हाम्रो नियतिको दारुण चित्र

हिमालय टाइम्स
Read Time = 7 mins

हामी धेरै कारणले पछि परेका छौं, धेरैतिरबाट ठगिएका पनि छौं । अरूको थिचोमिचो र हेपाइ सहनुपरेको छ । देश सुन्दर छ, प्रकृतिको अथाहा भण्डार हामीसँग छन् । यति भएर पनि हामी हाम्रो गरिबीका कारण तिनको समुचित सदुपयोग गर्न सकिरहेका छैनौं । सबल जनशक्ति छ तर सो जनशक्तिले आफ्नो श्रम पोख्ने बजार पाइरहेको छैन । त्यो श्रम बेच्ने बजार खोज्दै विदेशका विभिन्न ठाउँमा नेपाली जनशक्ति पुगिरहेको छ । विभिन्न देशमा गएर त्यहाँ पनि तिनीहरूले शारीरिक श्रम नै गर्नुपर्ने हो । मानसिक श्रम गर्ने र आरामपूर्वक नीतिगत काम गर्ने होइन । कोही-कोही दक्ष श्रमिकमा दर्ज भएकाहरूले अलिक गतिलो काम पाउने हुन् नत्र अरू सबै अर्धदक्ष र अदक्षकै वर्गमा रहेर काम गर्न बाध्य छन् ।

कतार, दुबई, मलेशिया, दक्षिण कोरियालगायत देशमा आफ्नो श्रम र सीप पोखिरहेका छन् । अष्ट्रेलिया, जापान तथा युरोपका विभिन्न देशमा नेपाली छरिएका छन् । त्यसो त नेपालीहरू विश्वका अधिकांश मुलुकमा फैलिएका छन् । अफ्रिकी मुलुकहरूमा समेत पुगेका छन् । सबैले उत्तर अमेरिकालाई आफ्नो सबैभन्दा राम्रो गन्तव्यका रूपमा छान्ने गरेका छन् । त्यसका लागि अनेक प्रयास हुन्छन् । डिभी भर्नेदेखि विद्यार्थी, पर्यटक तथा श्रमिक बनेर जाने गरेका छन् । अमेरिका जान अवैध बाटो र उपायहरूको खोजी गरेर जोखिम मोल्दै मेक्सिकोको घनघोर जंगलको बाटो लुकीछिपी जाने गरेका छन् । जोखिम मोलेर जाने काममा विभिन्न व्यक्तिले ज्यान गुमाउने गरेका छन् र मानव तस्करबाट लाखौं रुपैयाँ ठगीमा परेका छन् ।

सामान्य मानिसहरूको मात्र सपना होइन अमेरिका, उच्च वर्गका मानिसहरूको पनि चाहना हुन्छ । त्यहाँ जानका लागि जे-जस्ता उपाय अपनाउन उनीहरू तयार हुन्छन् । पैसा जति पनि खर्च गर्न तत्पर बन्छन् । वैध/अवैध कार्यका लागि उद्यत् बन्छन् । सबैभन्दा प्रष्ट उदाहरण हो हालैको नक्कली भुटानी शरणार्थी प्रकरण । तर, श्रम बजारका लागि नेपालीहरूले कतार, दुबई, मलेशिया, दक्षिण कोरियाहरूलाई नै छान्ने गरेका छन् । एउटा टड्कारो प्रश्न के हो भने, हाम्रो देशबाट श्रमका लागि जे जति मानिस विदेशिएका छन् ती यहाँ काम नपाएर र पाए पनि त्यहाँको जति कमाइ नहुने भएकाले हो ।

बुढाबुढी र बालबालिका मात्र छाडेर काम गर्नसक्ने युवा पुस्ता जति विदेश जानाले हाम्रो देशको विकास चाहिँ कसरी हुन्छ त ? विदेशिएका पन्ध्र-बीस लाख मानिसले निरन्तर आफ्नै देशमा काम गर्ने हो भने यहाँ विकास निश्चय नहुने थिएन । आफ्ना लालाबाला, बाबुआमा र युवती श्रीमतीलाई छाडेर जानु, जानेको बाध्यता हो । भएर विदेश जानका लागि ठूलो राशिको खर्च गरेर गएका उनीहरूले त्यहाँ गएर राम्रो काम नपाएका उदाहरण धरै छन् । दलाल, बिचौलिया र म्यानपावरका मानिसहरूको बद्नियतबाट उनीहरू ठगिन्छन् । पैसाको खर्च, काम नपाउनु, घरको न्यास्रोपन, दुर्घटना, झैझगडालगायत त्यहाँ ज्यान गुमाउनेको संख्या धेरै ठूलो छ ।

कतिपयले हीनताबोध र निराशाले आत्महत्या पनि गर्छन् । विदेशी भूमिमा आफ्नो देह विसर्जन गर्नेहरूका बाकसबन्द लासहरू वर्षैभरि विमानस्थलको बाटो गरी आइरहन्छन् । काठको बाकसमा बन्द भएर आउने लासहरू वर्षमा बाह्र सयको संख्यामा हुने गरेको तथ्यांकले देखाउने गरेको छ । यो दारुण स्थिति गरिबी र बेरोजगारीका कारणले नै हाम्रीले भोग्नुपरेको हो । सुखको सपना देखेर विदेश जानेहरूले आफ्नोमात्र होइन परिवारलाई समेत सुख दिने सपना देखेका हुन्छन् तर उनीहरूको आफ्नै जीवन उतै समाप्त भएपछि घरपरिवार झनै दारुण स्थितिमा जकडिन पुग्छन् । यस्तो अवस्थाको अन्त्य त तुरुन्तै गर्न नसकिएला तर केही पक्षमा सुधार गर्न सक्ने हो भने त्यसमा कमी हुन चाहिँ सक्छ ।

पहिलो कुरा त सरकारले नै संवेदनशील भएर सोच्नुपर्छ । कानुनहरू पर्याप्त नभए बनाउनुपर्छ, भएका कानुनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ, जसले गर्दा म्यानपावरहरूको चरम ठगीमा कमी आउँछ । विदेश पठाउने कामदारहरूको श्रमको प्रत्याभूति गरिनुपर्छ । प्रतिबद्धता गरिनुसारको काम त्यहाँ नपाए पठाउने निकायलाई कारबाही गर्नुपर्छ र तिनलाई त्यहाँ काम दिलाउने प्रयास गर्नुपर्छ । सरकारले संवेदनशील भएर पहलकदमी लिने हो भने यस अवस्थामा निश्चय सुधार आउन सक्छ । कालगतिले मर्नेबाहेक अन्य कारणले नेपालीहरूले विदेशी भूमिमा अकालमा ज्यान गुमाउनुपर्ने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?