काठमाडौं । लेबनान सरकारले नेपाली कामदार लैजान प्रस्ताव गरेको छ । लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजायलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँगको भेटवार्तामा उक्त प्रस्ताव गर्नुभएको हो । भेटका क्रममा गोजायलले लेबनानमा विभिन्न क्षेत्रमा रोजगारीको अवसर रहेको र ती क्षेत्रमा नेपाली कामदार लैजान सकिने बताउनुभएको थियो । महावाणिज्यदूत गोजायलको प्रस्तावमा श्रममन्त्री भण्डारीले श्रम समझदारीका लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने र सोही आधारमा कामदार आपूर्ति गर्न सकिने आश्वासन दिनुभएको छ ।
मन्त्री भण्डारीले भन्नुभयो, ‘लेबनानका थुप्रै क्षेत्रमा रोजगारी अवसर रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव आएको छ ।’ सरकारले यस विषयमा अध्ययन गरेर कामदार पठाउन सक्ने श्रममन्त्री भण्डारीले बताउनुभएको छ । कामदार वैदेशिक रोजगारीमा पठाउने भनेर मात्रै नहुने भन्दै उहाँले आगामी दिनमा तालिम, सेवा–सुविधा र लागत खर्चजस्ता विषयमा सुनिश्चित भएर मात्र कामदार पठाउने पक्षमा सरकार रहेको बताउनुभयो ।
सात हजार कामदार पठाउन सकिने
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा ५४ जना नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर लेबनान गएको देखिन्छ । लेबनानमा व्यक्तिगत भिसामा नेपाली कामदार श्रम स्वीकृति लिएर रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । हाल लेबनानमा पाँच हजार नेपाली रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ । लेबनानमा वार्षिक सात हजार कामदार वैदेशिक रोजगारीमा पठाउन सकिने श्रम मन्त्रालयले जनाएको छ । लेबनानका विभिन्न क्षेत्रमा सात हजार कामदार पठाउन सकिने र ती कामदारको सबै रोजगारी ग्यारेन्टीसमेत हुनुपर्ने श्रम मन्त्रालयको माग छ । लेबनानले विशेषगरी घरेलु कामदार लैजाने प्रस्ताव गरेको श्रम मन्त्रालयका सह-सचिव राजीव पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लेबनानले कामदार लैजाने प्रस्ताव गरेको थियो ।
अवैतनिक महावाणिज्यदूत गोजायलले आफ्नो देशमा रोजगारीका अवसर पनि धेरै छन् भन्नुभएको थियो । हाम्रोमा राम्रो सेवासुविधा छ । श्रम समझदारी गरौँ, श्रमिकहरू पठाऊँ भन्ने थियो । लेबनान पनि रोजगारीको सुरक्षा भएको देश हो । सरकारले श्रम सम्झौता गरी कामदार पठाउने विषयमा छलफल अघि बढाएको छ । नेपालले आफ्ना कामदारको सुरक्षाको ग्यारेन्टी खोज्नुपर्छ । अहिलेको महत्वपूर्ण पक्ष यही हो ।’ लेबनानको निर्माण क्षेत्रमा समेत कामदार लैजान सकिने उहाँको भनाइ छ । लेबनानमा अहिले ठूल्ठूला भवन तथा निर्माण क्षेत्रमा राम्रो अवसर देखिएको छ । त्यस्तै, हस्पिटालिटी क्षेत्रका लागिसमेत नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ ।
सरकारले २०६६ सालमा महिला कामदारका लागि आकर्षक गन्तव्य लेबनानमा कामदार पठाउन पूर्ण रूपमा खुला गरेको थियो तर २०७२ सालपछि नेपाली महिला कामदार घरेलु रोजगारीमा लेबनान जान पाएका छैनन् । २०६६ सालतिर लेबनानमा करिब १२५ वटा म्यानपावर कम्पनीले घरेलु रोजगारी र अन्य काममा कामदार पठाउँदै आएका थिए । त्यतिबेला ती म्यानपावरले वार्षिक १० हजारभन्दा बढी नेपाली कामदार लेबनान पठाएको विभागको तथ्यांकमा छ । अहिले पनि लेबनानको रोजगारीमा वार्षिक १५ हजारसम्म नेपाली कामदार पठाउन सकिने म्यानपावर व्यवसायीहरूले बताएका छन् ।
लेबनान रोजगारीमा जाने नेपाली कामदारले मासिक न्यूनतम ६५ हजार रुपैयाँभन्दा माथि तलब पाउने म्यानपावरको दाबी छ । पछिल्लो समय लेबनानमा श्रमिक अभाव भएका कारण नेपाली श्रमिक लैजान खोजेको व्यवसायीको भनाइ छ । सरकारले २०७२ सालमा ‘घरेलु कामदार विदेश पठाउनेसम्बन्धी निर्देशिका’ मा घरेलु कामदार लैजानेबारे द्विपक्षीय श्रम सम्झौता वा समझदारी (एमओयु) नभएका देशमा नपठाउने निर्णय गरेको थियो तर सरकारले त्यसभन्दा अगाडि कुनै देशसँग त्यस्तो एमओयु नगरे पनि घरेलु कामदार पठाउन अनुमति दिइरहेको थियो । हाल सरकारले खाडी देश, मलेसिया, लेबनान र हङकङमा पनि घरेलु रोजगारीमा नेपाली कामदार पठाउन रोक लगाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच