प्रतिनिधिसभा गतिरोधको गाँठो :

संसद् खुलाउने विषयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन, सहमतिनजिक पुगेको नेताहरूको दाबी

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । संसद्को जारी गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आहृवानमा बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद् सञ्चालन हुन नदिने अडानमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पनि अडान छोडेन । बैठकमा संसद् खुलाउने विषयमा उपस्थित सबै दलका नेताहरू सकारात्मक भए पनि सहमति भने हुन नसकेको नेताहरूले बताएका छन् । बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले एमालेको मागलाई लक्षित गर्दै सिआइबीको अनुसन्धानपछि छानविन समिति बनाउने प्रस्ताव गर्नुभएको छ । तर, एमाले भने प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक देखिएको छैन । बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल अर्को छानविन समिति बनाउँदा हाल भइरहेको अनुसन्धान प्रभावित हुने भन्दै निश्चित समय नेपाल प्रहरीलाई नै अनुसन्धानका लागि दिन सकिने र त्यसपछि आवश्यक परे छानविन समिति बनाउन सकिने बताउनुभएको थियो । बैठकपछि नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बैठकमा छलफल सकारात्मक ढंगले अघि बढे पनि निष्कर्षमा नपुगेको जानकारी दिँदै भन्नुभयो, ‘आजको छलफल सकारात्मक ढंगले अघि बढेको छ,सोमबार वा मंगलबार फेरि अर्को बैठक बस्ने र छलफल गर्ने भन्ने कुरा भयो ।’

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् खुलाउने विषयलाई केन्द्रमा राखेर छलफल भएको जानकारी दिँदै भन्नुभयो, ‘प्रमुख प्रतिपक्षले उच्चस्तरीय छानविन समिति बनाउनैपर्छ भन्ने अडान राखिरहेको छ । फेरि गृहमन्त्रीज्यूले भइरहेको अनुसन्धानलाई निश्चित समयसम्म पर्खिएर हेरौँ भन्नुभएको छ, उहाँले मागेको समय पनि अब धेरै छैन । आजै सहमति भएन । तर, छलफल संसद् खुलाउने विषयमै केन्द्रित छ ।’ रास्वपाले जसरी पनि संसद् सुचारु रूपमा सञ्चालन हुनपर्छ भन्ने अडान राखेको स्पष्ट पार्दै सभापति लामिछानेले भन्नुभयो, ‘जे भए पनि संसद् खुल्नुपर्छ भन्ने हाम्रो कुरा हो । संसद् खुल्यो भने गृहमन्त्रीलाई त्यहीँबाट प्रश्न गर्न मिल्छ । अनुसन्धानका अरू विविध विषयहरूमा छलफल गर्न सकिन्छ । संसद् नै ठप्प भएपछि सबै विषयमाथिको छलफल रोकिएको छ, यो राम्रो भएन ।’

प्रधानमन्त्री प्रचण्डले संसद् अवरोध हटाउने विषयमा आह्वान गर्नुभएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित हुनुभएन । एमाले नेताहरूले ओली अस्वस्थ भएका कारण बैठकमा सहभागी नभएको बताएका छन् । बैठकमा एमालेबाट उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा कुनै निष्कर्ष ननिस्किए पनि सोमबार पुनः बैठक बस्ने जानकारी दिँदै एमाले संसदीय दलका नेता नेम्वाङले भन्नुभयो, ‘सोमबार ४ बजे फेरि बस्ने गरी बैठक सकिएको छ । आज सबै विषयमा बृहत छलफल भयो । तर, कुनै निष्कर्षमा पुगिएन ।’

बैठकमा सहभागी नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जसरी भए पनि संसद् सुचारु हुनुपर्छ भन्ने स्पिरिटका साथ छलफल भएको जानकारी दिनुभयो । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको तस्करीको सुन प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गते यताका संसद् बैठक अवरुद्ध गर्दै आएको छ । उता सरकारले भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेकाले अर्को छानविन समिति आवश्यक नपर्ने बताउँदै आएको छ । प्रमुख प्रतिपक्षी दल र सरकारबीच कुरा नमिल्दा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक प्रभावित हुँदै आएको छ ।

अनुसन्धानलाई प्रभावित नगरी समिति बनाउन एमालेको माग
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सिआइबीको अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ । आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भन्नुभयो,‘सरकारले छानविनमा ल्याउन पनि चाहेको अवस्था छैन । क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिने कुरा धेरै गम्भीर विषय हो । उच्चस्तरीय छानविन समिति अपरिहार्य छ भन्ने कुरा पछिल्ला घटनाले पनि पुष्टि गरेका छन् । हामीले उच्चस्तरीय छानविन समितिको मागलाई यथावत नै राख्यौँ । सिआइबीले छानविन गर्ने सन्दर्भमा हाम्रो अन्यथा भनाइ होइन । सिआइवीले छानविन गरोस् । सुन तस्करी प्रकरणमा राजनीतिक व्यक्तिहरू पनि सहभागी छन् भन्ने कुरा विभिन्न मिडियाबाट सार्वजनिक भइरहेका छन् । ती मान्छेहरूलाई सीआइबीले छानविनको दायरामा पनि ल्याउन सकेन ।’

संसद् अवरोधमा सरकार र प्रतिपक्ष दुवै दोषी : कोइराला
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको टिप्पणी गर्नुभएको छ । तत्काल संसद् सुचारु गराउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह गर्दै कोइरालाले भन्नुभयो, ‘संसद् छिटोभन्दा छिटो चल्नुपर्छ । अब पर्सि बैठक बोलाइएको छ । हेरौँ, के गर्नुहुन्छ ? यो एमाले, माओवादी र कांग्रेसको कुरै होइन । यो नेसनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद् चल्नुपर्छ । म एउटा सांसद हो नेपाली कांग्रेसको ।’

सोमबार संसद् अवरोध अन्त्य गर्ने निष्कर्ष निस्किन्छ : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताउनुभएको छ । सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुनेगरी समाधान खोज्ने सहमति भएको जानकारी दिँदै अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘छलफल सहमतिनजिक पुगेको छ । भोलि फेरि बैठक बस्छ र संसद्को अवरोधको अन्त्य गर्ने निष्कर्ष निस्किन्छ । बीचको बाटो निकाल्ने भन्ने छ । सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ । अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ ।’

दलहरूबीच सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलहरूबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताउनुभएको छ । आइतबार संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलपछि सभामुख घिमिरेले भन्नुभयो, ‘संसद् खुलाउने प्रयास छ र खुल्नुपर्छ भन्ने मान्यता सबैको छ । खुल्ने कि नखुल्ने भन्ने कुरा समिति बनाउने कि नबनाउने भन्नेमा नै गएर अड्किने गरेको छ । समस्याको समाधान गर्न दलहरूले वातावरण बनाउनुपर्छ, निकास दिनुपर्छ, मैले सक्दो सहयोग गरिरहेको छु ।’

प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । आइतबारका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको हो । संसद् खुलाउने विषयमा सभामुख र सरकारले पहल गरे पनि त्यो प्रयास असफल भएपछि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो । संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जनाएको छ । संसद् खुलाउने विषयमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो भने त्यसअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर, दुवै बैठक निष्कर्षविहीन भएका थिए । नेकपा एमालेले आइतबारको बैठकमा पनि अवरोध जारी रहने जानकारी दिएपछि बैठक स्थगित गरिएको हो ।

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आहृवान
संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि (मंगलबार) सर्वदलीय बैठक बोलाउनुभएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शीतलनिवास बोलाइएको हो । सुन प्रकरणलाई लिएर विपक्षी दल नेकपा एमालेले पटक-पटक संसद् अवरुद्ध पार्दै आएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि राष्ट्रपति पौडेललाई भेट्नुभएको थियो । एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानविन आयोग गठनको माग गरिरहेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति पौडेलले परामर्श गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?