बेनी-जोमसोम सडकमा दश स्थानमा ठूलो पहिरोकाे जोखिम

फाइल तस्बिर

रासस
Read Time = 4 mins

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूलो पहिरोको जोखिम रहेको अध्ययनबाट पहिचान भएको छ । म्याग्दीको बेनीबाट मुस्ताङको घाँससम्मको ४० किलोमिटर दूरीको सडक पहिरोबाट प्रभावित छ । बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बेनी-घाँसा खण्डका पहिरोको विस्तृत अध्ययन थालिएको जानकारी दिनुभयो ।

“सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यही अनुरुप डिपिआर निर्माण नगरिएकाले अहिले समस्या आएको छ”, उहाँले भन्नुुभयो, “अहिले कम्तीमा १० वटा ठूला पहिरोको पहिचान गरी विस्तृत अध्ययन सुरु गरेका छौँ ।”

उहाँका अनुसार रघुगङ्गा गाउँपालिका-३ गलेश्वर पारिको राहुघाट, अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से, जलथले-खामभित्ता क्षेत्रको पहिरो विस्तृत अध्ययन सम्पन्न गरी रोकथाम तथा संरक्षणको काम थालिएको छ । रघुगङ्गा गाउँपालिका-२ बैंसरी खण्डको पहिरो नयाँ हो । यो पहिरोको विस्तृत अध्ययन गर्ने योजना बनाएको जानकारी उहाँले दिनुभयो ।

बैंसरी खण्डका साथै अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने रुप्से झरनाबाट काभ्रेभिर क्षेत्रमा करिब पाँच सय मिटर क्षेत्रमा माथिबाट पहिरो झर्ने र तलबाट सडक भासिने गर्छ । त्यस्तै सोही वडाको खाम भित्ता, गुइँठेभिर, लाटाखोलामा पनि बर्सेनि निरन्तर माथिबाट पहिरो झर्ने गरेको छ । यस्तै अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने नागढुङ्गा, भुरुङभिर, वडा नं ६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालीगण्डकी नदी र बारम्बार माथिबाट खस्ने पहिरोले सडक जोखिम बनाएको छ ।

रघुगङ्गा गाउँपालिका वडा नं १ बेगखोला, वडा नं २ मासखर्क, कुनौटो, रिठाबोट, वडा नं ३ मा पर्ने चमेरे र गलेश्वर पारि पहिरोको जोखिम छ । भूगर्भविद्हरूले गरेको अध्ययनअनुसार कमजोर भूगोल रहेका गलेश्वर, खामभित्तामा तल निर्मित सडकले बलियो संरक्षणका संरचना नबनाएको र माथिल्लो खण्डमा पनि संरक्षणबिना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ ।

सडक निर्माण सुुरु गर्नुअघि सम्भावित पहिरो जाने स्थानको पहिचान र रोकथामका लागि कुनै अध्ययन गरिएको थिएन । जसका कारण अहिले सडकमा पहिरोले जोखिम निम्त्याएको छ । पहिरोका कारण वर्षात्का समयमा यातायात प्रभावित हुने गरेको छ । यात्रुले सास्ती भोग्दै आएका छन् ।

बेनी-जोमसोम-कोरोला सडकको सर्भे, डिजाइन गर्दादेखि ठेक्का भई सडक निर्माण भइरहँदा कतै पनि पहिरोको अवस्था अध्ययन गरिएको थिएन । करिडोरको म्याग्दी खण्डको सडकको अधिकांश भागमा पहिराको जोखिम छ । बेनीबाट घाँससम्म बर्सेनि पहिराले दुःख दिने गरेको छ भने सवारी दुर्घटना पनि निम्त्याएको छ । पहिराले दुःख दिन थालेपछि एक वर्षयता भूूगर्वविद्को टोलीबाट पहिरोको विस्तृत अध्ययन भइरहेको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?