महासेठ मधेश क्रिकेट संघको अध्यक्ष

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सुनिलकुमार महासेठ मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले अध्यक्षका अर्का प्रत्यासी हिरा भगतलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । महासेठले ३२ र हिराले १२ भोट प्राप्त गर्नुभयो । त्यस्तै, पवनकुमार गुप्ता उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गुप्ताले मुर्तुजा हवारीलाई २२ मतले पराजित गर्नुभयो । गुप्ताले ३२ र हवारीले १२ भोट प्राप्त गर्नुभयो ।

आयुष श्रेष्ठ सचिव र सुभाष जयसवाल कोषाध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभयो । सदस्यहरूमा सतिशकुमार सिंह, शत्रुधनप्रसाद साह, प्रमोद साह, राजिवकुमार झा, मुकेशकुमार साह, आकाश पाण्डे, विकलकुमार विष्ट, बाबुजान अन्सारी र अनिलकुमार चौलागाईं सदस्यमा निर्वाचित हुनुभएको छ ।

यसअघि कोशी प्रादेशिक क्रिकेट संघमा सर्वजित पाण्डे, गण्डकी प्रादेशिक क्रिकेट संघमा सञ्जयकान्त सिंग्देल र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा वासुदेव जोशी विजयी भइसक्नुभएको छ । बागमती प्रदेशको चुनाव आगामी भदौ १५ गते हुँदैछ । पूर्वकप्तान पारस खड्काले बागमतीबाट अध्यक्षमा उठ्ने घोषणा गरिसक्नुभएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय चुनाव आगामी असोज पहिलो साता हुँदैछ । ४५ जिल्ला र चार प्रदेशको चुनाव पनि सम्पन्न भएको छ । अब तीन प्रादेशिक क्रिकेट संघको चुनाव हुन बाँकी छ । क्यानको केन्द्रीय चुनावमा कुल ८६ भोट छ । अध्यक्ष जित्न ४४ भोट आवश्यक पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?