राष्ट्रपतिसँग महासंघ प्रतिनिधिमण्डल

निजी क्षेत्र सहकार्यमा राष्ट्रपतिको जोड

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कार्यकारिणी समितिसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । विद्यमान आर्थिक अवस्था सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्यमा जोड दिँदै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।’

‘सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।’

नेपालको अर्थ व्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको उल्लेख गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्याले अहिले आर्थिक गतिविधि सुस्त बनाएको बताउनुभयो । उद्योगी व्यवसायीले अहिले असजिलो परिस्थिति सामना गरिरहेको यथार्थबारे आफू अनभिज्ञ नरहेको उहाँको भनाइ थियो । राष्ट्रपति पौडलले भन्नुभयो, ‘रोजगारी सिर्जना हुन नसक्नु, विपे्रषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामञ्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेला–बेलामा विघ्नबाधा देखापर्ने गरेका छन् । यसैले गर्दा मूल्यवृद्धिलगायत साना र मझौला उद्योग समस्याग्रस्त हुँदै जाने यो अवस्थामा निजी, सार्वजनिक, साझेदारी वाञ्छनीय छ भन्ने मलाई लाग्छ ।’

उहाँले नेपालमा रोजगारी सिर्जना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिनअघि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘धेरै राजनीतिको तानावानामा नअल्झिकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्न सबैको ध्यानाकर्षण गराएको छु ।’ महासंघसँग पहिले नै भेट्न चाहेकोमा हाल स्वास्थ्य सुधार भएकाले भेट केही ढिला सम्भव भएको उहाँको भनाइ थियो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सूचक सकारात्मक रहे पनि आमनागरिक र व्यवसायीको आत्मविश्वास बढाएर अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो । निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेको अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रीय बैंक र निजी क्षेत्रले एकआपसमा सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो ।

सरकारले पुँजीगत खर्च गर्न नसकेको र बैंक वित्तीय संस्थाबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको भन्दै ढकालले पुँजीको लागत कम गरी लगानी बढाउन निजी क्षेत्रलाई हौसला आवश्यक रहेको बताउनुभयो । व्यवसाय शतप्रतिशत चल्न सक्ने आधारमा राजस्वको लक्ष्य राखिने भन्दै उहाँले व्यवसाय दुर्ई तिहाइ खुम्चिँदा करिब पाँच दशकपछि अघिल्लो वर्षभन्दा कम राजस्व संकलन भएको बताउनुभयो । जसका कारण लक्ष्यभन्दा छ प्रतिशत बिन्दुले कम आर्थिक वृद्धि हासिल भएको उहाँको भनाइ थियो । अध्यक्ष ढकालले निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवद्र्धनमा विशेष पहल आवश्यक रहेको पनि बताउनुभयो ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रबाट पहल आवश्यक रहेको बताउनुभयो भने उपाध्यक्ष हेमराज ढकालले यसपटक आर्थिक मन्दीका कारण सबै क्षेत्र प्रभावित रहेकाले तत्काल सुधार आवश्यक रहेको बताउनुभयो । महासंघका पदाधिकारीलगायत कार्यकारिणी समितिले बिहीबार राष्ट्रपतिसँग भेट गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?