रगति ८० प्रतिशत छ । यसैगरी, आर्थिक प्रगति ६३ प्रतिशत पुगेको छ ।

निर्माणमा कुनै समस्या नआए यही वर्षभित्र सुरुङबाट यातायात चल्ने नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाको दाबी छ । अहिले काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा निर्माणको काम भइरहेको छ । काम सम्पन्न भएपछि गाडी गुडाउन मिल्ने यो नेपालको पहिलो ठूलो सुरुङमार्ग हुनेछ ।

सन् २०१६ मा स्रोत सुनिश्चित भएपछि सन् २०२७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर-सूर्यविनायक खण्ड विस्तार तथा बिपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा आयोजनाको ठेक्का लागेको हो । यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्गसमेत बनिरहेको छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुखनजिकै २ वटा फ्लाइओभरसमेत सँगै बनिरहेका छन् । गुर्जुधाराको फ्लाइओभर ६१० मिटर लामो हुँदै छ । सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्बभन्दा माथिको हो । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको हो ।

एक वर्षभित्र टनेलभित्र गाडी नै चल्ने गरी काम भइरहेको छ : मन्त्री ज्वाला
सुरुङको ब्रेक थु्रपछि कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जापान सरकार र राजदूत किकुतालाई विशेष धन्यवाद दिनुभयो । उहाँले ‘रेस्क्यु टनेल ब्रेक थु्र’ हुनु ठूलो प्रगति भएको बताउनुभयो । मुख्य टनेल एक वर्षभित्रै ‘ब्रेक थु्र’ हुने उहाँको भनाइ थियो । एक वर्षभित्र टनेलभित्र गाडी नै चल्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । त्यस्तै, जापानी राजदूत किकुता युतकाले जापानले १९४२ अगष्ट ७ मा हिरोसिमामा बम खसालेको प्रसंग झिक्दै यही मितिको भोलिपल्ट नेपालमा विस्फोटक पदार्थको सहयोगमा सुरुङ मार्गको ‘ब्रेक थु्र’ गरिएको बताउनुभयो । उहाँले नेपालका लागि यो सहयोगले आपसी सम्बन्ध झन् प्रगाढ हुने बताउनुभयो । सुरुङमार्गमार्फत नेपालले सवारी आवागमनमा भोग्दै आएको समस्या केही हदसम्म समाधान हुने उहाँको विश्वास थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?